
१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मुद्दा पुनः व्यूँतिएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनपर्ने गरी विधान संशोधन गर्न खोजिएको थियो । लामो समय विधान संशोधनको लफडा चलेपनि संशोधन हुन सकेको थिएन । यो विवाद अहिले पुनः व्यूँतिने भएको छ ।
विधान संशोधन समितिले बिहीबार महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष विद्यमान विधान संशोधनको मस्यौदा पेश गरेको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी सभापति रहने गरी समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्वअध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन् । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको बताइएको छ ।
विधान संशोधन प्रस्तावको मस्यौदामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्षको निर्वाचन हुने उल्लेख गरिएको छ । महासंघकी पूर्वअध्यक्ष भवानी राणा तथा हालका अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि अब स्वतः अध्यक्ष बन्दैछन् । पुरानो विधान अनुसार निर्वाचित भएकाले ढकाल भने स्वतः अध्यक्ष बन्ने तर त्यसपछि निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष भने स्वतः अध्यक्ष नबन्ने गरी मस्यौदामा प्रस्ताव गरिएको छ ।
उपाध्यक्ष थपिने, कार्य अवधि घटाइने
विधान संशोधन प्रस्तावको मस्यौदामा उपाध्यक्ष थप गर्ने समेत उल्लेख गरिएको छ । हाल वरिष्ठ उपाध्यक्ष पछि जिल्ला–नगर, वस्तुगत र एसोसिएटको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष पद रहेको छ ।
यसमा जिल्ला-नगरबाट एक जना उपाध्यक्ष निर्वाचित हुने विद्यमान व्यवस्थालाई संशोधन गर्दै दुई उपाध्यक्ष बनाउने मस्यौदामा उल्लेख छ । यसबाहेक कार्यसमितिको कार्यअवधि समेत घटाउने गरी विधान संशोधन गर्ने मस्यौदामा उल्लेख गरिएको छ ।
हाल निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । तर अब २ वर्षको मात्रै अवधि बनाउने संशोधन प्रस्तावमा उल्लेख छ ।
विधान संशोधन मस्यौदामा उपाध्यक्षमा उम्मेदवारी दिन कडाइ समेत गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार तीन कार्यकाल केन्द्रीय सदस्य भएको व्यक्ति मात्रै पदाधिकारीमा उम्मेदवार बन्न पाउनेछन् ।
पारित हुन गाह्रो
विधान संशोधनका लागि समितिले मस्यौदा कार्यसमितिलाई बुझाएको छ । तर यो मस्यौदा पारित हुन भने सहज नभएको महासंघका नेताहरु बताउँछन् । विधान संशोधनले गरेका प्रस्तावहरुका विषयमा पदाधिकारीहरु एकमत छैनन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउनुपर्ने उपाध्यक्षहरुको एकमत छ । जिल्लानगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र संघईसमेत विधान संशोधनको प्रस्तावमै संशोधन हुनुपर्ने पक्षमा छन् । बिहीबार भने उनीहरुले यस विषयमा औपचारिक प्रतिक्रिया दिएनन् ।
‘अब यो प्रस्ताव पदाधिकारी बैठकमा आउँछ, हामी पदाधिकारी बैठकबाटै हटाउनु पर्ने बुँदाहरुका विषयमा बोल्छौं’ एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘अहिले नै बोल्दा कर्यासमितिमा बिवाद देखिएको जस्तो हुन्छ भनेर नबोलिएको हो, बैठकमा भने हामी खुलेर कुरा राख्छौं ।’
अब यो प्रस्तावलाई पदाधिकारी बैठकमा अध्यक्ष गोल्छाले प्रस्तुत गर्नेछन् । पदाधिकारी बैठकबाट पारित भएको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । केन्द्रीय कमिटि बैठकले पारित गरेपछि मात्रै साधारण सभामा लैजाने चलन छ । महासंघको केन्द्रीय समिति बैठक आगामी १५ दिन पछिका लागि बोलाइएको छ । तर त्यो बैठकको एजेण्डा तय भइसकेकाले विधान संशोधनका विषयमा अनौपचारिक छलफल भए पनि निर्णय भने नहुने महासंघका ती अधिकारी बताउँछन् ।
प्रतिक्रिया 4