+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जीएमओ : कलियुगको खाना

केही दशक अघिसम्म बारीमा फलाएको भान्टा टिपेर माछाको स्वाद भएको परिकार बनाउने कुरा उडन्ते गफ हुन्थ्यो । तर माछाको स्वादको भान्टा खान पाउने कुरा अब नयाँ रहेन ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७८ चैत २१ गते १५:०२

प्रकृतिको प्रतिस्पर्धी छनोट पद्धतिबाट सिकेर मानिस जातिले आफ्ना सन्तान जन्माउने र हुर्काउने मात्र गरेनन्, उनीहरूले आफ्ना सन्ततिको खानाको जोहो र जीवनका अन्य बन्दोबस्त सहज बनाउन उपयोगी धेरै बोटबिरुवा र पशुपन्छीलाई उपयुक्तताको आधारमा घरपालुवा बनाए ।

यससँगै; कलमी, परागसेचन र फरक जातका पशुपन्छी बीचमा प्रजनन गराएर वर्णसंकर बोट, बीउ र ब्याडको बन्दोबस्त मिलाए । खानेकुरा, यिनका परिकार वा अन्य जीवनोपयोगी प्रयोजनका आधारमा बाली र वस्तुभाउको व्यवस्थापनको प्रणाली र प्रविधि विकास गरे ।

पुर्खाले ऊन, दूध र मासुका लागि पालिने गाई, बाख्रा, भेडा हुन् या रङ्गीचङ्गी फूलहरू र लटरम्म फल्ने स्वादिला फलफूलको मात्र बन्दोबस्त गरेनन्, श्रम घटाउन घोडा र गधाको वर्णसंकर सन्तान खच्चर बनाउनेदेखि धेरै उत्पादन दिने वर्णसंकर बोटबिरुवा र पशुपन्छी उन्नत बनाउने असाधारण काम गरे ।

यो सबै गर्नाले कालान्तरमा कतिपय प्रजातिकोे आफ्नै गुणमा प्राकृतिक रूपमै रहेका प्रजातिको तुलनामा धेरै फेरबदल समेत आएको छ । यसरी प्राकृतिक छनोट विधि वा वर्णसंकर प्रविधि अपनाएर उन्नत बनाइएका वनस्पति र पशुपन्छीका प्रजातिले हाम्रो खानाको जोहो र जीविकाका आयाममा युगान्तकारी परिवर्तन आएको छ ।

विगत केही दशकदेखि नाफाका लागि मात्र गरिने खानेकुरा र खेतीपातीको व्यापार मौलाएसँगै यिनमा मिसाइएका कृत्रिम रसायन र विषादीले सिंगो प्रकृति, खासगरी; पर्यावरण, खेतीयोग्य जमिन र मानव स्वास्थ्य तहसनहस हुने क्रम जारी जारी नै छ ।

यसले निम्त्याएको वातावरणीय ह्रास र जलवायु परिवर्तनले ल्याएको संकटलाई सच्याउने विश्वव्यापी बहस समेत चलिरहेको छ । यसैबीच अहिले रसायनिक र जैविक प्रक्रियाबाट खानेकुरा र खेतीपातीको प्राकृतिक गुण फेर्ने र अनुवंश परिवर्तित जीव अर्थात् जीएमओ बनाउने प्रविधिले खेतीपाती र खानेकुराको नयाँ बहस सतहमा आएको छ ।

यो फेरबदल गर्न सम्भव बनाउने प्रविधिलाई क्रमशः बायो (जैविक) इन्जिनियरिङ र जीएमओ अर्थात् आनुवंश परिवर्तित जीव बनाउने भनेर बुझ्न सकिन्छ । यी प्रविधिमा रसायनिक र जैविक प्रक्रियाबाट कुनै पनि जीवको गुणमा फेरबदल गर्ने, एउटा जीवको गुणलाई अर्को जीवमा सार्ने र प्रकृतिमा नभएको नयाँ तर नपुंसक बीउ र व्याड प्रयोगशालामा बनाएर यसको पुनरुत्पादन गर्न सकिने भएको छ ।

यस्तो प्रविधि विकासको आफ्नै इतिहास छ । २०० वर्षअघि मानिसको पिसाबबारे सुरु भएको अध्ययनसँगै प्रयोगशालामा कृत्रिम जैविक रसायनको यौगिक युरिया बनाउने प्रविधि सफल भयो । युरियाको आविष्कार नै जैविक जगतमा मानिसको पहिलो हस्तक्षेप थियो । त्यसयता जैविक विज्ञानले चामत्कारिक फड्को मारेको छ ।

यसै क्रममा सन् १९४६ मा आनुवंशिक गुण बोक्ने क्रोमोजोमलाई काटेर अर्कोमा टाँस्ने प्रविधि विकास भयो । सन् १९७२ मा कोहेन र बोयरले यही प्रविधिको प्रयोग गरेर जीवका विभिन्न अंग प्रत्यारोपण गर्न सफल भए । यो आनुवंशिक इन्जिनियरिङ्गको कोसेढुंगा थियो । यो नै अहिले जीएमओ भनिने कृत्रिम तरिकाले नयाँ गुण थपिएका खाना र प्राकृतिक गुणमा फेरबदल गरिएको नपुंसक बीउ विकास गर्ने जैविक प्रविधिको जग बन्यो ।

यस्तो जीएमओ प्रविधि सन् ९० को दशकदेखि खाना र खेतीपातीमा प्रयोगमा छ । सबैभन्दा पहिलो पटक अमेरिकामा सन् १९९२ मा क्यालिफोर्नियाको काल्जेन कम्पनीले यही प्रविधिको प्रयोगबाट गोलभेंडालाई ढिलो पाक्ने र धेरै टिक्ने बनाउन सफल भयो । फ्लेभर सर्भ नाम दिइएको यो गोलभेंडा दुई वर्षपछि अमेरिकाको कृषि विभागले परम्परागत गोलभेंडा जस्तै खानयोग्य भएको बताउँदै यो बनाउन प्रयोग गरिएको विधि, प्रविधि र रसायन समेत खानका लागि सुरक्षित हुने बताउँदै उपभोग गर्न अनुमति दियो । तर त्यसको तीन वर्षपछि यो गोलभेंडा फलाउने उद्योग बन्द भयो । यसका कारण ठूलो क्षति बेहोरेको कम्पनी पछि मनसान्टोले लियो ।

अहिले मकै, भटमास, कपास, चुकन्दर जस्ता दर्जन भन्दा बढी नियमित उपभोग हुने खानेकुरा उत्पादन गर्न जीएमओ प्रविधिको प्रयोग व्यापक गरिएको छ । अमेरिकामा अहिले ९० प्रतिशत प्रशोधित खानाको बजार यसैको कब्जामा छ । त्यसैगरी, अहिले ९२ प्रतिशत बजारमा आउने मकै जीएमओ बीउबाट उत्पादन हुन्छ । मकैमा यो प्रविधि, खासगरी; यसकोे एकल उत्पादनलाई बढाउन गरिएको थियो ।

झारनाशक विषादी राउण्ड हप र ग्लाइकोफस्फेट जस्ता घातक विष प्रतिरोध क्षमता भएको मकै बनाउनु यसको एउटा मुख्य उद्देश्य थियो । सँगै, प्राकृतिक रूपमा बोरर कीरा मार्ने बिटी नामक ब्याटेरियाको वंशाणु गुण मिसाएको यो मकैले प्राकृतिक रूपमा ब्याक्टेरियाले बनाउने प्रोटिन आफैंले उत्पादन गर्छ जसले गर्दा मकैमा यो बोरर कीरा लाग्दैन भन्ने दाबी छ । तर यथार्थ भने फरक छ । यही जातको ब्याक्टेरियाको गुण मिसाएको जीएमओ कपासलाई भारतमा बिटी कटन भनिन्छ । यसको प्रयोगसँगै बोररको प्रतिरोध क्षमता झन् बढेर विषादीको अत्यधिक प्रयोगसँगै लाखौं भारतीय किसान ऋणमा डुबेका छन् ।

रोग–कीरा नियन्त्रण गर्न पहिला विषादी प्रयोग हुन्थ्यो । यस्तो विषादीको धेरै मात्रा खानेबस्तु भन्दा बाहिर नै हुन्थ्यो तर अहिले बालीको वंशाणु गुणमा नै यस्तो विष हुने भएकाले यो हरेक कोषमा पुगेको हुन्छ ।

यो प्रविधि उन्नत भएसँगै हाम्रा आफ्नै कारणले उत्पन्न प्राकृतिक प्रकोपको सामना गर्न जस्तै रोगकीरा नियन्त्रण गर्न र अन्य महामारीबाट जोगिन केही हदसम्म योगदान पुगेको कुरा नकार्नुपर्दैन । उदाहरणका लागि तत्कालका लागि, खतरनाक विष समेत पचाउन सक्ने प्रतिरोध क्षमता विकास गरेका केही प्राकृतिक विषबाट हाम्रो खाना र खेतीपाती जोगाउन सम्भव भएको छ । त्यसो त जीएमओका अन्य फाइदाको बखान गर्नेको कुनै कमी छैन ।

यसले हरित ग्याँस र विषादीको प्रयोग घटाएर, माटो, पानी र वातावरण स्वच्छ राख्न सघाउँछ भन्दै उत्पादन सस्तो हुने र सबैले खान पाउने कुरा यसको व्यापार गरेर अकुत नाफा कमाउने कम्पनी र तिनैलाई सघाएर भाडा खान पल्केका बिचौलिया दलालले सबैभन्दा चर्को स्वरमा उठाउने गर्छन् । तर यो प्रविधिका यस्ता केही तत्कालीन सकारात्मक लाभ देखिए पनि धेरै मानिसले यसलाई शंकाको दृष्टिले हेरिरहेका छन् ।

यस अर्थमा, यो प्रविधि सुरुदेखि नै विवादित छ । धेरैले यसले भविष्यमा हाम्रो जैविक पद्धतिमा ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै शंका व्यक्त गरिरहेका छन् । यो प्रविधिले एक जीवको गुण अर्कोमा सार्ने प्रकृतिको व्यवस्थालाई समेत चुनौती दिएको छ ।

यस अर्थमा यो एक हदमा मानिसले हासिल गरेको जैविक विज्ञानको आजसम्मकै चामत्कारिक चातुर्यको रूपमा लिन सकिन्छ । यसले गर्दा केही दशक अघिसम्म बारीमा फलाएको भान्टा टिपेर माछाको स्वाद भएको परिकार बनाउने कुरा उडन्ते गफ हुन्थ्यो । तर माछाको स्वादको भान्टा खान पाउने कुरा अब नयाँ रहेन ।

यस्तो कलियुगको खाना खान पाइने कुरा अहिले सबैलाई रोमाञ्चक नै लाग्दैछ तर यसले निम्त्याउँदै गरेका अनिष्टका बाछिटा भने देखिन थालेका छन् । यसमा केही तत्कालै देखिएका नकारात्मक प्रभाव छन् भने केही भविष्यमा निम्तिन सक्ने दुर्घटनाको आशंकाहरू रहेका छन् । रोग कीराको प्रतिरोध क्षमता बढेर झन् कडा विषको प्रयोग गर्ने अवस्था तत्कालै देखिएको एउटा जटिल समस्या हो ।

यसका दीर्घकालीन प्रभाव त देखिन नै बाँकी छ । मानौं, यदि कुनै कारणले यस्ता वंशाणुगत गुण फेरेका बालीनाली र वस्तुभाउमा कुनै ठूलो प्रकोप भयो भने हाम्रो समग्र खाद्य प्रणालीमा कस्तो प्रभाव पर्ला ? यस्तो कृषि उपज वा प्रशोधित खानाले भविष्यमा हाम्रो स्वास्थ्य प्रतिरोध क्षमता र समग्र जैविक प्रक्रियामा नकारात्मक असर प¥यो भने के हुन्छ ?

सँगै, यसरी उत्प्रेरित वंशाणु गुण भएको जीवलाई पुरानै अवस्थामा फर्काउन सकिने कुनै आधार छैन । सँगै, यो प्रविधिको विगतमा आविष्कार गरिएका एटम बम जस्तै यस्तोे दुरुपयोग हुँदैन भन्ने आधार के छ ? यो कृत्रिम रूपमा उत्पादन हुने खाना नै हाम्रो सभ्यताको संकट हुँदैन भन्ने आधार के छ ? किनकि पहिलो र दोस्रो विश्वयुद्धमा कृत्रिम रसायन र विषादीको ताण्डव देखेर यस्तो प्रश्न उठ्नु स्वाभाविक छ ।

अर्को कुरा यस्तो प्रविधिको सर्वाधिकार केही नाफाका लागि मात्र काम गर्ने मनसान्टो जस्तो विवादित कम्पनीको हातमा थमाइएको छ । यो एक हिसाबले बाँदरका हातमा माछा खेलाउन दिने दुुस्साहस जस्तै कुरा हो । यी प्रविधिमा आधारित कृत्रिम खाना उत्पादन गर्ने कारखाना र बीउमा यस्ता कम्पनीको नियन्त्रणले किसानको भविष्य जोखिममा परेको छ ।

त्यति हुँदाहुँदै पनि जीएमओ बीउ उत्पादन र कारोबारको सञ्जाल ७० भन्दा बढी देशमा फैलिएको छ भने १ करोड ७० लाख किसानले यसको खेती गरिरहेको बताइन्छ । तर यस्तो खेती गर्ने अधिकांश किसान भने गरिब मुलुकका सीमान्तकृत किसान रहेका छन् ।

नेपालमा समेत विगत एक दशक अघिदेखि जीएमओ बीउबाट उत्पादित मकै, भटमास र बीउ समेत भित्र्याउन प्रयास भैरहेको छ । सन् २०११ देखि नेपालमा मनसान्टोको जीएमओ बीउबाट नेपालको चितवन, काभ्रे र नवलपरासीमा मकै खेती गर्ने प्रयास गरिएको थियो । यस कार्यमा अमेरिकी विदेश सहायता नियोग समेत संलग्न भएको थियो ।

यसको व्यापक विरोध भएपछि यसबाट पछि हटेको थियो । सँगै, जीएमओ प्रविधिको बीउ र खानेकुरा रोक्न माग गर्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले यो प्रविधि नयाँ र यसको नकारात्मक असर के हुन्छ भन्ने समेत स्पष्ट भइनसकेको अवस्थामा यसलाई खुला गर्न नसकिने भन्दै यसलाई प्रतिबन्धित गर्न सरकारलाई आदेश दिएको थियो ।

त्यसयता बेला–बेलामा यो भित्र्याउने प्रयास भैरहेको छ । हालै मात्र अमेरिकी कम्पनीले जीएमओ भटमासको पिना र तेल ल्याउन चलखेल गरेको थियो । यही अगस्टमा भारत सरकारले यस्तो उपज पशुपन्छीको दानाका लागि आयात गर्न छुट दिएसँगै नेपालमा यो सजिलै भित्रिने कुरामा धेरै द्विविधा छैन किनकि भारतीय व्यापारिक कम्पनीले विभिन्न ब्राण्डमा यस्ता उपज नेपालमा सजिल्यै भित्र्याउने गरेका छन् ।

अन्त्यमा, यस्तो प्रविधिबाट उत्पादित खानेकुराले भविष्यमा पर्ने प्रभावको आकलन समेत नभएको अवस्थामा यसको उपभोगलाई निरुत्साहित गर्नु नै बुद्धिमानी ठहर्छ । यो खानेकुराले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई मात्र प्रभाव पार्दैन । यसले हाम्रो जस्तो मुलुकको किसानमा आधारित खेतीपाती र खाद्य प्रणालीलाई तहसनहस बनाउँछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ सबैले यसको हेक्का राखौं ।

लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?