
काठमाडौं । एक यस्तो कलाकार जसलाई दुनियाँले विभिन्न रुपमा चिन्यो । अभिनेता, फिल्म निर्माता, व्यवसायी, लेखक र राजनीतिज्ञ ।
आज हामीले संसारमा बडिबिल्डिङको जुन क्रेज देख्छौं, त्यसमा यी महान् हस्तीको ठूलो योगदान छ । ती अग्ला मान्छे हुन् आर्नोल्ड स्वार्जनेगर । जसको आज ७५ औं जन्मदिन हो ।
उनको जन्म सन् १९४७ मा अष्ट्रियाको एक मध्यमवर्गीय परिवारमा भएको थियो । गुस्ताव र आरेलियाका उनी दोस्रो सन्तान थिए । एकपटक अन्तर्वार्ताको क्रममा आर्नोल्डले घरमा रेफ्रिजेरेटर खरिदको क्षणलाई जिन्दगीको महत्वपूर्ण क्षण भएको बताएका थिए ।
आर्नोल्डका पिता आफ्नो सहरका प्रहरी प्रमुख थिए र दोस्रो विश्वयुद्धमा उनले भाग लिएका थिए । आर्नोल्डका पिता उनलाई गे मान्थे, जसकारण उनी पटक–पटक उनीमाथि कुटपिट पनि गर्थे ।
यही कारण उनी आफ्ना बुवा र भाइको अन्तिम संस्कारमा समेत सहभागी हुन सकेनन् । नशालु पदार्थ सेवन गरी कार हाँक्दा दुर्घटनामा परेर उनका भाइको मृत्यु भएको थियो ।
१३ वर्षको उमेरदेखि नै आर्नोल्डमा बडी बिल्डिङको सौख चढेको थियो र उनले पहिलोपटक डम्बल्स उठाएका थिए । यसपछि आर्नोल्डलाई यसलाई आफ्नो करिअरको रुपमा अघि बढाए । उनी बडी बिल्डिङलाई लिएर यति क्रेजी थिए कि जिमखाना बन्द भएपछि पनि उनी खुला ठाउँमा कसरत गर्थे ।
२० वर्षको उमेरमा उनले मिस्टर युनिभर्सको उपाधि जितेका थिए । उनले मिस्टर युनिभर्सका थप पाँच उपाधि पनि जिते । सन् १९७० मा २३ वर्षको उमेरमा उनले मिस्टर ओलम्पियाको उपाधि पनि जिते । कम उमेरमै ओलम्पियन बन्ने रेकर्ड पनि राखे ।
सन् १९७० मा रिलिज भएको फिल्म ‘हर्कुलस’बाट उनले अभिनय करिअर थाले । तर ‘कनन द बार्बरियन’ र ‘द टर्मिनेटर’जस्ता फिल्मबाट उनले हलिउडमा एक्सन अभिनेताको पहिचान बनाए ।
सन् १९७५ मा रिलिज भएको डकुमेन्ट्री ‘पपिङ आइरन’मा आर्नोल्ड र मिस्टर ओलम्पिया प्रतिस्पर्धाका अन्य सहभागीलाई पनि फिचर्ड गरिएको थियो । यो डकुमेन्ट्रीबाट आर्नोल्ड निकै चर्चा कमाए । यसलाई उनको लाइफ हिट डकुमेन्ट्री मानिन्छ ।
फिल्म अभिनेताबाहेक आर्नोल्ड निर्देशक समेत थिए, तर यो करिअर छोटो रह्यो । उनी एक सफल व्यवसायी पनि थिए, जसले बडी बिल्डर फ्रेंको कोलम्बूसँग मिलेर इँट्टा बनाउने कारोबार पनि थाले । जसबाट उनलाई निकै लाभ मिल्यो । बडी बिल्डिङको कमाइलाई उनले क्यालिफोर्नियाको रियल स्टेट बजारमा लगानी गरेका थिए ।
सन् १९८६ मा आर्नोल्डले पीबीडी पुरस्कार विजेता पत्रकार मारिया श्राइबरसँग विवाह गरे । जसबाट उनका चार जना सन्तान छन् । बिहेको २५ वर्षपछि सन् २०११ मा उनले सम्बन्ध विच्छेद गरे । एक विवरणका अनुसार आर्नोल्डको अफेयर घरकी हाउस किपर मिल्ड्रेड बुएनासँग थियो र मिल्ड्रेड उसै समय गर्भवती थिइन्, जुन समय आर्नोल्ड पत्नी मारिया श्राइवर चौथो बच्चासँग गर्भवती थिइन् । मिल्ड्रेडको बच्चाको उमेर आठ वर्ष हुँदासम्म यसलाई गोप्य राखिएको जनाइएको छ ।
रिपब्लिकन पार्टीको तर्फबाट आर्नोल्डले ७ अक्टोबर २००३ मा क्यालिफोर्नियाको ३८ औं गभर्नरको रुपमा सपथ लिए । ७ नोभेम्बर २००६ मा उनी दोस्रोपटक गभर्नर चुनिए ।
टाइम म्यागजिनले सन् २००४ र सन् २००७ मा आर्नोल्डलाई संसारका एक सय सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीमा सामेल गरेको थियो । उनको कुल सम्पत्ति ४५० मिलियन डलर रहेको जनाइएको छ । उनी आफ्नो जमानाका धेरै पारिश्रमिक लिने अभिनेता हुन् ।
प्रतिक्रिया 4