+
+

नयाँ गन्तव्यमा नेपाली श्रमिकको चासो, ठगिने जोखिम पनि बढ्दै

विदेशिनेमध्ये ९०.१ प्रतिशत नेपाली मलेसियासहित खाडी देश पुगिरहेका छन्, अहिले पनि । त्यसबाहेकका देशमा जाने नेपाली पनि बढ्न थालेका छन् । नयाँ गन्तव्यमा जाने क्रम बढेपछि श्रमिकलाई पठाउने नाममा ठग्नेदेखि पुर्याएर अलपत्र पार्नेसम्मका घटना पनि बढेका छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ ८ गते २०:१०

८ भदौ, काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गत बुधबार काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका सञ्चालक छविलाल भट्टराई पक्राउ परे ।

रोमानियाको कुनै कम्पनीमा आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाएर रकम कुम्ल्याएपछि फरार भएका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

रोमानियामा आकर्षक रोजगारी दिलाउने लोभ देखाएर ठगेको आरोपमा भूमिराज पराजुलीलाई पक्राउ गर्न गत साउनमा वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो । पराजुलीले जनही २ लाख ९० हजार रुपैयाँ ठगेको भन्दै गत २० असारमा १४ जनाले विभागमा उजुरी दिएका थिए ।

विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ गरि मेडिकल जाँच गराई विभागमा उपस्थित गराइदिन भनिएको छ ।

पछिल्ला दिनमा रोमानिया पठाइदिने नाममा ठगी बढ्दो छ । यसको मुख्य कारण हो, रोमानिया जाने नेपालीको बढ्दो संख्या र त्यसैलाई देखाएर सल्बलाएका मानवतस्कर समूह ।

पछिल्लो वर्ष मलेसिया, कोरिया र खाडी बाहेकका देशमा पनि धेरै नेपाली रोजगारीका लागि पुगेका छन् । रोमानिया, साइप्रस, माल्दिभ्स, पोल्यान्डजस्ता देशमा धेरै नेपाली श्रमिक पुग्दै छन् । ती देशमा श्रमिक जाने क्रम बढेपछि श्रमिकलाई पठाउने नाममा ठग्नेदेखि पुर्याएर अलपत्र पार्नेसम्मका घटना पनि बढेका छन् ।

नयाँ गन्तव्यमा नेपालीको ध्यान

गत आर्थिक वर्ष ०७८/७९ मा नेपालबाट ६ हजार ४२३ नेपाली नयाँ श्रम भिसामा रोजगारीका लागि रोमानिया पुगे । आव ०७७/७८मा यो संख्या १ हजार ९५४ मात्रै थियो ।

३ लाख ५४ हजार ६६० जना श्रमिक नयाँ भिसा लगाएर विदेशिएको बितेको वर्षमा रोमानिया जाने नेपालीको संख्या २२८ प्रतिशतले बढ्यो । गत वर्ष रोमानिया फर्किन श्रम स्वीकृति नवीकरण गर्नेको संख्या १ हजार ५७ रह्यो । यसरी नेपालीको प्रमुख श्रम गन्तव्यमा दक्षिण कोरिया र ओमानलाई उछिनेर सातौं स्थानमा आइपुग्यो, रोमानिया ।

एक म्यानपावर व्यवसायीका अनुसार रोमानिया र पोल्याण्ड जस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।

विदेशिनेमध्ये ९०.१ प्रतिशत नेपाली मलेसियासहित खाडी देश पुगिरहेका छन्, अहिले पनि । त्यसबाहेकका देशमा जाने नेपाली पनि बढ्न थालेका छन् ।

साइप्रस जान पनि नेपालीहरुको तछाडमछाड छ । एक वर्षमा ३ हजार २२२ जना नेपाली साइप्रसमा रोजगारीका लागि पुगेका छन् । अघिल्लो वर्ष यस्तो १ हजार ३ थियो । गत वर्ष साइप्रस फर्किन ९५९ जनाले पुनः श्रम स्वीकृति लिए ।

साइप्रस अहिले नेपालीको प्रमुख गन्तव्यको सूचीको १०औं स्थानमा छ ।  साइप्रस घरेलु महिला कामदारको आकर्षणमा छ ।

दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि रोजगारीका लागि जाने नेपालीको संख्या बढेको छ । एक वर्षका बीचमा २ हजार ७३५ जना नेपालीले माल्दिभ्समा जागीर पाएका छन् । योसँगै माल्दिभ्स नेपालीको प्रमुख श्रम गन्तव्यको सूचीमा ११औं स्थानमा उक्लिएको छ ।

आव ०७७/७८मा माल्दिभ्स जाने नेपाली श्रमिकको संख्या १ हजार ९ थियो । माल्दिभ्स फर्किन १ हजार १२१ जनाले श्रम स्वीकृति नवीकरण गरेका थिए । माल्दिभ्समा मुख्यतः होटल क्षेत्रमा काम गर्न जाने नेपालीको संख्या बढेको छ ।

पोल्यान्ड पनि नेपाली श्रमिकको नयाँ श्रम गन्तव्य बन्ने क्रममा देखिन्छ । गत वर्ष १ हजार ५१२ जना नेपाली नयाँ श्रम भिसामा पोल्याण्ड पुगे । सोभन्दा अघिल्लो वर्ष यो संख्या ४५३ थियो ।

पोल्यान्ड गत वर्ष प्र्रमुख श्रम गन्तव्यको सूचीमा १३औं स्थानमा रह्यो । पोल्यान्डमा फर्किन ३५३ जनाले श्रम स्वीकृति नवीकरण गरेको तथ्यांक छ ।

त्यस्तै, नेपालीहरु जाने श्रम गन्तव्यको सूचीमा टर्की १६औं स्थानमा छ । एक वर्षका बीचमा ८५६ नेपाली श्रम स्वीकृति लिएर टर्की पुगेका छन् । टर्कीका लागि १५३ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय मलेसिया र खाडीबाहेकका देशमा वैदेशिक रोजगारीमा जानेहरू बढ्दै गएका छन् । कोरोना महामारीपछि म्यानपावर कम्पनीहरुले अन्य गन्तव्यबाट डिमान्ड ल्याउन थालेका थिए ।

वर्षमा एक सय जना श्रमिक नपठाए अनुमतिपत्र खारेज हुने व्यवस्थाका कारण म्यानपावर कम्पनीहरुले नयाँ गन्तव्य खोज्ने कसरत बढाएका छन् । महामारीकै वर्ष पनि रोमानिया र साइप्रस जाने श्रमिकको संख्या बढेको थियो ।

अझ यस्ता देशमा जाने श्रमिकबाट धेरै रकम असुल्न पाइने भएपछि केही म्यानपावरले त्यताबाट माग ल्याउन जोडबल लगाएका छन् ।

एक म्यानपावर व्यवसायीका अनुसार रोमानिया र पोल्याण्ड जस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।

रोमानिया, पोल्यान्ड, साइप्रस जस्ता देश पुग्ने नेपालीसँग म्यानपावर कम्पनीले ‘युरोपियन मुलुक भन्दै’ चर्को सेवा शुल्क असुल्ने गरेका छन् ।

नेपाल सरकारले रोमानिया ३५ हजार, पोल्यान्ड ८० हजार ४०० र साइप्रसका लागि ८० हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । तर, यो शुल्कमा श्रमिक जान पाइरहेका छैनन्  । गतिलो आम्दानी हुने प्रलोभनमा १० लाख रुपैयाँसम्म बुझाएर नेपालीहरु त्यहाँ पुगिरहेका छन् ।

‘भिसाको ग्यारेन्टी गर्न सक्दैनौं, प्रयास गर्दा कसैको लाग्छ, कसैको लाग्दैन,’ ती म्यानपावर व्यवसायी भन्छन्, ‘कमाइ राम्रो हुन्छ, कति जोगाउन सक्छन् भन्ने श्रमिककै हातमा हुन्छ ।’

रोमानियासहितका देशबाट धेरैजसो कृषि, पशुपालन, उद्योग, होटल र निर्माण क्षेत्रका लागि श्रमिकको माग आउने गरेको छ । दक्षता नचाहिने भएकाले धेरै नेपाली ती देशमा जान लोभिएका छन् ।

महिनामा ५०० डलरभन्दा बढी कमाइ हुने र ओभरटाइभ पनि पाइने लोभ देखाएर नेपाली श्रमिकहरुलाई रोमानिया, पोल्यान्ड, टर्की जस्ता देशमा पठाइँदैछ । ती मुलुकबाट आएको माग प्रमाणीकरण गर्न भने सास्ती हुने गरेको व्यवसायीहरु बताउँछन् ।

‘रोमानियाको माग प्रमाणीकरण गर्न भारत जानुपर्ने अवस्थाले संस्थागत माग पनि व्यक्तिगत तवरमा आउँछ,’ एक म्यानपावर सञ्चालक भन्छन्, ‘यस्ता श्रम गन्तव्यमा श्रमिक नठगिने वातावरण बनाउन सरकारले काम गरेको छैन ।’

विज्ञ भन्छन्– नयाँ र सुरक्षित गन्तव्यको विकल्प दिनुपर्छ

वैदशिक रोजगार विज्ञहरु कामदारलाई नयाँ–नयाँ सुरक्षित गन्तव्यको विकल्प दिनुपर्ने बताउँछन् । यसका लागि सरकारी पहलदकमी हुनुपर्ने उनीहरुको मत छ ।

वैदेशिक रोजगार मामिलाका जानकार मधुविलाश पण्डित नयाँ देशको नाम सुन्नासाथ हामफालेर जाने नेपाली श्रमिकको प्रवृत्तिले जोखिम बढाएको बताउँछन् ।

‘झन् युरोपमा भने पछि त नेपालीहरु मरिहत्ते गरेर जति पनि पैसा तिरेर तयार हुन्छन्,’ उनी भन्छन्, ‘त्यहाँ कति कमाएर कति बचाउन सकिन्छ भन्ने ध्यान उनीहरुमा हुँदैन ।’

कतिपय म्यानपावर र एजेन्टहरुले श्रमिकलाई युरोप छिर्ने ढोका खोल्ने प्रलोभन देखाउँछन् । यसले गर्दा पनि सरकार र श्रमिक दुबै पक्ष नयाँ गन्तव्यबारे सचेत हुनपर्ने विज्ञहरुको मत छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ नयाँ श्रम बजारबारे सुक्ष्म अध्ययन–विश्लेषण गर्नुपर्ने बताउँछन् । मलेसिया र खाडी जाने चलनमा रमाइरहन नहुने बताउँदै उनी भन्छन्, ‘नयाँ गन्तव्य खोज्न ढिलाइ गर्न हुँदैन ।’

अहिलेसम्म जुन देशमा जे जस्तो माग आउँछ, त्यसैमा पठाउने गरिएको भन्दै उनले यस्तो अवस्था बदल्नुपर्ने बताए ।

‘कामदारलाई दक्ष बनाएर पठाउनुपर्छ । व्यावसायिक सीप दिन सकेमात्रै श्रमिकको क्षमता बढ्ने भएकाले तिनको जीवनस्तर सुधारिन्छ,’ डा. गुरुङ भन्छन्, ‘अदक्ष र अर्धदक्ष कामदार वैदेशिक रोजगारमा जाँदा रेमिट्यान्स निर्वाहमुखी भइरहेको छ । सीप सिकाएर पठाउन सके अहिलेभन्दा कैयौं गुणा रेमिट्यान्स आउँछ ।’

खाडी मुलुकमा मात्रै केन्द्रित गरेर वैदेशिक रोजगारबाट नेपाल उँभो नलाग्ने भन्दै उनी बढी कमाइ हुने देशमा कामदार पढाउन पहल गर्नुको विकल्प नभएको तर्क गर्छन् । ‘सबैजसो देशमा नेपाली नियोग छन्, तर वैदेशिक रोजगारी उनीहरूको प्राथमिकतामा परेको छैन । यसमा पहल जरुरी छ,’ डा. गुरुङ भन्छन्, ‘दूतावासले त्यहाँको श्रम बजार अध्ययन गरेर नेपाललाई फाइदा पुग्ने गरी श्रमिक पठाउने व्यवस्था गर्न आवश्यक छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?