+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
कविता :

नाक ठूलो र मन सानो बनाएर छोरा अमेरिका पठाउने बा

हरेकदिन घरमा
दीपावली गर्न
पसिनाको मट्टीतेल खर्चिएर
मनको टुकी बाल्ने
मेरा बा
मेरा आदर्श हुन्।

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७९ भदौ ११ गते ९:३४

मेरा बा
म भन्दा धेरै असल छन्
र त उनको जीवन कथा
मेरो हृदयमा गड्दछ
उनका प्रेरणाहरु
र आभासहरुले
मलाई अझ परिपक्व बनाउँछ ।

मेरो संघर्षलाई नीलो मसीले
लेख्न सघाउने मेरा बा
आफू कठिनाईहरू ज्यादै नै
अनुभव गर्दछन् र
मलाई उज्यालोका झिल्काहरू
पठाउँछन्।

मेरा बा
सन्तानका इच्छाहरु बटार्दैनन्
मेरा बा
कृत्रिमतामा रम्दैनन्
मेरा बा
सन्तानमा क्लिष्टताहरू थुपार्दैनन्
हरेकदिन घरमा
दीपावली गर्न
पसिनाको मट्टीतेल खर्चिएर
मनको टुकी बाल्ने
मेरा बा
मेरा आदर्श हुन्।

मेरा लागि
मेरा बा
वैज्ञानिक जस्तै हुन्
किनकि
उनले आविष्कार गरे
पारिवारिक खुसीका रेशाहरु,
मेरा लागि
मेरा बा
चिकित्सक जस्तै हुन्
किनकि
उनले निको पारे
ममा अज्ञानताका रोगहरू,
मेरा लागि
मेरा बा
साहित्यकार जस्तै हुन्
किनकि
उनले सिर्जना गरे
ममा सर्वोत्तम रचनाहरू,
मेरा लागि
मेरा बा
संगीतकार जस्तै हुन्
किनकि
उनले भरे अनेकौं दिव्य संगीतहरु
पारिवारिक लय मिलाउनका लागि,
मेरा लागि
मेरा बा
फिल्मका हिरो जस्तै हुन्
किनकि
उनले लडे अनेक व्यवधानहरूसँग
मेरा भविष्यका लागि।

हरेक प्रश्नहरूमा
हरेक रङहरूमा
हरेक शंकाहरूमा
मेरा बा
हमेशा मेरो साथमा उभिन्छन्,
उनी आँसुहरूमा हाँस्दछन्
उनी बिन्तीहरूमा झुक्दछन्
सन्तानको तक्दिरमा
पूर्वको स्वर्ण प्रभात लेख्दछन्,
मेरा बा
प्रेम र श्रद्धाको पुञ्ज भएर फुल्दछन्
सजिलैसँग अग्लो पहाड चढ्दछन्,
मेरा बा
रूप रस र गन्धको अनौठो खेल भुल्दछन्
कर्मपथ कै हमेशा पुजारी बन्दछन्,
मेरा बा
झुत्रो फाटेको वस्त्रमा समेत
अन्तर गहिराईबाट
सन्तानको भलो बोल्दछन्।

नोटको भाउ बढेको र
आफ्नो तलब घटेका
दिनहरुमा
मेरा बा
मेरा सपनाहरूमा फिक्कापन
नआओस् भन्न कै लागि
खिया लागेका आफ्ना हड्डीहरु घोट्न
आफू साउदी कतार धाउँछन्,
नाक ठूलो र मन सानो बनाएर
मलाई पढ्न अमेरिका पठाउँछन्

मेरा बा
आफ्नो असुन्दर जीवनप्रति
कति पनि शरम मान्दैनन्
जुन दिन प्रतिदिन मैलिँदै गएको छ,
तर पनि मेरो जीवनमा
प्रफुल्लित फूलको सौन्दर्य देख्न चाहन्छन्,
आफ्ना रंगहरुलाई अवकाश दिएर
ममा सुन्दर भावहरू चढाउँछन्
महान् उपदेश सिकाउँछन्,
सन्तानका लागि
आफ्नो भाग्य रेखा बदल्ने
मेरा बा
मेरा आदर्श हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?