
१३ कात्तिक, काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् ।
स्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताए ।
उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार आठ सय ६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरे । सो क्रममा उनले पुस्तकबाट जति पनि रकम आउँछ, सबै आश्रमलाई दिने बताएका लामाले जानकारी दिइन् ।
केन्द्रीय सदस्य लामाले परोपकारी व्यक्तिको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको बताइन् । उनले डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए ।
डा कैनीले हालै अदृश्य मनका सादृश्यहरू, सिमाहीन सीमा र रङको पहिचान, भिसागर्ल, र प्रतिबिम्ब गरी एकैसाथ पाँच कृति सार्वजनिक गरेका थिए ।
‘मेरा यी पाँच कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु, यसले आश्रमको सेवालाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ’, डा कैनीले भने ।
मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिकस्थलमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिसको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ । परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ ।
प्रतिक्रिया 4