 
																			१८ कात्तिक, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले अबको प्रदेश सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् । पार्टी कार्यालय वीरेन्द्रनगरमा शुक्रबार २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले आफूलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका हुन् ।
सुर्खेत २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका कँडेल मुख्यमन्त्री बन्ने चाहनाका साथ प्रदेश सभामा झरेका हुन् । कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार’ कर्णाली प्रदेशमा एमालेको सरकार भन्ने मुख्य नारा दिएर आफ्नो चुनावी प्रतिबद्धता सार्वजानिक गरेका हुन् ।
०७४ को निर्वाचनमा नेकपा मओवादीसँग वाम गठबन्धन गर्दै कर्णालीमा एमाले पहिलो शक्ति बनेको थियो । तर कर्णालीको मुख्यमन्त्री माओवादीको भागमा परेपछि प्रदेश सरकारको नेतृत्व भने एमालेले गर्न पाएन ।
प्रदेशमा एमाले फेरि पहिलो शक्ति बन्ने र आगामी प्रदेश सरकार आफ्नै नेतृत्वमा बनाउने दावी कँडेलले गरेका छन् । कँडेलले भने, ‘यसअघि सुरु गरेका कानुन निर्माण र विकास निर्माणलाई पूर्णता दिन र ‘समृद्ध कर्णाली’को परिकल्पनालाई साकार पार्न मेरो उम्मेद्वारी रहेको छ ।’
घोषणा पत्रको अन्तिम पानामा मतदातालाई अपिल गर्दै कँडेल मुख्यमन्त्री बन्नुपर्ने कारण र त्यसबाट प्रदेशले पाउने लाभबारे छोटकरीमा व्याख्या गरिएको छ । घोषणापत्रको सार भने एमाले नेतृत्वको कर्णाली प्रदेश सरकार र मुख्यमन्त्री यामलाल कँडेल भन्ने छ ।
कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनविरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।
वीेरेन्द्रनगर सुरक्षित, व्यवस्थित र आधुनिक शहर
कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुर्खेत २ (क) प्रदेशसभा भित्र वीरेन्द्रनगरका १६ मध्य १४ वटा वडा पर्दछन् ।
कँडेल सोही क्षेत्रको उम्मेद्वार भएकाले आफ्नो चुनावी प्रतिबद्धताको मुख्य एजेन्डाका रुपमा राजधानी वीरेन्द्रनगरलाई बनाएका छन् । सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लामा उडानका लागि आवश्यक व्यवस्था गर्नेदेखि वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने, वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरि कार्यान्वयनमा जोड दिइने, घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने पनि उनले बताए ।
विरेन्द्रनगर उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिने पनि उनले बताएका छन् । त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने उनको वाचा छ । प्रतिवद्धता पत्रमा निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्ने, सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिने उल्लेख छ ।
कँडेलले आफ्ना चुनावी प्रतिबद्धतामा १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने बताएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डलाई ‘फोर लेन’ मा स्तरोन्नति, मूलपारी रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणमा जोड दिईने उनको योजना छ ।
प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने, सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाइने उनको योजना उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । त्यस्तै वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला, ‘साइन्स पार्क’ देखि ‘फ्री वाइफाइ जोन’ बनाउँने सम्मका प्रतिबद्धता जनाएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4