
२४ कात्तिक, काठमाडौं । सोसल मिडियामा भेरिफाइड हुन आखिर को चाहँदैन ? जो कोहीलाई पनि आफ्नो इन्स्टाग्राम तथा ट्वीटर अकाउन्टमा नामको अगाडि भेरिफाइड गरिएको निलो टिक होस् भन्ने चाहना हुन्छ ।
सुरुवाती दिनहरुमा त यस्ता ब्लु टिकका लागि सोसल मिडिया कम्पनीहरु आफैले प्रयोगकर्तालाई अनुरोध गर्दथे । तर समयक्रममा कम्पनीले यसका लागि एउटा स्वचालित प्रणाली तयार गरेका छन् ।
यदि तपाईलाई आफ्नो सोसल मिडिया अकाउन्टमा ब्लु टिक होस् भन्ने चाहना छ भने तपाईले त्यसका लागि आवेदन दिन सक्नुहुन्छ । त्यसपछि कम्पनीले तपाईको प्रोफाइल रिभ्यू गर्दछ र तपाई ब्लु टिकका लागि योग्य हुनहुन्छ कि छैन भनेर निर्णय गर्दछ ।
यो नयाँ सिस्टम आएसँगै सोसल मिडिया अकाउन्टहरु ह्याक हुने खतरा पनि बढेको छ । यदि तपाईले पनि इन्स्टाग्राम वा ट्वीटरमा ब्लुटिकका लागि आवेदन दिनुभएको छ भने केही सावधानी अपनाउनु आवश्यक छ । नत्र एउटा सानो गल्तीले तपाईको अकाउन्टलाई नोक्सान पूर्याउन सक्दछ ।
ब्लु टिकका नाममा कसरी हुन्छ ठगी ?
जब तपाई इन्स्टाग्राममा ब्लु टिकका लागि आवेदन गर्नुहुन्छ तब तपाईलाई इन्स्टाग्रामकै मिल्दोजुल्दो नामबाट मेसेज आउन सक्दछ । त्यस्तो मेसेजमा तपाईको अकाउन्ट रिभ्यू गरिएको र तपाई ब्लु टिकका लागि योग्य रहेको उल्लेख गरिएको हुन्छ । साथै अब अकाउन्ट भेरिफिकेसनका लागि केही स्टेपहरु फलो गर्न पनि भनिएको हुन्छ ।
यदि तपाईले आफूलाई त्यस्तो मेसेज पठाउने इन्स्टाग्रामको जस्तै उक्त अकाउन्ट हेर्नुभयो भने त्यसमा लाखौँ फलोअर्स हुन्छन् र त्यसले मेसेज पठाउने ढाँचा पनि सक्कली जस्तै हुन्छ ।
तपाईसँग दुई तीनवटा साधारण जानकारी मागेपछि एउटा इमेल एड्रेस दिइन्छ र आफ्नो अकाउन्टमा गएर त्यसलाई अपडेट गर्न भनिन्छ । जब तपाईले उक्त इमेल ठेगानालाई आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपडेट गर्नुहुन्छ, तब तपाईको अकाउन्ट ह्याक हुन्छ ।
किनकी तपाईलाई त्यस्तो मेसेज पठाउने ह्याकरले तपाईको अकाउन्टको पासवर्ड रिसेट गर्नका लागि आफ्नो सोही इमेल ठेगानाको सहारा लिनेछ । तपाईले इन्स्टाग्राममा ब्लु टिक पाउने लोभमा आफ्नो अकाउन्टमा ह्याकरको इमेल एड्रेस अपडेट गरेको भेउ नपाउँदै तपाईको अकाउन्ट ह्याक भैसक्दछ ।
वास्तवमा ह्याकिङको यो तरिकालाई फिशिङ भनिन्छ । फिशिङको यो तरिका केही आधुनिक छ । यसअघि ह्याकिंग गर्नका लागि इमेल वा मेसेजमा फेक लिंक पठाउने गरिन्थ्यो । लिंक खोलेसँगै कुनै न कुनै बहानाबाट प्रयोगकर्ताको पासवर्ड लिएर अकाउन्ट ह्याक गरिन्थ्यो ।
ह्याकरहरुले सोसल मिडिया अकाउन्टमा ब्लु टिक दिने लोभमा कहिलेकाहीँ मोटो रकमको माग पनि गर्दछन् । त्यसरी पैसा माग्ने ह्याकरले आफुलाई सम्बन्धित सोसल मिडिया कम्पनीकै कर्मचारी बताउँदछ ।
प्रयोगकर्तालाई फसाउनका लागि उक्त रकमको शतप्रतिशत रिफन्डको ग्यारेन्टी पनि दिन्छ । तर यी सबै कुरा ठगीका बहाना हुन् । यदि तपाईसँग पनि आफ्नो ट्वीटर वा इन्स्टाग्राममा ब्लु टिक दिनका लागि कसैले पैसा मागेको छ भने त्यस्तो जालमा नफस्नु उत्तम हुन्छ ।
प्रष्ट हुनुहोस् कि इन्स्टाग्राम, ट्वीटर वा कुनैपनि सोसल मिडिया प्लाटफर्मले ब्लु टिकका लागि तपाईलाई सुरुमा मेसेज वा इमेल पठाउँदैनन् । यसका लागि तपाई आफैले आवेदन गर्नु पर्दछ । ती कम्पनीले यदि तपाईसँग सम्पर्क राख्नु परेमा तपाईलाई एपमै नोटिफिकेसन पठाउँदछन् ।
त्यसैले तपाईलाई पठाइएका त्यस्ता इमेल वा मेसेजको कुनै जवाफ नदिनुहोस् र त्यसमा रहेका लिंकमा क्लिक नगर्नुहोस् । ब्लु टिकका लागि पैसा माग्ने वा स्पाम इमेल पठाउने इमेल एड्रेसलाई तुरुन्तै ब्लक गर्नुहोस् । आफ्ना सबै सोसल मिडिया अकाउन्टमा टू फ्याक्टर अथेन्टिकेसन राख्नुहोस् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4