+
+

पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको जिम्मा महिलालाई

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर ३ गते १९:४५

३ मंसिर, वीरगञ्ज । पर्सामा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जना महिला मतदान अधिकृत खटाइएको छ । १४ पालिका रहेको पर्सामा १६७ वटा मतदान स्थल तोकिएको छ ।

प्रतिनिधि सभातर्फ ४ र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि २ अस्थायीसहित ४१४ मतदान केन्द्र तोकिएको छ । जसमध्ये ४५ वटा मतदान केन्द्रको नेतृत्व महिला मतदान अधिकृतले गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय पर्साको प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी पनि महिला नै छिन् ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले ४१४ मतदान केन्द्रमध्ये ४५ वटा केन्द्रमा महिला मतदान अधिकृत खटाइएको जानकारी दिइन् । उनीहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रमा आवश्यक पर्ने सामाग्रीसहित मतदान केन्द्रमा पुगेर आवश्यक तयारी गरिसकेका छन् ।

हरेक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी, १ जना सहयोगी र ४ जना स्वयंसेवक गरी पर्सामा ४ हजार ७ सय जति कर्मचारी निर्वाचनका लागि खटिएका छन् ।

पर्सामा निर्वाचन क्षेत्र नं १ मा ७७ हजार ६७९, क्षेत्र नं २ मा ८६ हजार ९६६, क्षेत्र नं ३ मा ९० हजार ४३२ र क्षेत्र नं ४ मा ९० हजार ८५१ जना गरी कुल ३ लाख ४५ हजार ९२८ जना मतदाता छन् ।

तीन मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिलालाई

पर्सामा तीन वटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई मात्रै दिइएको छ । वीरगञ्ज वडा नं ५ स्थित थारु छात्रावास परिसर भित्रको तीन वटा मतदान केन्द्रलाई ‘नमुना’ बनाइएको हो ।

यी केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाईएको छ । मतदान अधिकृतहरु अञ्जु परियार, जमुना धिताल र रतिका शर्मासहित २१ जना सहायक कर्मचारी सबै महिला छन् ।

२ हजार २५७ मतदाता रहेको मतदान स्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक श्रीयंका बस्नेतको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी सहित १७ जना सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । सुरक्षाकर्मीमध्ये केही मात्रै पुरुष छन् ।

महिला कर्मचारी निष्पक्ष र शान्तिपूर्ण रुपमा मतदान गराउन सक्षम छन भन्ने सन्देश दिनका लागि नमुना मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?