+
+
ब्लग :

बालेन युग : आशा कि निराशा ?

बालेनको अहिलेको अवस्थाले उनलाई ग्रे एरियामा अडिने छुट दिंदैन

इतिहासलाई बालेन काल अघि र पछि भनी बुझ्न चाहने युवा पुस्तालाई सकारात्मक सन्देश दिने स्तरको काम गर्न सक्ने हो भने अहिले नबुझिकन भक्त भएकाहरू उनलाई बुझेरै भक्त हुनसक्छन्।

प्रकृति मैनाली प्रकृति मैनाली
२०७९ मंसिर २० गते १७:२३

सामाजिक सञ्जालमा भीम रावल र बालेन शाहबीच दोहोरी चलिरहेको छ। भीम रावललाई एउटा नागरिकको हैसियतमा काठमाडौं महानगर प्रमुखसँग प्रश्न सोध्ने अधिकार जति छ, बालेनलाई उत्तर दिनुपर्ने उत्तरदायित्व त्योभन्दा पनि बढी छ किनकि बालेन अब सार्वजनिक व्यक्तित्व हुन्।

उपप्रधानमन्त्रीसम्म भइसकेका भीम रावलले सजिलै पाउन सक्ने जानकारी लिने मूलबाटो छाडिदिए। उनले सामाजिक सञ्जालमा प्रश्न सोध्न चाहे। यसरी उनले आफ्नो ‘प्रक्रियागत विज्ञता’को प्रदर्शन गर्न खोजेको कुराको संकेत पनि गर्छ र सँगसँगै बालेनलाई कटाक्ष गर्ने नियत पनि देखिन्छ।

यता, सीधा प्रश्नको सीधा जवाफ दिन नसक्नु बालेनको अपरिपक्वता हो। उनको यही अपरिपक्वताले उनका परिपक्व शुभचिन्तक घट्दै गएका छन्। साथसाथै लोकप्रियता कायमै राख्न उनका युवा पुस्ता समर्थकहरूलाई उत्तेजित बनाइराख्ने र निरन्तर विभिन्न काण्डहरूमा फसिराख्ने उनको रणनीति हो कि भन्ने शंका बढाएको छ। अनावश्यक, अपरिपक्व र जरुरी नभएका मुद्दा प्राथमिकतामा पर्दा उनी मुख्य मुद्दाहरूप्रतिको फोकसबाट विमुख हुने अवस्था आउने जोखिम बढ्न सक्छ।/

सुकुम्बासी समस्या समाधानमा बालेनको अग्रसरता असामयिक अनि असान्दर्भिक हो भन्न सकिने ठाउँ छ। बालेनले बुझ्नुपर्छ कि शान्तिपूर्ण परिवर्तनको प्रक्रिया ढिलो भए पनि यो दिगो हुन्छ। प्रक्रियागत रूपमा राष्ट्रिय भूमि आयोगलगायतका सरोकारवाला निकायसँग समन्वय गर्न सक्दा उनी थप सही सावित हुनसक्थे। थालेको काम पूरा गर्न नपाई रोकिंदा उनको कमजोर समन्वय क्षमता उजागर भइरहेको छ।

उनले धुलोयुक्त शहर, खाल्डो बाटो र पानीको समस्या थाती राखेका छन्। पूर्वाधार एम्बुलेन्सको काम पनि थन्क्याइएको छ। मानवीय समवेदना र भावनात्मक सम्बन्धसहित केन्द्रीय स्तरको राजनीति जोडिएका सामाजिक मुद्दामा हाम फाल्नुले उनीबाट ठूलो अपेक्षा गरेकाहरू निराश हुनु अस्वाभाविक होइन।

उनको यो कदम ठीक, बेठीक के हो त्यो दोस्रो बहसको विषय हो। मुख्य प्रश्न त के उनले आफ्ना मुद्दाहरूका प्राथमिकतालाई क्रमभंग त गरेका छैनन् ? पहिलो काम पहिला गर्ने थिति बसाउने मेसो त भुलेका होइनन् ? उनका प्राथमिकताका मुद्दाहरू के हुन् ? आफैं अलमलमा परेका त होइनन् ? भन्ने जस्ता प्रश्नले उनलाई झक्झकाइराख्नु निर्विकल्प समाधानका उपाय हुन्।

सुखद कुरा उनीसँग प्रशस्त समय छ। आफूलाई निखार्ने, मुद्दा केन्द्रित बनाउने, परिपक्व अनि आफ्नो अधिकार क्षेत्रभित्र रही प्राथमिकताका आधारमा जरुरी पहिलो काम पहिला गर्ने हो भने उनीसँगै युवाप्रति पलाएका आशाका झिल्का राँको बन्न सक्छ।

इतिहासलाई वर्गीकरण गर्ने समयखण्ड २००७, २०१७, २०३६, २०४६, २०६२/६३, २०७२ र आजको २०७९ साल ‘बालेन काल’ बन्न सक्छ।

इतिहासलाई बालेन काल अघि र पछि भनी बुझ्न चाहने युवा पुस्तालाई सकारात्मक सन्देश दिन सक्ने स्तरको काम गर्न सक्ने हो भने अहिले उनलाई नबुझिकन भक्त भएकाहरू उनलाई बुझेरै उनका भक्त हुन सक्छन्।

प्रकृति मैनाली

विगतलाई पल्टाउने हो भने, समस्या समाधान गर्न सक्ने नेतृत्वलाई नागरिकले सधैं उच्च सम्मान नै प्रकट गरेका छन्। बालेनको हकमा उनले समस्या समाधान गर्ने मात्र अभिभारा बोकेका छैनन् सम्पूर्ण युवा पुस्ताका विश्वास र सम्भावनाहरूलाई पनि प्रतिनिधित्व गरेका छन्।

उनका आगामी कदमले उनी र उनका लिगेसीको मार्ग र त्यसको दूरीको निर्धारण गर्छ। आगामी पुस्ताले नेपालको राजनीतिक इतिहासलाई बालेन काल बनाउन बालेनको इमानदारी र कर्तव्यनिष्ठको मात्र माग गरेको छ।

हाम्रो सामाजिक संरचनाले हामीमध्ये धेरैलाई ‘पोजिसनल लिडर’ बनाएको छ। पारिवारिक शृंखलामा हामी ठूलालाई आदर, सानालाई माया गर्ने संस्कार सिक्दै हुर्केका पुस्ता हौं। सानालाई आदर गरौं भनिहाल्न अनि स्वीकारिहाल्न नसकेको एउटा उदाहरण हो- बालेन शाह र उनका आलोचक पंक्ति।

आलोचनात्मक चेत भएका मानिस अन्धभक्त बन्नै सक्दैनन्। त्यसो भए बालेनलाई आलोचना गर्ने को हुन् त ? ती मुख्यतया बुद्धिजीवीमध्येका हुन्। डाक्टर, इन्जिनियर, विज्ञ, शिक्षक, प्राध्यापक, व्यवसायी, ठेकेदार हुन्। किनकि आलोचनात्मक चेत यिनै वर्गसँग छ।

नेपाली परिपेक्षमा पात्रहरूलाई देवत्वकरण या दानवीकरणमध्ये एक बनाउने परिपाटी छ। गलतलाई गलत भन्न सक्ने, सही काम गर्दा ताली बजाउन पनि सक्ने, पात्रसँग तटस्थ सम्बन्ध स्थापित गर्न सक्ने शुभचिन्तकहरू नै वास्तविक नागरिक अगुवा हुन्।

महानगरको सूक्ष्म अंश एउटा व्यक्ति, परिवार, समाज हो। संस्थागत रूपमा भन्दा महानगर सूक्ष्म निकायहरूको विस्तृत र विस्तारित स्वरूप हो। समग्र महानगरसँग जोडिएका सूक्ष्म इकाइहरूको समन्वय, सहयोग, नागरिकको प्रतिबद्धताले नै महानगरको सफलताको निर्धारण गर्छ।

बालेनलाई फोहोर व्यवस्थापनको प्रश्न गर्ने हरेक नागरिक, पेशाकर्मी, बुद्धिजीवीदेखि श्रमजीवीसम्मले, गाडीवालादेखि बटुवासम्मले प्रश्न आफूतिर पनि तेर्स्याउनुपर्छ।

साना–साना संगठन बनाएर बसेका हरेक पेशागत संगठन तथा अन्य संघ तथा महासंघहरूले आफूले गर्नुपर्ने र गर्न सक्ने काम गरेका छन् ? आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय परिसर छिर्ने बित्तिकै सुँघेरै पुग्न सकिने गरी शौचालय किन गन्हाउने बनाएका होलान् ? के कारणले विद्यालयका आँगन चाउचाउ र बिस्कुटका बिस्कुन बनेका होलान् ? गाडीवालाहरूले आफ्नो चिटिक्क टल्किने गाडीको सिसाभित्रबाट आफ्नाहरूले फोहोर फ्याँकेको बाटो कसको हो भन्ठानेका होलान् ? पैदल यात्रुहरूले गुट्खा खाएर थुक्ने, फोहोर गर्ने जमिन कसको हो ? किन कहिल्यै नसोचेका होलान् ?

राजधानीका प्राइभेट विद्यालयका गाडीबाट केटाकेटीले चुइगमका खोल फ्याकिराख्दा फोहोर हुने राजधानी कसको हो ? भन्ने प्रश्न हरेक राजधानीवासीले आफूले आफैंलाई सोध्नुपर्छ।

काठमाडौंको महँगीमा एउटा परिवारलाई घर चलाउन गाह्रो छ। किनकि घरको अभिभावकको काँधमा आम्दानीको जोहो गर्नुपर्ने व्यवहार हुन्छ। महानगर चलाउन आम्दानी होइन, खर्चको उचित व्यवस्थापन मात्र गरे पुग्छ। आकारमा ठूलो भए पनि एउटा साधारण परिवारलाई ४ जनाको परिवार चलाउनु भन्दा महानगर चलाउन तुलनात्मक रूपमा सजिलो छ।

त्यसैले जनप्रतिनिधि लोकप्रियतावाद या आलोचनामा अल्झिने हो भने शुभचिन्तकहरू समेत कटु आलोचक बन्ने परिस्थिति निर्माण नहोला भन्न सकिन्न। यो बालेनको हित विपरीत छ। बालेनलाई कटाक्ष र हाई–हाई दुवै गर्न छोड्नुपर्छ। काम गर्न दिनुपर्छ।

‘बालेन युग’ इतिहासमा दर्ज गराउन उनीसँग युवा क्रेज भरपुर छ। अन्तत: ती युवा क्रेज पानीको फोका जस्तै नफुटोस् भन्ने एउटै उपाय उनको आफ्ना मुद्दाप्रतिको इमानदारी र डेलिभरी नै हो। किनकि नेपाली समाजको अहिलेको चरित्रले बालेनलाई या त ‘बालेन युगको’ इतिहासमा समेट्छ या त दानवीकरण गरी निकै तल झार्छ। बालेनको अहिलेको अवस्थाले उनीलाई ग्रे एरियामा अडिने छुट दिंदैन।

एउटा भ्रूण शारीरिक बनोटमा सम्पूर्ण रूपमा आउन ९ महिना लाग्छ। त्यसैले समय भन्दा अगाडि गरिएका अपेक्षाहरूबाट आउने निराशाहरूको जिम्मेवार बालेन होइन अपेक्षाकर्ताहरू नै हुन्। त्यस्तै बालेनलाई जादुको छडी घुमाउने जादुगर सोचेर अन्धभक्ति देखाउने कार्यकर्ताहरूमा आएका उत्साह पानीको फोका जस्तै हुन्।

विदेश मात्र देख्ने नेपाली युवा आँखाहरूले, सम्भावना नदेख्न स्वदेशी हातहरूले देश बनाउन सक्छु भनी राजनीतिमा सम्भावना देख्नु चानचुने पाराडाइम शिफ्ट होइन।

फेसबुक र टिकटकमा रमाइराखेका, मिलेनियल या जेन वाई पुस्ताले र्‍यापर बन्छु भन्ने आकांक्षा राख्नु या मेयर बन्छु भन्ने सपना देख्नु परिवर्तित समाजको प्रतिबिम्ब हो र प्रतीकात्मक सन्देश पनि।

अमेरिकी दूतावासको सहयोग चाहिंदैन भन्नु बालेनको व्यावहारिक अपरिपक्वता भने होइन। उनलाई महानगरको आम्दानी र खर्चको अनुपात, खर्च गर्न सक्ने महानगरको प्राविधिक क्षमताको पनि हेक्का छ। त्यसैले खर्च गर्न सक्ने पैसा महानगरसँग हुँदाहुँदै दातृ निकाएको पैसा लिनु आवश्यक नठानेर नलिनु सैद्धान्तिक रूपमा सही छ।

यो सँगसँगै खर्च गर्न सक्ने संयन्त्र निर्माणमा के कति हेक्का राखेका छन् भन्ने द्विविधाको उत्तर आउन एक आर्थिक वर्ष कुर्नुको विकल्प छैन। अघिल्लो आर्थिक वर्षमा ४४ प्रतिशत खर्च गरेको महानगरले यो वर्षको पूँजीगत खर्च बढाउन सक्छ या सक्दैन उनको कार्य दक्षताको मूल्यांकन हुन बाँकी नै छ।

औंला उठाउनु सजिलो कुरा हो, जवाफदेही बन्नु गाह्रो। समाधान बन्छु भनेर समस्याभित्र पस्न खोज्ने युवा पुस्तालाई केही शंकाको लाभ दिनु पनि पर्छ।

सानाभन्दा साना इकाई, संघ, संगठन अव्यव्यस्त भएको प्रणालीमा रहेर ३२ वटा वडा, ५०.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगर व्यवस्थित गर्न समय लाग्छ। परिवर्तन ढिलो प्रक्रिया हो, प्रणाली सुधार्न समय लाग्छ।

मेरो व्यक्तिगत अनुभवमा १२:०५ बजे सुरु हुने भनेको बैठक १२:०५ मै सुरु गर्ने थिति थालेका पात्र हुन् बालेन। बैठकमा मुद्दा बाहेकका अनावश्यक बहस नगर्ने परिपाटीको सुरुवात गरेका व्यक्ति हुन् बालेन।
आगामी दिनमा फोहोरमैला व्यवस्थापनको ब्याकवार्ड इन्टिग्रेसनको अवधारणा कार्यान्वयन गर्न सक्नुपर्छ। ट्राफिक समस्याको दिगो समाधान गर्न सक्नुपर्छ। राजधानी सफा, सुन्दर र हरियाली बनाउन सक्नुपर्छ। जारको पानी किनेर खानुपर्ने

अवस्था अन्त्य गर्न सक्नुपर्छ। चिल्लो बाटोमा गुड्न पाए हुन्थ्यो, मास्क नलगाई राजधानीका बाटोमा हिंड्न पाए हुन्थ्यो, यत्ति त हो राजधानीवासीका अपेक्षा।

आगामी आर्थिक वर्षको लागि २५.४ खर्ब बजेट प्रस्तुत गर्ने तयारी गरेको महानगरले यतिको व्यवस्थापन गर्न सक्दैन भने देवत्वकरण गरेका बालेनलाई दानवीकरण गर्न धेरै समय लाग्दैन।

संरचनात्मक सुधार, प्रणाली सुधार महानगरको मुख्य मुद्दा बन्नुपर्छ। स्रोतको समानुपातिक र विकास केन्द्रित बाँडफाँट हुन्छ र भ्रष्टाचार शून्य महानगर बन्न सक्छ भने बालेनको तरङ्ग आगामी निर्वाचनमा अझ बलियो हुने पक्का छ।

शंकाको लाभ सँगसँगै बालेनसँग पर्याप्त स्रोत छ, काठमाडौंको महँगीमा घरव्यवहार चलाउनुपर्ने व्यावहारिक बाध्यता उनलाई छैन। उनको हातमा स्व–कार्यकाललाई स्वर्णयुग बनाउन सक्ने सुवर्ण अवसर छ।

‘बालेन युग’ इतिहासमा दर्ज गराउन उनीसँग युवा क्रेज भरपुर छ। अन्तत: ती युवा क्रेज पानीको फोका जस्तै नफुटोस् भन्ने एउटै उपाय उनको आफ्ना मुद्दाप्रतिको इमानदारी र डेलिभरी नै हो। किनकि नेपाली समाजको अहिलेको चरित्रले बालेनलाई या त ‘बालेन युगको’ इतिहासमा समेट्छ या त दानवीकरण गरी निकै तल झार्छ। बालेनको अहिलेको अवस्थाले उनलाई ग्रे एरियामा अडिने छुट दिंदैन।

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?