+
+

मैले नेतृत्व पाए विचारले पोख्त अखिल बनाउनेछु : झपिन्द्र खत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १४:१८

१६ माघ, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु २३ औं राष्ट्रिय सम्मेलनमा जुटेको छ । २–४ फागुनमा हुने सम्मेलनको तयारी र नेतृत्वमा पुग्ने होड अखिलमा विद्यार्थी नेताहरुमा देखिएको छ ।

नेतृत्वमा दावी गर्ने नेताहरुको संख्या समेत बढेको छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरु झपिन्द्र खत्री, मोती विक, लोकेश निरौला र महासचिव समिक बडालले नेतृत्वमा दावी गरिरहेका छन् ।

आकांक्षी मध्येका झपिन्द्र खत्रीसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मलेन निर्धारित समयमै हुन्छ ?

महाधिवेशन सर्दैन । तोकिएको समयमा स्वस्थ्य, स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न जुटेका छौं । मूल व्यवस्थापन समिति तथा उपसमितिले काम सुरु गरिसकेको छ । सम्मेलन भव्य रुपमा सकिन्छ ।

अहिले सम्मेलन सम्पन्न गर्ने भन्दा बढी नेतृत्वको दौडधुप देखिन्छ, नि ?

२०७२ सालमा २२औं राष्ट्रिय महाधिवेशन गरेका थिए । त्यसपछि दुई पटक नेतृत्व पुनर्गठन भयो । तलका साथीहरु पनि माथि अपग्रेड हुनुभएको छ । त्यो महाधिवेशनबाट सचिव निर्वाचित भएका आरसी लामिछाने र समिक बडाल अनि कोषाध्यक्ष म अहिले कमिटीमा छौं । अरु सचिवालय सदस्य जितेका साथीहरु पदाधिकारीमा अपग्रेड भएका छन् ।

उहाँहरु पनि पदाधिकारी भएकाले नेतृत्वमा धेरै दाबेदार हुनु स्वभाविक हो । तर महाधिवेशनबाट आएको हामी तीन जना बलियो दाबेदार हौं ।

दावी जति भएपनि पार्टीले हस्तक्षेप गर्ने होला नि ?

पार्टीले भनेको कुरा नमान्ने भन्ने हुँदैन । पार्टीसँग बसेर छलफल गरेर नै टुंगिने विषय हो । तर, आन्तरिक प्रतिस्पर्धा हुन्छ । पार्टी नेतृत्वले पनि त्यसैअनुसार अगाडि बढ्न संकेत दिएकाले आकांक्षीहरु मैदानमा छन् । पार्टीबाट रोकतोक हुन्छ जस्तो लाग्दैन ।

नेतृत्वमा चुनिने आत्मविश्वास छ ?

हामी तीन जना बलियो प्रतिस्पर्धी भएपनि अरु साथीहरु समेत दाबेदार हुनुहुन्छ । तर कार्यकर्ताले मूल्यांकन कसरी गर्छन् भन्ने कुरा हो । मेरो दावी म विद्यार्थीबाट पनि अनुमोदित दाबेदार हुँ ।

२०६५ मा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघको किल्ला तोडेर पाटन संयुक्त क्याम्पसमा सिंगो टिमसहित सभापति निर्वाचित भएको थिएँ । विद्यार्थीबाट पनि निर्वाचित र कार्यकर्ताबाट पनि केन्द्रीय सदस्य, सचिवालय, कोषाध्यक्षमा अनुमोदित हुँदै आएको छु । त्यही भएर कार्यकर्ता र विद्यार्थीबीच भिजेको हुनाले म नेतृत्वका लागि सक्षम हुँ भन्ने दाबी गर्छु ।

अहिले उपाध्यक्ष छु । उपाध्यक्ष हुँदा पनि देशभर प्रशिक्षण आयोजना गरेका छौं । कार्यकर्तालाई वैचारिक बनाउने उद्देश्यले विभाग लाग्यो, म लागें । हामीले अखिल संस्कृतिलाई स्थापित गर्नुपर्छ, हिजोको अनेरास्ववियुको विरासतलाई कायम गर्नुपर्छ भन्ने उद्देश्यले लागेको छु ।

अर्कातिर, परिस्थिति अनुसार अखिलको एजेन्डा प्रविधिसँगै लान सकिन्छ भन्ने उद्देश्य बोकेर नेतृत्वमा दाबी गरेको हुँ ।

पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णयले पनि नेतृत्व चयनमा समस्या देखिएको हो ?

विधान महाधिवेशनले व्यवस्था गरे अनुरुप नै संगठन निर्माण गर्छौं । सिंगो पार्टीले पनि त्यही अनुसार सहयोग गर्छ । यो महाधिवेसन स्वतन्त्र ढंगबाट निर्वाचन भयो भने जित्नेले अखिल चलाउने हो । अरु पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ ।

अनेरास्ववियु विधि, पद्धति र विधानबाट निर्देशित संगठन भएकोले सामूहिक रुपमा निर्णय र कार्यन्वयनमा जान्छौं । निर्वाचनबाट आएको परिणाम त सबैले स्वीकार गर्नैपर्छ ।

तपाईं नेतृत्वमा पुगेपछिको अखिल कस्तो हुनेछ ?

मेरो नेतृत्वमा वैचारिक अनेरास्ववियु हुन्छ । मैले नेतृत्व पाएको अवस्थामा विचारले पोख्त कार्यकर्ता तयार गर्छु । संस्कार, आचरण सहितको कार्यकर्ता भएको अखिल बनाउछु ।

समय सापेक्ष एजेन्डा आइरहेका छन्, ती सबै एजेन्डालाई केन्द्रिकृत गरेर राष्ट्रिय बहस गर्ने खाका तयार गरेर अगाडि बढ्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?