 
																			‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ मा आफ्ना धारणा राख्नु अहिले सबैभन्दा जटिल र अप्ठ्यारो विषय हो । यो विषयमा विश्वविद्यालयमा गएर सैद्धान्तिक आयामबाट प्रवचन दिन त सहज छ, तर आजको नेपाली राजनीतिको सन्दर्भमा लोकतान्त्रिक संस्कारको बारेमा आफ्ना विचार राख्न एकदम जटिल र जोखिमपूर्ण छ । यसको बारेमा मसँग उत्तरभन्दा बढी प्रश्नहरू छन् ।
मैले लोकतान्त्रिक संस्कारबारे धारणा बनाउने क्रममा केही पुस्तक र जर्नलहरू अध्ययन गरे । तीमध्ये अमेरिकाको प्रिन्सटन विश्वविद्यालय द्वारा प्रकाशित राजनीतिशास्त्री प्राध्यापक डेबिड जारेटको ‘द ओरिजिन अफ डेमोक्रेटिक कल्चर’ पुस्तकमा उनको निष्कर्ष निकै सान्दर्भिक लाग्यो ।
उनले भनेका छन्, ‘लोकतन्त्र शासन प्रणाली मात्र होइन; यो त शासनमा सिद्धान्त, संस्कृति, प्रक्रिया र जवाफदेहिताप्रतिको एकीकृत विश्वास हो। लोकतान्त्रिक संस्कृति र प्रक्रियाको अभावमा लोकतन्त्र चल्न र फस्टाउन सक्दैन ।’
जारेटले निष्कर्ष निकाले जस्तै वास्तवमा लोकतान्त्रिक प्रणाली भनेको केवल शासन पद्धति होइन, यो जीवन पद्धति हो । लोकतान्त्रिक मूल्य-मान्यता, सिद्धान्त र संस्कारसहितको जनताप्रति उत्तरदायी प्रणाली हो । लोकतान्त्रिक प्रणालीमा सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुन्छन् । राज्यले लोकतान्त्रिक प्रणाली मात्रै अनुसरण गर्ने होइन, यसको चिन्तन र चरित्र पनि लोकतान्त्रिक हुनुपर्छ । तब मात्रै लोकतान्त्रिक संस्कारको विकास हुन्छ र जनताले लोकतान्त्रिक प्रणालीको अनुभूति गर्छन् ।
जारेटको जस्तै विन्स्टन चर्चिलदेखि जोन एफ केनेडीसम्मका नेताहरूको लोकतान्त्रिक प्रणालीप्रतिको दृष्टिकोण यही हो । उक्त वास्तविकतालाई राजनीतिक पार्टी र नेतृत्वले आत्मसात गरेकाले बेलायत, अमेरिका लगायतका देशहरू लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता अनुसरण गर्नुका साथै जनताको भावनाअनुसार राज्य संचालन गर्न सफल मात्रै भएनन्, लोकतान्त्रिक प्रणालीको उच्चतम अभ्यास गर्न सफल हुँदै आएका छन् ।
यी त राजनीतिशास्त्रका सैद्धान्तिक कुरा भए । तर नेपालको सन्दर्भमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्दा ठीक विपरीत देखिन्छ । तीन-तीन पटक जनआन्दोलन गरेर स्थापित गरेको लोकतान्त्रिक प्रणाती त राम्रोसँग स्थापित हुन सकेको छैन भने लोकतान्त्रिक संस्कार र सुसंस्कृत राजनीतिको अपेक्षा गर्ने त प्रश्न नै भएन ।
नेपाली राजनीति र राजनीतिक दलहरूमा लोकतान्त्रिक संस्कार होइन, अधिनायकवाद, सर्वसत्तावाद, सामन्तवादका साथै मठाधीश र अनुत्तरदायी प्रवृत्तिको कुसंस्कारले जरा गाडेको छ । त्यसैले नेपाली राजनीतिमा सैद्धान्तिक, वैचारिक र नैतिकताको गम्भीर स्खलन हुने क्रम बढ्दै गएको छ ।
नाम लोकतान्त्रिक छ तर काम अलोकतान्त्रिक । आवरण लोकतान्त्रिक छ तर अन्तर्य अलोकतान्त्रिक । कागजमा लोकतान्त्रिक छ तर व्यवहार अलोकतान्त्रिक । औपचारिकताका लागि मन्त्र लोकतान्त्रिक छ तर संयन्त्र अलोकतान्त्रिक ।
लोकतान्त्रिक प्रणाली छ, आवधिक निर्वाचन पनि हुन्छ । लोकतान्त्रिक प्रणाली र आवधिक निर्वाचन पनि केवल राजनीतिक दलहरू सत्तामा पुग्ने अस्त्र र भर्याङ मात्रै भएका छन् । तर जनताले लोकतान्त्रिक प्रणाली, सुशासन र उत्तरदायी प्रणालीको अनुभूति गर्न सकेका छैनन् ।
राजनीतिक दल छन्, तर गुटतन्त्र र गिरोहतन्त्रको दलदलमा छन् । पार्टीका विधान छन् तर विधानसम्मतरूपमा दलहरू संचालित छैनन् । संवैधानिक बाध्यताले पार्टीहरूको महाधिवेशनको औपचारिकता पूरा गरिन्छ । तर महाधिवेशन पनि लोकतान्त्रिक प्रणाली अनुसरण गरी स्वस्थ्य लोकतान्त्रिक अभ्यास गरिंदैन । अपवादबाहेक पार्टीको शीर्ष नेतृत्वको आदेश र प्रस्तावलाई अनुमोदन गर्नेबाहेक महाधिवेशनको औचित्य छैन ।
सबै पार्टीमा आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर छ । पार्टीका महामन्त्रीहरू समेत पार्टीको निर्णय प्रक्रियामा सहभागी हुन नपाउने तथा केन्द्रीय समिति र संसदीय दलमा नोट अफ डिसेन्ट लेख्नुपर्ने अवस्था नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा रहेछ । नेकपा एमाले र माओवादीको त प्रश्नै भएन, त्यहाँ त नोट अफ डिसेन्ट लेख्ने छुट समेत छैन ।
नेपाली कांग्रेस, नेकपा एमाले जस्ता प्रमुख दलहरूको पार्टी संचालन प्रणाली, अलोकतान्त्रिक र अनुत्तरदायी नेतृत्व र आन्तरिक लोकतन्त्रको बारेमा बहस र विवाद हुँदैआएको थियो । तर नयाँ पार्टी भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक अनुहार पनि सात महिनामा नै पर्दाफास भइसकेको छ ।
न पार्टी, न विधि, न विधान, न आन्तरिक लोकतन्त्र, न पार्टीमा छलफल, न उत्तरदायित्व न पारदर्शिता । छ भने केवल प्रोपगाण्डा, पपुलिज्म, प्रतिशोध र हिरोइज्म छ, बलिउडको मसला मुभि जस्तै । उक्त पार्टीको लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधान, समावेशीकरणप्रतिको धारणा के हो ? स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायालयप्रतिको धारणा त स्पष्ट भइहाल्यो ।
अहिले नेपाली राजनीति उग्रराष्ट्रवाद, अतिवाद र दक्षिणपन्थी पपुलिज्मको दलदलमा फसिसकेको छ । यो दलदलबाट बाहिर निस्कन्छ कि निस्कँदैन, निस्क्यो भने पनि कहिले निस्कन्छ र कसले निकाल्छ भन्ने प्रश्नहरू अनुत्तरित छन् । किनभने सुदूर क्षितिजमा मधुरो किरण त देखिएको छ तर विश्वस्त हुने आधार सुस्पष्ट भइसकेको छैन ।
ऐतिहासिक संविधानसभाद्वारा निर्मित संविधान छ तर राष्ट्रपति, प्रधानमन्त्री र सरकारले नै संविधानलाई चुनौती दिएका छन् । संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै संविधान उल्लंघन भएको छ ।
लोकतन्त्र र संविधानको अक्षर र भावनाविपरीत दुई-दूई पटक प्रतिनिधिसभा विघटन गरियो । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार भएको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि सार्वभौम संसदको रोष्ट्रमबाटै न्यायपालिकालाई तत्कालीन प्रधानमन्त्रीले चुनौती दिएका थिए ।
हरेक पार्टीका विधान छन् तर विधानसम्मतरूपमा पार्टीहरू संचालित छैनन् । संसद छ तर सांसदहरूकै कारणले संसद बदनाम भएको छ । यो भन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ ?
लोकतान्त्रिक प्रणालीमा राज्य संचालन गर्ने निकायहरू (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, गणतन्त्रको प्रतीक संस्था राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दल, तीनै तहका सरकार, संवैधानिक निकाय) मा लोकतान्त्रिक संस्कारको अभाव भएको मात्रै होइन, थप स्खलन हुँदै गएको देखिन्छ । त्यसैले विश्वविद्यालय र थिङ्क ट्याङ्कद्वारा गरिएका सर्भे र अनुसन्धानले यी निकायहरूप्रति जनताको विश्वास गुमाउँदै गएको निष्कर्ष निकालेका छन् ।
वास्तवमा जनतामा राजनीतिप्रति वितृष्णा छ । २०६२/०६३ को जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति व्यापक निराशा छ । राजनीतिक दल र नेताप्रति तीव्र आक्रोश छ । राजनीतिक पार्टीमा सिद्धान्त, सिस्टम, संस्कार, सुशासन र आशाको किरण झनै मधुरो हुँदै गएको छ ।
मेरा अभिव्यक्ति र निष्कर्षहरू निराशाजनक र कटु पनि लाग्न सक्छन् । तर मैले निराशाजनक सन्देश प्रवाह गर्न खोजेको होइन । नेपाली राजनीतिको वास्तविक तस्विर नै यही हो ।
नेपालका राजनीतिक दल तथा शीर्ष नेतृत्व पंक्ति, सरकार र राज्यका निकायहरूले लोकतन्त्रको नाममा लोकतान्त्रिक प्रणालीकै उपहास गर्दै आएका छन् । लोकतन्त्रको नाममा लोकतान्त्रिक प्रणालीकै उपहास, यो भन्दा दुर्भाग्य अरू के हुनसक्छ ? लोकतान्त्रिक प्रणालीको भविष्य र लोकतान्त्रिक संस्कारको दृष्टिले यो सबैभन्दा गम्भीर चिन्ताको विषय भएको छ ।
नेपाली राजनीतिका लोकप्रिय तथा सिद्धान्तनिष्ठ नेता वीपी कोइरालाले पनि लोकतान्त्रिक प्रणालीका साथै लोकतान्त्रिक संस्कारलाई पनि उत्तिकै महत्व दिएका थिए । तर उनकै पार्टी नेपाली कांग्रेसले वीपीको लोकतान्त्रिक संस्कारलाई तिलाञ्जली दिएको छ ।
यसैगरी लोकप्रिय वामपन्थी नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेकपा एमालेलाई लोकतान्त्रीकरण गर्ने दिशामा विशिष्ट भूमिका निर्वाह गरे । तर नेकपा एमालेले लोकतान्त्रिक संस्कार अनुसरण नै गर्न सकेन । अलि अलि रहेको वामपन्थी र लोकतान्त्रिक संस्कार पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकालमा पूर्णरूपमा खण्डित भएको छ ।
नेपालको सन्दर्भमा अध्ययन-अनुसन्धान र विश्लेषण गर्दा लोकतान्त्रिक संस्कारको विचलन र स्खलनको प्रमुख कारण हो, सत्ताकेन्द्रित राजनीति र सत्ताका लागि सिद्धान्त, संस्कार र विचारलाई तिलान्जली दिने प्रवृत्ति । जहिलेसम्म राजनीतिक दल र नेतृत्वमा यो प्रवृत्तिमा सुधार हुँदैन, त्यहिलेसम्म लोकतान्त्रिक संस्कार केवल मृगतृष्णा मात्रै हुनेछ ।
वास्तवमा नेपालको लोकतन्त्रको लोकतान्त्रीकरण, राजनीतिक दलहरूको रूपान्तरण, नेतृत्वको पुस्तान्तरण, पार्टीका नेता तथा कार्यकर्ताहरूको जनमुखीकरण र शासन प्रणालीको उत्तरदायीकरण नै आजको आवश्यकता हो । तर गर्ने कसले र सुरू कहाँ र कहिले गर्ने ? नेपाली राजनीतिको यक्षप्रश्न यही हो ।
मेरो विचारमा हामी अझ राम्रो लोकतन्त्र, प्रणाली, शासन, पार्टी र नेतृत्वको हकदार छौं। उन्नत लोकतान्त्रिक प्रणाली भएका बेलायत, अमेरिका, जर्मनी, अष्ट्रेलिया जस्ता पश्चिमा देशमा उच्च लोकतान्त्रिक संस्कार विकसित भएको पाइन्छ । त्यसैले जुनसुकै पार्टीको सरकार भए पनि राज्य सञ्चालन, लोकतान्त्रिक संस्कार, उत्तरदायित्व र जवाफदेहिताका दृष्टिले मौलिकरूपमा फरक पर्दैन ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि निरन्तर लोकतान्त्रिक संस्था र स्वतन्त्र तथा व्यावसायिक प्रेसमाथि निरन्तर आक्रमण गरेका थिए । तर लोकतान्त्रिक प्रणालीको संस्थागत विकास र राज्यका निकायदेखि नागरिकसम्ममा उच्च लोकतान्त्रिक संस्कार भएको कारणले उनले जतिसुकै आक्रमण गरेपनि मौलिक रूपमा असर गरेन ।
नेपालको सन्दर्भमा लोकतान्त्रिक पार्टी भएको नाताले लोकतान्त्रिक प्रणाली र संस्कारको अनुसरण नेपाली कांग्रेसले गर्नुपर्ने हो । तर नेपाली कांग्रेसमा आफैंभित्र लोकतान्त्रिक संस्कारको सङ्कट छ । यसको बारेमा आवाज पार्टीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरूले उठाउँदै आएका छन् ।
उनीहरूको प्रयास सकारात्मक भए पनि सार्थक हस्तक्षेप गर्न सकेका छैनन् । अब उनीहरूले देश, लोकतन्त्र र नेपाली कांग्रेसको भविष्यका लागि सार्थक हस्तक्षेप मात्रै होइन, निर्णायक संघर्ष गर्ने घडी आएको छ । के उनीहरूले सक्लान् ? प्रश्न गगन, विश्व, प्रदीपहरूतिर पनि तेर्सिएका छन् ।
उनीहरूले पार्टीमा आन्तरिक संघर्ष गर्दै छन् । तर विधानसम्मत रूपमा पार्टी संचालन नगर्ने, आन्तरिक लोकतन्त्र कमजोर र फरक मतलाई किनारा लगाउने अधिनायकवादी तथा सामन्तवादी प्रवृत्ति हावी भएपछि घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरू एमाले नै परित्याग गरी नयाँ वामपन्थी पार्टी निर्माणमा लागेका छन् । एमालेमा त नेपाली कांग्रेसमा जति पनि लोकतान्त्रिक स्पेस छैन ।
पार्टीको लोकतान्त्रीकरण, रुपान्तरण र पुस्तान्तरण नै अहिलेको आवश्यकता हो । सुसंस्कृत लोकतान्त्रिक संस्कार र अभ्यासको विकास गर्नु अपरिहार्य छ । अबको राजनीति भनेको सिद्धान्त, संस्कार, मूल्य, नैतिकता र डेलिभरीको राजनीति हो । जुन पार्टी र नेताले यो वास्तविकतालाई आत्मसात गर्छन्, ति सर्भाइभ गर्छन्, होइन भने सकिन्छन् ।
गगन, रामकुमारी, प्रदीपहरूले ६०६२/०६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनीहरू नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनको ‘आइकन’ नै हो । त्यसैले नेपाली जनता विशेषगरी युवा पुस्ताको आशा र अपेक्षा उनीहरूसँग बाँकी छ ।
यदि उनीहरू असफल भए भने उनीहरूसँगै एउटा पुस्ता असफल भएको मात्रै होइन, २०६२/०६३ को जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नै असफल भएको सन्देश जानेछ । युवा पुस्ता राजनीतिबाट मात्रै पलायन हुने छैन, देशबाट नै पलायन हुनेछ र देश डरलाग्दो भुमरीमा फस्नेछ । त्यसैले उनीहरूलाई असफल हुने छुट छैन ।
यो संस्कारको प्रारम्भ त राजनीतिक दल, दलका नेता र सदस्यबाट गरिनुपर्यो । लोकतान्त्रिक भएको नाताले नेपाली कांग्रेसबाट गर्नुपर्यो । राष्ट्रपति, सरकार, प्रधानमन्त्री, मन्त्री, सांसद, राज्यका निकायहरूबाट हुनुपर्यो ।
होइन भने जर्ज अर्वेलले ‘एनिमल फार्म’ मा उल्लेख गरे जस्तै ‘अल एनिमल्स आर इक्वाल बट सम एनिमल्स आर इक्वाएल द्यान अदर्स’ भन्ने कालजयी राजनीतिक व्यङ्ग्य नेपाली राजनीतिमा पनि चरितार्थ हुनेछ ।
(लोकतन्त्र संवाद केन्द्रद्वारा आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचारगोष्ठीमा व्यक्त विचारको सम्पादित अंश)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4