+
+

रुसी सदनमा राष्ट्रिय बाल नाटक महोत्सव, देशभरका २९ नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १३:१९
बाल नाटक महोत्सवको उद्घाटन गर्दै सांसद सोविता गौतम

काठमाडौं । शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय संघ नेपाल (ईसान)को सहकार्यमा सुरु भएको हो ।

नाटक महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सोविता गौतमले नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा १४औं राष्ट्रिय बाल नाटक महोत्सवका संयोजक नवराज बुढाथोकीले बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएकाले आफूहरु यसमा केन्द्रित भएको बताए ।

विगत १३ वर्षदेखि आयोजना गर्दै आएको बाल नाटकको १२औं र १३औं संस्करण कोरोना महामारीका कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो । महोत्सव नौ दिनसम्म सञ्चालन हुनेछ । महोत्वमा २९ वटा विभिन्न विधाका नाटक समावेश रहेको शैली थिएटरका प्रमुख सविन न्यौपानेले बताए ।

छनोट भएर मञ्चनमा लगिएका नाटकलाई मञ्चनकै अवधिमा विज्ञको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्यांकन गरी सात विधामा पुरस्कार दिइनेछ । अप्रतियोगी नाटकका लागि विशेष सम्मान पनि गरिनेछ । बाल नाटक महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरेर २९ वटा नाटक समावेश भएका छन् । काठमाडौं उपत्यका र बाहिरी जिल्लाबाट पनि नाटक समावेश भएको छ ।

महोत्सवमा सयौं विद्यार्थी, शिक्षक तथा अभिभावकलाई नाटकप्रति आकर्षित गराउने थिएटरको उद्देश्य छ । २०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटक महोत्सवमा पहिलो पटक नवराज बुढाथोकीद्वारा निर्देशित नाटक ‘सुनौलो माछा’ प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार रामबाबु सुवेदी, वरिष्ठ गीतकार रामेश श्रेष्ठ, वरिष्ठ रंगकर्मी निशा शर्मा, रुसी सदनका निर्देशक आन्तोन मस्लोव इसान, अध्यक्ष मदन रेग्मी, कवि तथा सहित्यकार महेश पौडेललगायतले बाल नाटक महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

नाटक महोत्सवको निर्णायकमा नाट्यकर्मी बाबुराम रेग्मी, किशोर अनुराग र कान्छी महर्जन छन् । माघ २९ गतेदेखि सुरु भएको महोत्सव फागुन ८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?