
काठमाडौं । मिस नेपाल २०२३ को ग्राण्ड फिनालेका जज (निर्णायक)हरु घोषणा गरिएको छ । फिनाले हुन तीन दिन बाँकी रहँदा द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको हो । यो सूचीमा पूर्वमिस नेपालहरु, उद्यमी-व्यवसायी, वकिल, पत्रकार, कलाकार, खेलाडीलगायत छन् ।
पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड-२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ-२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी जजको रुपमा हुनेछन् । फिनालेको होस्ट चाहिं मोडल सहाना बज्राचार्यले गर्नेछिन् ।
हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले आफूहरु फिनालेको अन्तिम तयारीमा जुटेको बताए । फिनालेमा दुईवटा मनोरञ्जन राउण्ड रहेको र १२ वटा ‘सबटाइटल कम्पिटिसन्स’को विजेता समेत घोषणा गर्ने कार्यक्रम छ । ‘यसपटक पनि कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारीमा छौं,’ कंसाकारले भने ।
यस वर्षदेखि हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, अष्ट्रेलिया ओसियाना, हङकङ र युरोपसँग पनि सहकार्य गरेको छ । सहकार्यअनुसार अर्को वर्षदेखि यी पेजेन्टका विजयीले पनि मापदण्ड पुगेमा मिस नेपालमा प्रतिस्पर्धा गर्न सक्नेछन् । मिस नेपाल-२०२३ को फिनाले आगामी शनिबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा हुँदैछ ।
प्रतिक्रिया 4