भर्खरै सम्पन्न नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सकिएको थाहा पाइयो। बैठकमा पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा प्रस्तुत ‘अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प’ प्रतिवेदनको ‘नयाँ शक्तिदेखि नेसपासम्म: आलोचनात्मक समीक्षा’ अन्तर्गतको खण्डमा अल्बर्ट आइन्स्टाइन र मार्टिन लुथर किङको भनाइ उद्धृत गर्दै केही प्रश्न सोधिएको रहेछ।
‘आज हाम्रो पार्टी आफ्नो पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको छ। हामी कहाँ जान हिंडेका थियौं, कहाँ पुग्यौं ? हामी वैकल्पिक राजनीतिक शक्ति हौं कि परम्परागत पुरानै पार्टीका लाचार छायाँ हौं ? किन हामीले पटक–पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौं ? हामी झुक्किएका हौं कि, ठगिएका हौं कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौं ? हाम्रो बाटो मात्र घुमेको हो कि गन्तव्य नै फेरिएको हो ? यसको निम्ति को कति जिम्मेवार छ? अब के गर्ने ? हामीसँग के–के विकल्प छन् ?’
माओवादीको ‘रातो घर’ छाडेयता बाबुरामको राजनीतिक यात्राको केही जवाफ यिनै प्रश्नहरूले दिन्छन्। बाँकी जवाफ पनि कि बाबुराम स्वयंले दिनसक्छन् कि उनका पछि लागिरहेकाहरूले।
हामी सर्वसाधारण भने एउटा निचोडमा पुगिसक्यौं— ‘बाबुरामका पछिल्ला प्रयासहरू असफल भए। यसको प्रमुख जिम्मेवार स्वयं भट्टराई नै हुन्।’
****
३० जेठ २०७३ मा दशरथ रंगशालामा करिब एकलाख सदस्य-समर्थक राखेर सर्वसाधारणदेखि बौद्धिक जगतको त्यो उत्साहबीच सुरु भएको भट्टराई नेतृत्वको नयाँ राजनीतिक कोर्स एक दशक नपुग्दै उठ्नै नसक्ने गरी लावारिस भएको छ।
एउटै साझा सपना देखेर एकत्रित भएका समाजका विभिन्न तप्काका समुदाय अहिले छिन्नभिन्न मात्र भएका छैनन्, आफ्नो ऊर्जाशील केही वर्ष खेर फालेकोमा अफसोचमा छन्।
‘माओवादी पार्टीले बाबुरामलाई कहिल्यै न्याय नगरेको’ साझा बुझाइ बोकेर बाबुरामको पछि लामबद्ध भएकाहरू अहिले ‘बाबुरामसँग राजनीतिक पार्टीको नेतृत्व गर्ने क्षमता नै रहेनछ’ भन्दै आत्म स्वीकारोक्ति जनाउँछन्।
यता, आफ्नो गल्ती नदेख्ने/देख्न नचाहने, आलोचना नसहने अनि एक्लै निर्णयमा पुग्न हतारिने बाबुरामको पुरानो स्वभाव हो भन्नेका बीच भर्खरै प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने आफ्ना कमजोरीलाई बुँदागत रूपमै राखेका छन्।
हतारमा पार्टी घोषणा गर्नु, अरुसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु, जनआन्दोलन अनि जनपरिचालनप्रति उदासीनतासँगै वस्तुगत प्रतिकूलताले पार्टी कमजोर र रक्षात्मक अवस्थामा पुगेको प्रतिवेदनको निष्कर्ष छ।
माओवादी केन्द्रदेखि नागरिक उन्मुक्ति पार्टीसम्मको चरित्र उतारिएको प्रतिवेदनमा आफैंतिर फर्किएका प्रश्नहरूको जवाफ कसरी आउनेछ भन्ने आगामी दिनमा थप प्रष्ट भइहाल्नेछ।
****
बाबुराम अहिले केन्द्रीय राजनीतिबाट लगभग रिङ आउट भइसके। गोरखाकै राजनीतिमा पनि उनी अब निर्णायक रहिरहेनन्। अझ, जसका लागि भनेर उनले आफूले जित्ने पक्कापक्की रहेको ठाउँ छोडेर संसदीय राजनीतिबाटै अलग बनेर आफ्ना पूर्व सहकर्मीलाई जिताउन दिनरात खटिए- उनै सहकर्मीले अहिले सत्ताको नेतृत्व गरेपछि गरेको व्यवहार उनी स्वयंलाई फिटिक्कै निको लागेको छैन।
उनी स्वीकार्छन्, ‘मसँग अंक नभएकाले अहिले मलाई खासै कसैले वास्ता गर्दैनन्।’ सरकारको न्यूनतम साझा कार्यक्रमदेखि बजेटसम्ममा आफूले महत्त्व दिएर भनेका एउटा कुरा पनि नराखिएकोमा उनी दुःखी मात्र छैनन्, वर्तमान राजनीतिक वातावरणमा निसास्सिएका जस्ता देखिन्छन्।
गठबन्धन उनको बाध्यता छ। छोडौं, आफ्नो एकल उपस्थिति देखाउन सम्भवै छैन। सँगै रहूँ, गठबन्धनले आफू नेतृत्वको पार्टीको अस्तित्व स्वीकार्न पटक्कै मान्दैन। राजनीति चटक्कै छोडिदिऊँ, आफूलाई दशकौंदेखि साथ दिएकाहरूको राजनीतिक भविष्यको व्यवस्थापनको चिन्ता। राजनीति गरिरहूँ, उनीहरूको व्यवस्थापन गर्न सकस!
आफ्नो राजनीतिक उत्तरार्धमा बडो विरोधाभासमा अल्झिएका छन् डा. भट्टराई। तर पनि, समाज-सञ्जालमा आउने सार्वजनिक महत्त्वका हरेक विषयमा उनी आफ्नो विचार राखिरहन्छन्। प्रियतावाद र वाहवाहीबाट उठेर आफ्ना मनका कुरा लेखिहाल्छन्। फलतः प्रतिक्रिया आइहाल्छ।
तत्कालिक घटनाक्रमलाई विश्लेषण गरेर लेखेका प्रत्येक विचारमा सधैंभर जनविद्रोह अनि शान्ति प्रक्रियापछिको कमजोर डेलिभरीप्रतिको आक्रोश झल्किन्छ। यस्तो लाग्छ, सामूहिक रूपमा आउने गाली बाबुराम एक्लैले लिइरहेछन्।
सार्वजनिक कार्यक्रममा भीडले खोजे जस्तै प्रस्तुत भइदिने अनि सामाजिक संजालमा विरलै प्रस्तुत हुने नेपाली राजनीतिको वर्तमान ‘उदाहरण’ रहेको बेला बाबुराम ‘अपवाद’ बनिरहेका छन् वर्षौँदेखि।
६ पटकसम्म प्रधानमन्त्री भइसकेको मान्छे सातौंपटक हुन मरिहत्ते गर्ने नेपाली राजनीतिक दृश्यअघि एकचोटि कार्यकारी भइसकेपछि फेरि भुइँबाटै नयाँ शिराबाट उठ्न खोजेका बाबुरामलाई खिसिटिउरी गर्ने जमातको त के कुरा!
आजको दिनमा पनि बाबुराम भट्टराई तुलनात्मक सक्षम र इमानदार नेतृत्व लाग्छन् धेरैलाई। मलाई पनि यस्तै लाग्छ। भुइँमान्छेसँगै रमाउने। भुइँमान्छेसँग हुँदा भुइँमान्छे झैं देखिने उनमा गुण छ।
उनका सहकर्मी प्रचण्ड लगायत कुनै सार्वजनिक कार्यक्रममा जाँदा भुइँमान्छेले परबाट हेर्न मात्र पाउने वर्तमान समयमा बाबुराम स्वयं भुइँमान्छेसँग अँगालो हाल्न पुग्छन्। बाबुरामले लगाउने लुगा, खाने खाना, सुत्ने ओछ्यान देख्दै गर्दा जो–कोहीको मनबाट आवाज आइहाल्छ, ‘बुढाको जिन्दगी नि लगभग हाम्रै जस्तो त रहेछ !’
देशको कार्यकारी भइसकेको एउटा मान्छेमा एउटा भुइँमान्छेले आफू पनि देख्दैछ भन्ने कुरा कति सुन्दर दृश्य हो नि हगि ? अति सामान्य देखिने यो व्यवहार नेपाली राजनीतिमा लोपोन्मुख भइसकेको छ।
माओवादी पार्टी शान्ति प्रक्रियामा आएको दुई दशक पुग्नै लाग्यो। मान्छेहरू अहिले पनि भन्छन्, ‘आर्थिक रूपमा पारदर्शी बाबुराम जत्तिको त्यो पार्टीमा अरु छैनन्।’ उनले सामाजिक संजालमा लेख्ने विचारमा अधिकांशले विरोध गरेतापनि उनलाई आज पनि तुलनात्मक रूपमा असल नेता भनेरै चिन्छन् मान्छेहरू।
उनको लेख्ने विचार र देखाउने व्यवहारमा मान्छेहरू प्रश्न गरिरहन्छन्! भट्टराईको बोली-व्यवहारमा आधारभूत रूपमै बडो विरोधाभास जो छन्। अझ, वैकल्पिक राजनीतिलाई नयाँ शिराबाट उठाउँछु भनेर त्यो तहको त्याग गरेको नेतृत्व किन पटक–पटक आफ्नो बोली र व्यवहारबीचको विरोधाभासलाई सुधार्न चाहन्न ?
नयाँ पनि भन्ने अनि उही पुरानो व्यवहारको नेतृत्व गरिरहने हो भने उनले आफ्नो राजनीतिक प्रतिवेदनको अन्तिम निष्कर्षमा लेखे हुन्छ– ‘हामी नयाँ होइनौं पुरानै पार्टीको लाचार छायाँ हौं!’
प्रश्नको रूपमा होइन स्वीकारोक्तिका रूपमा!
****
आफूले जीवनको आधा उमेर पसिना बगाएर बनाएको पार्टीलाई अकस्मात् ‘रातो स्टिकर टाँसेको घर’ भनेर हिंड्नेदेखि प्रचण्डलाई निर्वाचन क्षेत्र छोड्न सक्रिय राजनीतिबाट विश्राम लिनेसम्मको घटनाले उनको जीवनको अर्को एक राजनीतिक चक्र पूरा भएको छ।
माओवादी पार्टी त्याग्नुको औचित्य पुष्टि असफल कोही छ भने त्यो बाबुराम स्वयं हुन्। उनले अब आफ्नो प्रतिवेदनमा कर्मकाण्डी प्रश्नहरू होइन, जिम्मेवार जवाफ दिनुपर्छ। र, जवाफ दिन २३ पन्ने प्रतिवेदन असफल छ।
राजनीतिक प्रतिवेदनको अन्तिममा लेखिएको छ- ‘ग्रिक मिथकको पक्षी फिनिक्सले आफूले आफैंलाई आगो लगाएर नयाँ जन्म लिएझैं हामीले पनि गम्भीर आत्मसमीक्षाद्वारा आफूलाई रुपान्तरण गर्नैपर्नेछ।’ लेख्नैको लागि लेखिएको हो कि व्यवहारमा रुपान्तरण गर्न?
प्रतिवेदनको ‘नयाँ समाजवादी मोर्चा निर्माण’ खण्डमा कम्युनिस्ट शब्द स्वयं शब्दमा मात्र सीमित भएकाले माओवादी पार्टीसँग एकता गर्नुभन्दा समाजवादी धार बनाएर सबै कम्युनिस्ट शक्तिलाई एकत्रित गर्न सके बहुसंख्यक जनता गोलबद्ध हुने विचार व्यक्त गरिएको छ। यसो गर्न नसके आफ्नो छुट्टै अस्तित्व बनाउन थप मिहिनेत गर्ने पनि प्रतिवेदनमा उल्लेख छ।
प्रश्न यहींनेर छ- पार्टी बनाउन थप मिहिनेत गर्ने कोही बाँकी छन् नेसपामा ?
भावना, भीड अनि लोकप्रियताको पछि लाग्ने पछिल्लो पुस्ताको ‘राजनीतिक सिद्धान्त’ को अघि लावारिस भएको पार्टीलाई उठाउन कोही किन अघि सर्छ ? कोही किन सरोस् पनि!
यस पंक्तिकारसँग भएको एक छलफलमा डा. भट्टराईले अब कसरी अघि बढ्दा होला भन्ने प्रश्नमा मैले भनेको थिएँ- अब यो पार्टीलाई बनाउन तपाईंले अहिलेसम्म गरेको मिहिनेतको दशौं गुणा बढी खट्नुपर्नेछ। तपाइँसँगै खट्न तयार अरु हजारौं हुनुपर्नेछ।
आफ्नो राजनीतिक भविष्य कसरी सुरक्षित रहला भनेर दिनरात ‘जोखाना’ हेर्न समूहको बीच रहेर उनले कसरी आफ्नो राजनीतिक गोरेटो कोर्न सक्लान् ?
नयाँ शक्ति गठनताका जोडिएका गैरमाओवादी पंक्ति लगभग टाढिइसकेको, सँगै आएको माओवादी पंक्ति लगभग फर्किसकेको अनि वर्तमान यथार्थबीच नेसपा एक्लैको राजनीतिक बाटो अनिश्चित छ। नयाँ शक्ति गठन कार्यक्रममै एक लाख उपस्थित भएको नेपाली समाजले अघिल्लो संघीय चुनावमा दुई लाख मतसम्म पनि दिन मानेन।
त्यो विगतदेखि यो वर्तमान! स्वीकार्न गाह्रो भए पनि यथार्थ यही हो। भविष्य अझ पीडादायी हुनेछ।
****
बाबुरामले पाउनुपर्ने राजनीतिक उचाइ पाइसके। एउटा सामान्य किसान परिवारको फुच्चे देशकै प्रधानमन्त्री भए। अर्थशास्त्रका विज्ञ उनले आफू प्रधानमन्त्री हुँदा पनि एउटै बजेट ल्याउन पाएनन्/दिइएन। तर पनि, उनले आफ्नो कार्यक्षमता अर्थमन्त्री हुँदाको नौ महिनामै देखाए।
प्रचण्ड तीनपटक, शेरबहादुर छेटौं पटक भएको प्रधानमन्त्रीकालको भन्दा डा.भट्टराई एकैपटक १३ महिना भएको प्रधानमन्त्रीकालको बढी चर्चा हुने गर्छ आज पनि! कतिपय अझै भन्छन्, ‘यिनलाई कामै गर्न दिइएन। यिनले आफ्नो क्षमताको सही सदुपयोग गर्न पाएकै छैनन्।’
यथार्थ पनि लगभग यस्तै हो। तर, आजको धरातल के हो भने- देशको कार्यकारी पदमा पुग्ने वा कुनै हस्तक्षेपकारी निकायमा पुग्ने बाबुरामका लागि असम्भवप्रायः हो। नेपालको शक्ति संरचना हेर्दा त झन प्रष्टै छ।
बाबुरामले राजनीतिक शक्ति आर्जनमा थप असफल कसरत गर्नुभन्दा आफूले पनि पसिना बगाएको पार्टीलाई ‘समाजवादी’ बनाउन थप मिहिनेत गरे हुन्थ्यो।
यथार्थ के हो भने- प्रचण्ड-बाबुरामले साझा सपना देखाएर बहुसंख्यक नेपालीलाई एकत्रित गरे ! उत्पीडित- सीमान्तकृत समुदायलाई एउटा सपना देखाए। सपना पूरा गराउन आंशिक रूपमा सफल भए पनि। जनताको जीवनस्तरमा कुनै परिवर्तनको आभास नहुँदा अन्य परिवर्तन ओझेलमा पर्ने मात्र होइन जोखिममा पनि परिरहेका छन्।
आज जे छ, प्रचण्ड-बाबुरामले नेतृत्व गरेको आन्दोलनका कारण छ। आज जे छैन, यी दुवैले देखाएको गैरजिम्मेवारीले गर्दा छैन। दुवै सँगै हुँदा एउटा चरणमा पुगेको आन्दोलन दुवै भिन्दाभिन्दै हुँदा लावारिस बनेको यथार्थ दुवैले बुझ्नैपर्छ। बाबुरामले बुझिसके।
प्रचण्ड अझै सत्ताको रसातलमा व्यस्त छन् अनि तिनलाई आफ्नो जिन्दगी मात्र होइन अहिलेसम्मको आन्दोलन अस्तव्यस्त भइसकेको हेक्का छैन।
राजनीतिक जीवनको उत्तरार्धमा आइपुगेका दुवैले आफ्नो कमजोरी स्वीकार गरी अगाडिको बाटो तय गर्नसके दुवैको ‘सेफ ल्यान्डिङ’ हुनेथियो कि!
आफ्नो राजनीतिक जीवनको ‘सेफ ल्यान्डिङ’ गर्नुबाहेक प्रचण्डले बाँकी केही गर्लान् भन्ने आश स्वयं उनैको कार्यकर्तालाई पनि छैन। बाबुरामसँग काम देखाउने जमीन छैन।
****
बाबुरामले पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनको अन्तिममा लेखेका छन्– ‘केही समययता अन्योल र अकर्मण्यताबाट गुज्रिएका हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर नयाँ समाजवादी पार्टी बनाएरै छोड्नेछौं।’
साँच्चै, डा. भट्टराई स्वयंले कुन बाटो समाउलान् ?
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4