 
																			८ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले बहुतले अटोमेटिक पार्किङ सहितको भवन बनाउने भएको छ । सोमबार नगर विकास कोषसँग लगानी सम्झौता गर्दै उपमहानगरपालिकाले ३० करोड ४० लाख ४२ हजारमा बहुतले पार्किङ भवन निर्माण गर्ने जनाएको हो ।
बुटवल ९ नम्बर वडाको अहिले बसपार्क रहेको क्षेत्रभित्र सञ्चालन हुने पार्किङ भवनमा एक पटकमा १९५ कार अट्ने गरी प्रारम्भिक डिजाइन भएको छ ।
उपमहानगरले गरेको सम्झौता अनुसार पार्किङले ग्राउण्ड पार्किङ भन्दा सानो ठाउँमा पनि धेरै नै कारहरू पार्किङ गर्न सकिने छ ।
‘अनुपातको हिसाबमा सतही पार्किङ भन्दा करिब ५ गुणासम्म पार्किङ गर्न सकिन्छ, यसको संरचनाको माथिल्लो भाग फलामको हुन्छ र आवश्यकताको आधारमा यसलाई अन्यत्र सार्न सकिनेछ’ नगर विकास कोषले भनेको छ । बहुतले पार्किङ युनिट अटोमेटिक तरिकाले सञ्चालन हुने बताएको छ ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाका अनुसार यो पार्किङ पज्जल जस्तै हुनेछ । ‘जहाँ खाली हुन्छ, त्यहाँ नै कारहरु गएर पार्किङ हुने गर्दछ, खाली ठाउँमा अट्ने जति गाडी अटोमेटिक युनिटबाट जाने गर्दछ’ उनले भने ।
कोषका अनुसार नेपालमा पहिलो पटक यो शैलीको पार्किङ भवन बन्न लागेको हो । यस अगाडि भाटभटेनी सुपरमार्केटले बहुतले पार्किङ ल्याएता पनि यस्तो सिस्टमको नेपाल मै नयाँ हो ।
आयोजना निर्माणका लागि कुल ३० करोड ४० लाई ६५ प्रतिशत नगर विकास कोषले ऋण लगानी गर्छ भने ५ प्रतिशत अनुदान दिन्छ । बाँकी रहेको ३० प्रतिशत बुटवल उपमहानगरले व्यहोर्ने जनाएको छ ।
नगर विकास कोषमा निर्माण व्यवसायीसँग सम्झौता भएको मितिदेखि २ वर्षको सहुलियत अवधि सहित जम्मा २ वर्ष भित्र तिर्ने गरी वार्षिक ७.५ प्रतिशत ब्याज दरमा ऋण लिने बुटवलले जनाएको छ । ऋणको सावाँ ब्याज भुक्तानी प्रत्येक वर्ष असार वा पुस महिनाको मसान्तभित्र ६÷६ महिनामा कोषलाई बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
बुटवल बहुतले पार्किङ भवनको लागि न्यूनतम शुल्क समेत सम्झौतामा उल्लेख छ । एउटा कारलाई प्रतिघण्टा ८० रुपैयाँ र राति २५ रुपैयाँ प्रतिघण्टा तोकिएको छ ।
नवप्रवर्तन आयोजना : कोष
कोषका कार्यकारी निर्देशक सापकोटाले अन्य क्षेत्रमा लगानी गरिरहेको भएपनि बहुतले पार्किङ भवनको लागि भने पहलिो पटक ऋण लगानी गरेको बताए ।
‘हामीले बसपार्क, बजार, व्यावसायिक भवनहरुमा त लगानी गरिरहेकै छौं । तर, आधुनिक शैलीमा निर्माण हुने बहुतले भवन निर्माणका लागि पहिलो पटक लगानी गरेका हौं ।’
सापकोटाले कोषले बहुतले पार्किङ भवन, रिफ्रेसमेन्ट सेन्टर र शहर छिर्नु अगाडि गाडी धुने क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको बताए । उनले नगरपालिकाहरुलाई सेयर होल्डर बनाउने नीति लिएको बताए । उनले नेपालमै पहिलो पटक र कोषले पनि पहिलोपटक यस्तो सम्झौता गरेको बताए ।
बुटवल उपमहानगरका मेयर खिलराज पाण्डेले पार्किङ भवनले बजार क्षेत्रलाई राहत दिने बताए । ‘अहिले बुटवलको प्रमुख समस्या भनको पार्किङ गर्ने स्थानको अभाव हो । अब हामी यो बेलैमा सकेर व्यावसायिक रुपमा अगाडि बढ्छौं’ पाण्डेले भने ।
स्थानीय तहहरुलाई खरिद ऐनको कारण समस्या भइरहेको भन्दै व्यावसायिक काम गर्न व्यावसायिक ऐन भए सजिलो हुने उनले बताए । बुटवल नगरपालिकासँग नगर विकास कोषलाई तिर्न क्षमता रहेको भन्दै ऋण लगानी गरे अझै अन्य संरचना थप्ने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले १५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको बताए । लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम सुरु गर्ने उनले बताए ।
सात तले पार्किङ भवनमा एकसाथ करिब २ सय हलुका सवारी पार्किङ गर्न सकिने बुटवल उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए ।
‘सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफैं स्वचालित मेसिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउने प्रविधिसहित भवन बन्छ’, श्रेष्ठले भने । आधुनिक प्रविधिको प्रयोग गरी गाडी पार्किङ गरिने उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4