+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सलोनको प्रशंसामा केकीले भनिन्- ऊ मेरो चाइल्ड स्टार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १३:१७

काठमाडौं । सहकार्यको हिसाबले केकी अधिकारी र सलोन बस्नेतको लागि ‘जय हो’ फिल्म पहिलो हो । फिल्मको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यी दुई कलाकारले पहिलोपटक स्क्रिन–सेयर गर्दाको अनुभव बाँडे ।

लेदर ज्याकेट र हेयर स्टाइलमा आकर्षक देखिएकी केकीले ‘चाइल्ड स्टार’ हुँदादेखि नै आफूले सलोनलाई चिनेको बताइन् । सार्वजनिक गीतमा केकी र सलोनले रोमान्टिक र इन्टिमेट दृश्य पनि दिएका छन् ।

‘ऊसँग पहिलोपटक काम गरेजस्तो अनुभव भएन । सानैदेखि उसलाई टिभीमा देखेको हो । ऊ राजेश हमालसँगको एक फिल्ममा बाल कलाकारको रुपमा थियो । पहिलो अन्तर्वार्ताले नै मलाई उसप्रति आकर्षित गरेको थियो । मेरा लागि ऊ चाइल्ड स्टार हो,’ केकीले पत्रकार सम्मेलनमा भनिन् ।

सलोनले पनि केकीमा व्यासायिकताको गुण रहेको भन्दै प्रशंसा गरे । ‘छायांकन अवधिभर मैले केकीबाट धेरै कुरा सिकेको छु । पात्रसँग कसरी काम गर्ने भन्ने तरिका उनमा छ,’ जोमसोममा फिल्मको सुटिङ गर्दा बेलाको अनुभव सेयर गर्दै सलोनले भने, ‘उहाँमा व्यावसायिकता मैले पाएको छु ।’

गायक सागर आलेले गीतभन्दा भिडियो राम्रो बनेको बताए । निर्देशक टेक पौरखी राईले फिल्मको निर्देशनमा आफूलाई बस्नेत परिवारले हस्तक्षेप नगरेको बताए । बस्नेत परिवारले बनाउने फिल्ममा निर्देशक छायामा पर्छन् रे नि भनेर सोधिएको जिज्ञासामा उनले भने, ‘छायामा परेजस्तो लागेको छैन ।’ सहज वातावरणमा काम गरेको अनुभव उनले सुनाए ।

‘राजा रानी’ बोलको यो गीतमा सागर आले र सदीक्षा कट्टेलले स्वर दिएका छन् । संगीत र शब्द पनि सागरकै छ । भदौ ८ गते प्रदर्शनको तयारीमा रहेको फिल्ममा सलोन र केकीबाहेक निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ लगायतको प्रमुख भूमिका छ ।

शोभित बस्नेतको प्रस्तुति रहेको फिल्मलाई राज अधिकारी र सुरज सरकारले निर्माण गरेका हुन् । यो फिल्म नेपालसहित अष्ट्रेलियामा पनि सँगै रिलिज हुने भएको छ । त्यहाँका ४० हलमा फिल्म प्रदर्शनको तयारी छ । फिल्म प्रवर्द्धनका लागि सलोन शुक्रबार अष्ट्रेलिया उडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?