
१७ साउन, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ का महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् ।
‘आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले स्थानीयलाई चप्पल उत्पादन सम्बन्धी तालिम दिएको थियो । गढवा गाउँपालिका उद्यम विकास शाखाले आयोजना गरेको तालिमबाट सिप सिकेर चप्पल उत्पादन गर्न थालेको सिर्जनशील लघु उद्यमशील समूहकी सचिव संगिता चौधरीले जानकारी दिइन् । ‘पालिकाले तालिम आयोजना गरिदियो अब त सजिलै हरेक डिजाइनका चप्पल बनाउन सक्ने भयौं’ सचिव चौधरीले भनिन् ।
कोठरीको हरियाली बाल उद्यान पार्कमा आयोजना भएको एक दिने बजारीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय महिलाहरुले उत्पादन गरेका चप्पलको बजारीकरणका लागि सहजीकरण गरिदिने बचन दिए । गाउँपालिकालाई समृद्ध बनाउन गाउँपालिकावासीले आफ्नो क्षमता अनुसार केही न केही व्यापार व्यवसाय गर्नैपर्ने बताउँदै उनले त्यसका लागि हरेकखालको सहयोग गर्न पालिका प्रतिबद्ध रहेको बताए ।
गढवा गाउँपालिकाले स्थानीय महिलाहरुलाई साबुन उत्पादनको पनि तालिम दिएको छ ।
प्रतिक्रिया 4