 
																			३ भदौ, पोखरा । ज्यामी काम गर्दै आएकी सुनमाया दर्जी (नाम परिवर्तन) ले आफूले कमाएको केही अंश पोखरा पृथ्वीचोकमा रहेको बलिदानी उपभोक्ता सहकारीमा नियमित बचत गर्दै आएकी थिइन् । ६ वर्षदेखि नियमित जम्मा गरेको बचत मात्रै ३ लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ ।
खाईनखाई जम्मा गरेको रकम निकाल्न गत चैतमा सहकारीमा गइन्, तर सहकारीले दिन मानेन । ‘अहिले अलिकति समस्या आएको छ । केही दिनपछि आउनुस्, हामी दिन्छौं भनेर पठाउनुभयो’, उनले सुनाइन्, ‘हेर्नुस् न, भदौ लाग्दा समेत दिएका छैनन् ।’
आफूले जम्मा गरेको पैसा नपाउँदा घर–व्यवहार नै बिग्रिसकेको दर्जीले सुनाइन् । सबै रकम एकै पटक फिर्ता नगरे पनि २/४ हजार रुपैयाँ दिन्छन् कि भन्ने आशमा उनी आइतबार पनि पृथ्वीचोकको सहकारीमा पुगेकी थिइन् ।
उनलाई एकातिर आफूले खाईनखाई राखेको रकम फिर्ता नपाउँदाको दुख छ भने अर्कातिर त्यही विषयमा विवाद हुँदा घरबारै बिग्रिन पुगेको तीतो नियति ! ‘यही कुराले घरमा किचकिच हुन्छ, बुढासँग झगडा परेर बसिखानु छैन’, दर्जीले सुनाइन् ।
****
पोखराको हङकङ बजारमा व्यापार गर्दै आएकी माया क्षेत्रीले पनि बलिदानी सहकारीमै नियमित बचत गर्दै आएकी थिइन् । ३ वर्षदेखि नियमित बचत गर्दै आएकी उनलाई सहकारीका कर्मचारीले लोभ्याए, ‘अब १ लाख थपेर फिक्स डिपोजिट (मुद्दती खातामा राख्ने) गर्नुस् १५ प्रतिशत ब्याज आउँछ ।’ उनले बैंकमा रहेको १ लाख रुपैयाँ झिकेर सहकारीमै जम्मा गरिन् । यो बचत २ चैतमा परिपक्व भयो, तर सहकारीले रकम फिर्ता दिन मानेन ।
‘सबै गरेर ४ लाख ७५ हजार रुपैयाँ लिन बाँकी छ । कति पटक धाएँ–धाएँ, पैसा फिर्ता नै दिँदैनन्’, आइतबार सहकारीको बाहिर भेटिएकी क्षेत्रीले दुखेसो पोखिन्, ‘यतिबेला दिन्छौं, उतिबेला दिन्छौं भनेर झुलाएको झुलायै छन् ।’ बचत रकम फिर्ता नपाउँदा घरगृहस्थी नै बिग्रिने अवस्थामा पुगिसकेको सुनाइन् ।
****
बलिदानीमै बचत गरेका सुनिल चौलागाईंले २१ लाख रुपैयाँभन्दा बढी फिर्ता पाउन बाँकी रहेको सुनाए । सुरुसुरुमा बचत फिर्ता माग्दा जग्गा बेचेर तिर्ने बताएका सञ्चालक अजय श्रेष्ठ आजभोलि सम्पर्कमै नआएको उनले सुनाए ।
‘पहिले रकम फिर्ता माग्दा इटहरी, दमौली, पोखरा कताकता जग्गा छ, त्यो बेचेर दिन्छौं भन्थे । जग्गाहरु पनि अरुकै नाममा हुने रहेछ’ चौलागाईंले भने, ‘२० लाखको जग्गालाई ४० लाख भनेर पैसा थप्न भन्छन् । हामीसँग कहाँबाट हुन्छ त्यत्रो पैसा ?’
सहकारी सञ्चालक श्रेष्ठ सम्पर्कविहीन भएपछि केही समयअघि पीडितहरु भक्तपुरस्थित निवास पुगेका थिए । ‘अति भएपछि हामीहरु मिलेर पोखरा महानगरमा पनि पुगेका थियौं । त्यतिबेला अध्यक्ष पनि आउनुभएको थियो’, अर्का एक पीडितले भने, ‘त्यो दिन फिर्ता गर्छु भनेर निस्किएको मान्छे सम्पर्कमै आएनन् ।’
सहकारी परिसरमा भेटिएका सागर थापाले पनि आफ्नो ३५ लाख फिर्ता गर्नुको साटो जग्गा देखाउँदै आलटाल गर्न थालेपछि आजित भएको गुनासो गरे । ‘विदेशमा घोटिएर कमाएर पठाएको पैसा श्रीमतीले सहकारीमा जम्मा गरेकी थिइन्’ थापाले अनलाइनखबरसँग भने, ‘अब त्यो पनि नआउला जस्तो भयो ।’
सहकारीमा श्रेष्ठ एक्लो !
पीडितका अनुसार बलिदानी सहकारीको सबै काम अध्यक्षको हैसियतमा अजय श्रेष्ठले नै गर्दै आएका थिए ।
सहकारीका म्यानेजर राजन लम्सालले पनि सहकारीको सञ्चालक समिति निष्क्रिय रहेको स्वीकार गरेका छन् । ‘सञ्चालक समिति नै नभएको होइन, तर कामै गर्दैन’, उनले अनलाइनखबरसँग भने, ‘सबै काम हामी र अध्यक्षज्यूले गर्ने हो ।’
उनका अनुसार सहकारीमा २ हजारभन्दा बढी बचतकर्ताको ८ करोड रुपैयाँभन्दा बढी फिर्ता गर्न बाँकी छ । बचतकर्ताको रकम फिर्ता गर्न जग्गा बिक्री प्रक्रिया थालिसकेको भन्दै उनले भने, ‘अध्यक्षज्यूको जग्गा रोक्का भइसकेको छ । त्यो बिक्री भइसकेपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुहुन्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4