
काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीको एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आगामी भदौ १५ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।
‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ नाम दिइएको एकल साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । जहाँ रायमाझीले आफूले सिर्जना गरेका नयाँ र पुराना गीत प्रस्तुत गर्नेछन् । सोही कार्यक्रमबाट दशैंमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ को प्रचारप्रसार पनि सुरु हुन लागेको जानकारी दिइयो ।
प्रतिष्ठानले पहिलोपटक संस्थागत रुपमा यस्तो कार्यक्रम गर्न लागेको हो । कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यसवर्षबाट सांगीतिक साँझ कार्यक्रमको सुरुवात गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगीतकार रायमाझीले आफ्नो प्रस्तुतिसँगै एकल साँझको अभियान थालनी हुनु अहोभाग्य रहेको बताए । यो एकल साँझ आफ्नो करिअरमै पहिलोपटक भएकाले चुनौती र अवसर दुवै भएको उनको भनाइ छ । दिउँसो १ देखि बेलुका ७ बजेसम्म कार्यक्रम आयोजना हुने बताइएको छ ।
प्रज्ञा प्रतिष्ठानभित्र भीआईपी दर्शकलाई प्रत्यक्ष हेर्ने व्यवस्था हुने र सर्वसाधारणका लागि बाहिर चौरमा स्क्रिनमार्फत हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । पाल्पाको माथागढी गाउँपालिका-४ मा सालमा जन्मिएका रायमाझी लोकगीत क्षेत्रमा अझै पनि सक्रिय छन् । पछिल्लो समय उनी फिल्म निर्देशनमा समेत व्यस्त छन् ।
प्रतिक्रिया 4