 
																			२० भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ ।
बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो ।
समिति सभापति राजकिशोर यादवले बिहीबारको बैठमा यी सबै विषयमा जानकारी लिने हिसाबले मन्त्री साउदलाई छलफलमा बोलाइएको जानकारी दिए ।
‘विशेष गरी प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभाका लागि हुने अमेरिका भ्रमण, त्यसपछि हुने चीनको भ्रमण र पूर्ण परराष्ट्रमन्त्री तथा वर्तमान परराष्ट्रमन्त्रीले नेपालको नक्साका विषयमा दिएको अभिव्यक्तिका विषयमा छलफल गर्न समितिमा बोलाउने निर्णय भएको हो’, सभापति यादवले अनलाइनखबरसँग भने, ‘तर पछिल्लो समय कूटनीतिक नियोगका प्रमुखबाटै गैरकूटनीतिक हिसाबले सार्वजनिक भएका अभिव्यक्तिका बारेमा जानकारी लिने विषय पनि थप भएको छ ।’
पछिल्लो समय चीनले आफ्नो नयाँ नक्सा जारी गर्ने क्रममा नेपाले संसदबाट संसोधन गरेको नयाँ नक्सामा राखिएको भूभागलाई हटाएर आफ्नो नक्सा जारी गरेपछि त्यसको विरोध भइरहेको छ ।
तत्कालीन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको संसदबाट नयाँ नक्सा जारी भएलगत्तै सबै मुलुकलाई जानकारी गराएको बताएका थिए । तर वर्तमान परराष्ट्रमन्त्री साउदले मन्त्रालयको सम्बन्धित शाखामा बुझ्दा उक्त जानकारी गराएको नपाइएको बताएका थिए ।
यस्तै गएको शनिबार चिनियाँ राजदूत छेन सोङले अर्को छिमेकी मुलुक भारतसँगको व्यापारिक सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादास्पद भइरहेको छ । त्यस विषयमा पनि समितिमा बोलाएर परराष्ट्र मन्त्रालयसँग जानकारी लिने संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले निर्णय गरेको हो । बिहीबार समितिको बैठक बस्दैछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4