
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना पार्टीहरु खराब हुन् भनेर कृत्रिम भाष्य तयार पार्ने कोसिस भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमण सामान्य घटना नभएको बताए । उनले यसबारे सत्यतथ्य सहित आगामी बैठकमा जानकारी गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँग माग गरे ।
कांग्रेस प्रमुख सचेतक लेखकले अहिले जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छैनन् भन्ने कृत्रिम भाष्य तयार पार्ने प्रयास भइरहेको समेत बताए । ‘आज पुराना पार्टी खराब हुन्, केही पनि होइनन् भन्ने कृत्रिम भाष्य तयार पार्ने कोसिस भइरहेको छ । यो नेपाली जनताको भावना र भाष्य होइन’ उनले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्ने पूर्व तयारीका रुपमा नियोजित रुपले केही मानिसहरुले यो भाष्य तयार गर्दैछन् ।’
डेढ वर्षअघि स्थानीय निर्वाचनमा बहुसंख्यक गणतन्त्र पक्षधर मानिसहरु जितेको र ९ महिना पहिले भएको संसद र प्रदेशको निर्वाचनमा ९५ प्रतिशत गणतन्त्र पक्ष जितेको भन्दै उनले संघीय लोकतान्त्रिक व्यवस्थाबाट विचलित नहुने बताए ।
लोकतन्त्र आजको दिनमा उत्कृष्ट व्यवस्था भएको भन्दै उनले यसमा कुनै व्यत्तिको केही कमजोरी भए व्यवस्थाले नै ठीक पार्ने समेत दाबी गरे ।
लोकतन्त्रमा आफ्ना विचार शान्तिपूर्ण ढंगले राख्न पाइने, तर असहमत हुने विचारलाई निषेध गर्न हत्याहिंसा विकल्प हुन नसक्ने उनले बताए ।
कांग्रेस प्रमुख सचेतक लेखकले अघि भने, ‘कहिले भौतिक आक्रमण भइरहेको छ । कहिले मान्छेका जिब्रोले खुकुरीका रुपमा व्यवस्थामाथि आक्रमण भइरहेको छ । व्यवस्थालाई कमजोर बनाउन उठेका खुकुरीहरुलाई राम्रोसँग चिन्नुपर्छ ।’
उनले सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिको हातमा पुगेको खुकुरी कसले पुर्याएको हो ? यहीं रोकिन्छ कि बढ्छ भन्नेमा दलहरु सचेत हुनुपर्ने बताए । तर खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गर्दै प्रमुख सचेतक लेखकले भने, ‘कांग्रेस लोकतन्त्रका पक्षमा अविचलित रुपमा उभिएको पर्वत हो । पहाडसँग जुध्ने टाउकाहरु फुट्छन्, पहाड फुट्दैनन् ।’
प्रतिक्रिया 4