 
																			१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान दिवसका दिन गरिएको कैद माफी मिनाहाका विषयमा उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सार्वजनिक रुपमा विरोध भएको सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने बताएका हुन् ।’सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ’ उनले भने, ‘निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ’ उनले भने ।
सरकारले संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरेर कैद माफी मिनाहा दिएको भन्दै महामन्त्री थापाले सभामुखले अग्रसरता लिएर ती सबै कानुनलाई संसदमा ल्याएर कैद छुटका विषयमा एकीकृत र छिद्र नहुने गरी कानुन बनाउनुपर्ने बताए ।
हाल मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन, कारागार ऐन र सर्वोच्च अदालतका विभिन्न फैसलालाई आधार बनाएर कैद छुटको निर्णय हुने गरेको थापाले बताए ।
तर सरकारले यी कानुन र अदालतको निर्णयमध्ये जुन कानुनमा टेक्दा सजाय छुट दिन सकिन्छ त्यसैमा टेकेर निर्णय गरेको भन्दै यसरी भइरहेको कानुनको दुरुपयोग रोक्नुपर्ने बताएका हुन् ।
‘हामीले बनाएको कानुनको स्वेच्छाचारी प्रयोग भएकोले सबै कानुन फिर्ता ल्याएर त्यसलाई एउटै कानुन बनाउनुपर्छ’ थापाले भने, ‘यस्तो होस् कि जसले गर्दा भोलि गएर कसैले अपब्याख्या गर्न नसकोस् ।’
अहिले संसदले कानुन संशोधन नगर्ने हो भने आगामी फागुन ७ मा पनि सरकारले कानुनको अपब्याख्या गरेर कैद छुट दिन सक्ने थापाले बताए ।
२०७५ सालमा मुलुकी फौजदारी संहिता र मुलुकी फौजदारी कसुर तथ सजाय निर्धारण ऐन जारी भएयता हालसम्म सरकारले ६ हजार ७४६ जना कैदीबन्दीको कैद मिनाहा गरेको थापाले बताए ।
यसमा अहिलेको सरकार मात्र नभई २०७५ यता सबै सरकारले कानुनको दुरुपयोग गरेको उनको भनाइ छ ।
गत संविधान दिवसको दिन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको कैद माफी मिनाहा गरेका थिए । यसरी माफी पाउनेमा दिनदहाडै खुकुरी प्रहार गरेर व्यक्ति हत्या गर्ने योगराज ढकाल रिगलसमेत थिए ।
उनको कैद माफीको विषयमा अहिले सर्वसाधारणदेखि सांसदसम्मले विरोध गरेका छन् । महामन्त्री थापाले यो विरोध गर्नैपर्ने घटना भएको पनि बताए ।
‘बदनियतका साथ भएको यो निर्णय गलत छ, यसको विरोध स्वभाविक छ, वान्छनीय छ, यसको विरोध हुन्छ, हामी विरोध गर्छौं’ उनले भने ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा प्रधनमन्त्री हुँदा अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका एक पार्टीका नेता र बबरमहल बम काण्डमा सजाय पाएको व्यक्ति छुटेको थापाले बताए । त्यतिबेला आफूहरु प्रतिपक्षमा रहेको भन्दै थापाले भने ‘मैले कुरा उठाउँदा संसदमा माइक काटिएको थियो ।’
कसको कैद माफी मिनाहाको सिफारिस गर्ने र नगर्ने भन्ने विषयमा जेल प्रशासनमा पैसाको चलखेल रहेको हुने गरेको पनि सांसद थापाले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4