मानिसहरुले हजारौं वर्षदेखि मानव शरीरको जटिलताको गुत्थी सुल्झाउने प्रयत्न गर्दै आएका छन् । तर छाला र मांशपेशीभित्र लुकेको मानव शरीरको रहस्य अझै चिकित्सा विज्ञानका लागि चुनौती नै रहेको छ । मानव शरीरका नउधिनिएका अनेक रहस्यहरुले हाम्रो ज्ञानको सीमितता उजागर गर्छ ।
मानव शरीरका १३ अंगप्रणालीमा ६० हजार भन्दा बढी प्रकारले समस्या आउन सक्छन् । यी अनेकखाले समस्या वा रोगका अवस्थालाई सम्बोधन गर्न चार हजार उपचार प्रक्रिया तथा शल्यक्रिया विधि अनि ६ हजारभन्दा बढी औषधिहरु प्रयोग गर्ने गरिएका छन् ।
विभिन्न प्रकारका रोग तथा तिनको उपचारप्रति मानव शरीरको प्रतिक्रिया कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न सकिंदैन । तसर्थ बिरामीको उपचारमा डाक्टरहरुको असल मनसाय एवं इमानदार प्रयासका बाबजुद कहिलेकाहीं विषम परिस्थिति उत्पन्न हुन्छ । उपचारका क्रममा आउने यस्ता जटिल अवस्था चिकित्सकको काबुबाहिरका पनि हुन सक्छन् । जसले अनपेक्षित वा प्रतिकूल परिणामहरू निम्त्याउन सक्छ ।
रोगलाई जटिल अवस्थामा पुग्नबाट रोक्न चिकित्सकले हरसम्भव प्रयत्न गरे पनि कहिलेकाहीं परिस्थिति यस्तै हुनेछ भन्ने आँकलन गर्न सकिंदैन । जसकारण कुनै पनि बिरामीमा कुनै पनि बेला समस्या देखिन सक्छ । गणितमा झैं चिकित्सा विज्ञानमा दुई जोड दुई चार हुँदैन । बिरामी र आफन्तहरुले चिकित्सकले उपचार गर्दा प्रयोग गर्ने औषधिले चमत्कार नभएर असर मात्र गर्छ भन्ने कुरा नबुझ्दा असमझदारी उत्पन्न भई तनावको अवस्थासमेत सिर्जना हुने गरेका थुप्रै उदाहरण छन् ।
जटिल अवस्थामा हुने चिकित्सकीय त्रुटि नितान्त भिन्न हुन्छन् । यसमा अस्पतालका नीति, प्रणालीका कारण पनि कमजोरीहरू देखा पर्न सक्छन् । जस्तै मानव संशाधनमा कमी, अविश्राम ड्युटीका कारण थकान, अपर्याप्त परीक्षण सामग्री र अपुग उपकरण, सरसफाइको अभाव, डाक्टर र नर्स स्वयंका क्षमता तथा अनुशासनमा प्रश्न सम्भाव्य त्रुटिका कारण हुन् । यद्यपि, यी विषय व्यवस्थापकीय नियन्त्रण बाहिरका भने होइनन् ।
सम्बन्धित सरकारी निकायले यी विषयलाई गम्भीर रुपमा लिएर कडा निगरानी गरे यस्ता त्रुटिहरु न्यूनीकरण गर्न सकिन्छ । जस्तै, बिरामीको सुरक्षा मापदण्ड पूरा गर्न सक्ने स्वास्थ्य संस्थाहरूलाई मात्र इजाजत दिने, तिनीहरूमाथि कडा निगरानी राख्ने, बिरामीको निरन्तर सुरक्षा अनुगमन निम्ति अस्पताल स्वयंले पनि दक्ष एवं समर्पित कर्मचारी रहने गरी गुणस्तरमापन विभाग स्थापना गर्ने आदि ।
मदिरा पिएर सवारी हाँक्नु कानुनत: अपराध हो । यदि चालकले मदिराको नशामा कुनै दुर्घटना गर्छ भने त्यसलाई गम्भीर अपराधका रूपमा लिइन्छ । कुनै पनि दुर्घटनामा परेका चोटग्रस्त बिरामीलाई पहिले लैजाने भनेको अस्पतालको इमर्जेन्सी वार्ड हो । जहाँ उसको आपतकालीन उपचारका निम्ति डाक्टर, नर्स र प्यारामेडिकल स्टाफ दिलोज्यानले जुट्छन् । तर सबै बिरामीको उपचार अपेक्षा गरे झैं सफल हुँदैन । कहिलेकाहीं यसप्रकारका बिरामीलाई डाक्टरले अनेक प्रयास गर्दा पनि बचाउन सकिंदैन । यस्तो अवस्थामा अस्पताल परिसरमा हूल जम्मा भई डाक्टरको लापरवाही भन्दै हुलहुज्जत गर्ने प्रवृत्ति बढ्दै गएको छ । मदिराको नशामा सवारी चलाउने र सोही कारण भएको दुर्घटनामा परेर क्षतविक्षत् अवस्थामा अस्पतालमा ल्याइएको मानिसलाई बचाउन खोज्ने डाक्टर माथि गरिने भौतिक हमला र दुर्व्यवहार अक्षम्य छ । कस्तो विडम्बना, आफ्नो बिरामीको लापरवाही बिर्सने तर बचाउन प्रयास गरेका डाक्टरको लापरवाही देख्ने ?
म अर्को उदाहरण पनि यहाँ उल्लेख गर्न सान्दर्भिक हुन्छ । छतमा एक्लै खेल्दै गरेको कुनै बालक अचानक खस्छ र उपचारको क्रममा उसको मृत्यु हुन्छ । यस्तो अवस्थामा कसलाई दोषको भागीदार बनाइन्छ ? त्यो दोष पनि अस्पतालमाथि नै थुपारिन्छ, जबकि जिम्मेवार त ती व्यक्ति अभिभावक हुनुपर्ने हो, जसले साना नानीबाबुलाई खतरायुक्त ठाउँमा एक्लै छाडिदिन्छन् ।
डाक्टरले भरमग्दुर प्रयत्न गर्दागर्दै पनि बिरामीको मृत्यु भएमा चाहिं के गर्ने ? यसबारे हामीले कहिल्यै संयमतापूर्वक बहस र विवेचना गरेका छौं त ? छैनौं । यहाँ डाक्टरले गल्ती नै गर्दैनन् वा अस्पतालमा हेलचेक्र्याइँ नै हुँदैन भन्न खोजिएको होइन । जुनसुकै पेसामा मानिसबाट गल्ती हुन्छ । नियतवश भएको गल्ती क्षम्य हुँदैन । न्युयोर्क युनिभर्सिटीको इन्स्टिच्युट अफ मेडिसिनले सन् २०१३ मा एउटा तथ्यांक प्रकाशित गरेको थियो, जसमा अमेरिकामा मुटुरोग र क्यान्सरपछि चिकित्सकीय त्रुटि बिरामीको मृत्युको तेस्रो मुख्य कारण रहेको खुलासा गरिएको थियो ।
चिकित्सकीय त्रुटिकै कारण अमेरिकामा प्रतिवर्ष चार लाख ४० हजार मानिसले मृत्युवरण गर्ने गरेको कुरा उक्त अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनको तथ्यांकलाई आधार मान्दा प्रत्येक घण्टा ५० भन्दा बढी बिरामीको मृत्यु चिकित्सकीय त्रुटिबाट हुने गरेको देखिन्छ । यी तथ्यले मौजुदा स्वास्थ्य सेवा प्रणालीमा अविलम्ब सुधार र निगरानी बढाइनुपर्ने देखाएको छ ।
यति भन्दाभन्दै पनि जटिलता र चिकित्सकीय त्रुटिबीच विभाजन रेखा कोरिनु चाहिं जरूरी छ । जसको जिम्मेवारी विज्ञहरूको टोलीलाई दिइनुपर्छ, न कि कानुन हातमा लिन खोज्ने हुलहुज्जतकारी समूहलाई । चिकित्सकीय त्रुटि देखिएमा त्यसमा सुधार, दण्ड र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ । तर जटिलता वा विषम परिस्थितिमा कुनै सम्झौता वा क्षमायाचना हुन सक्दैन । किनकि त्यो न त्रुटि हो न त लापरवाही । सबैभन्दा गम्भीर कुरा चाहिं स्वास्थ्य क्षेत्रमा हुने गरेको हिंसा हो । यसबाट डाक्टर र नर्सहरूको मनोबल घट्दै गरेको छ । यस्तो अवस्थामा अन्ततः उनीहरु पलायन हुन बाध्य हुनेछन् ।
डाक्टर र नर्सको उद्देश्य कसैलाई हानि पुर्याउने कदापि हुँदैन । आफूले उपचार गरिरहेको बिरामीले पूर्ण स्वास्थ्यलाभ गर्दाको भन्दा ठूलो खुसीको क्षण उनीहरूका निम्ति कुनै हुँदैन । आफ्नो समर्पणको श्रेय वा जसप्रति निरपेक्ष रहँदै उनीहरूले हजारौं जीवन बचाएका हुन्छन् । विडम्बना त के भने ती हजारौं सफल उपचारमध्ये एउटा जटिल मामिला भाइरल बनिदिन्छ, जसकारण उनीहरू गालीगलौज र दुर्व्यवहारको भागीदार बन्न पुग्छन् । डाक्टरलाई भगवानको रूपमा नहेरौं, किनकि उनीहरू भगवान होइनन् उनीहरू दिलोज्यानले बिरामीको उपचारमा समर्पित हुन्छन् । बिरामीले शीघ्र स्वास्थ्य लाभ गरून् भनेर मनैदेखि प्रार्थना गर्छन् ।
आफूलाई उपचार गर्ने डाक्टर तथा अस्पताल छान्ने अधिकार बिरामीमा हुन्छ । त्यो कुरा उसले डाक्टरको अध्ययन, दक्षता र अनुभव अनि अस्पतालको रेकर्ड हेरेर गर्नुपर्छ । यसैगरी डाक्टरले पनि रोग, उपचार विधि, सम्भाव्य जटिलता र रोग निदानबारे बिरामी र उसका परिवारका सदस्यलाई विस्तृत परामर्श दिनु जरुरी हुन्छ ।
बिरामी र उसका आफन्तले डाक्टरसँग आफ्ना तर्कसंगत प्रश्न वा स्पष्टीकरण सोध्न हिच्किचाउनु हुँदैन । यस्तो बेला डाक्टरलाई पनि आफ्ना बिरामी छान्ने अधिकार हुन्छ भन्ने कुरा बुझ्न सबैलाई जरुरी हुन्छ । सही तथा नियमित परामर्शको अभाव नै बिरामी, उसका परिवार र डाक्टरबीच तनाव पैदा गराउने मुख्य तत्व हो । यसका निम्ति अस्पताल व्यवस्थापनले राम्रो परामर्शको अभ्यासमा रचनात्मक भूमिका निर्वाह गर्न सक्नेछ । यसबाट सेवाग्राही र सेवाप्रदायकबीच सौहार्दता वृद्धि भई स्वास्थ्योपचार जस्तो संवेदनशील काममा डाक्टरलाई प्रोत्साहन र बिरामीलाई विश्वास र सान्त्वना मिल्न पुग्नेछ ।
(हाडजोर्नी विशेषज्ञ डा. बिजुक्छे काठमाडौं धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।)
 
                    










 २०८० कात्तिक  २० गते १६:५१
                        २०८० कात्तिक  २० गते १६:५१                     
                             
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                                         
                             
                             
                                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4