
काठमाडौं । अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को प्रि-सुटिङ छायांकन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । निर्माता रोहित अधिकारीले ‘वार्मअप’का लागि मात्र छायांकन भएको बताए ।
बालुवाटारमा भैरहेको प्रि-सुटिङमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकार छन् । फिल्मलाई सुयस गुरुङले निर्देशन गर्दैछन् ।
‘खासमा हामीलाई चाहिने प्रकाश र दृश्यअनुसार कसरी खिच्ने बारेको वार्मअप सुटिङको रुपमा लिएका छौं’ निर्माता रोहित अधिकारीले भने, ‘सोहीअनुसार एरी क्यामेराले फिल्म खिच्ने काम भैरहेको छ ।’ पछिल्लो समय सुटिङमा जानुपूर्व फिल्म खिच्ने प्रि-सुटिङ अभ्यास विदेशमा पनि प्रचलनमा छ ।
‘फर्की फर्की’को औपचारिक छायांकन भने गन्धर्व दिवसको अवसरमा मंसिर ११ देखि तालनगरी पोखरामा सुरु हुँदैछ । २०८१ सालको जेठ ११ लाई प्रदर्शन मिति तय गरिएको छ । मूहर्त मंसिर ८ गते तयारी छ । यो रोमान्टिक ड्रामामा अनमोल र जसिताले अनस्क्रिन रोमान्स गर्दैछन् । एक गीतको सुटिङ इण्डोनेसियाको बालीमा गर्ने तयारी छ ।
फिल्मको निर्मातामा रोहितसहित ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल छन् । सहनिर्मातामा मनोज वली र रामु न्यौपाने छन् । शंकर पाण्डे प्रोडक्सन हेड हुन् ।
आधा दर्जन फिल्म छायांकनको तयारीमा
काठमाडौं । यतिबेला झण्डै दर्जन फिल्म छायांकन तयारीमा छन् । कतिपयले घोषणा गरेर निर्माणको योजना बुनेका छन् । ‘फर्की फर्की’पछि रोहित अधिकारी ‘वरिष्ठ बलराम’को निर्माणमा ब्यस्त हुनेछन् । सुरेन्द्र पौडेलले निर्देशन गर्ने यो फिल्म मंसिर अन्त्यदेखि सुटिङमा जानेछ ।
दीपकराज गिरीले मंसिरदेखि ‘वडा नम्बर ६’को सिक्वेल बनाउने भएका छन् । आमा सरस्वती मूभिजको ब्यानरमा बन्ने यो फिल्म यसअघिको हिट फिल्मकै श्रृंखला हो । रामबाबु गुरुङको ‘डिग्री माइला’ छायांकन भैरहेको छ ।
निर्माता सरोज न्यौपाने दयाहाङ राई र मिरुना मगरलाई शीर्ष रोलमा लिएर ‘लोकल हिरो’ बनाउने तयारीमा छन् । उनले फागुन २५ लाई प्रदर्शन मितिको रुपमा तय गरिसकेका छन् ।
निर्देशक दीपेन्द्र के खनाल सिन्धुलीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको बायोपिक बनाउने तयारीमा छन् । यसको प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यसपछि दीपेन्द्र ‘आमा २’ बनाउने तयारीमा जुटेका छन् ।
निर्माता सन्तोष सेनले सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर ‘बलिदान’को छायांकन सुरु गर्ने तयारी थालेका छन् । अर्को बर्षको दशैं फूलपातिमा रिलिज तय छ । दयाहाङ राई र शिल्पा मास्केको मुख्य भूमिका रहने फिल्म ‘कार्साङ’को पनि छायांकन सुरु गर्ने तयारीमा निर्माता छन् ।
प्रतिक्रिया 4