+

फेरिएको चर्च ब्वाइज

२०८० माघ  १७ गते १०:२३ २०८० माघ १७ गते १०:२३
फेरिएको चर्च ब्वाइज

१७ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन टिम हो । ए डिभजन डेब्यूमै उपाधि जित्दै चर्च ब्वाइजले तीन श्रेणीको लिग लगातार जित्ने मनाङ मर्स्याङ्दीको कीर्तिमान बराबरी गरेको थियो ।

गत सिजनको लिग २०७९ मा सुरु भएर २०८० जेठमा सकिएको थियो । जहाँ ए डिभिजन लिग डेब्यूमै च्याम्पियन बनेर चर्च ब्वाइज घरेलु फुटबलको नयाँ शक्तिको रुपमा उदायो थियो । उसले घरेलु फुटबलकै राम्रा खेलाडीहरु समेत अनुबन्ध गरेको थियो ।

तर त्यसपछि ए डिभिजन लिग भएको छैन । राष्ट्रिय टिमका खेलाडी विदेशिने क्रम जारी रहेको बेला  चर्च ब्वाइजलाई लिग जिताउने टिमका सदस्य नफेरिने कुरै भएन ।

चर्च ब्वाइजको टिम फेरिए पनि उसको जितको लय भने कायमै छ । मंगलबार पोखरामा २३औं आहारारा पोखरा गोल्डकपमा सर्वाधिक ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुग्यो ।

ए डिभिजन लिग जित्दामा अनन्त तामाङले चर्च ब्वाइजको कप्तानी गरेका थिए भने अन्जन विष्ट, एरिक विष्ट, आशिष चौधरी, सुभाष गुरुङका साथमा अनुभवी विदेशी खेलाडीहरु समेत थिए ।

तर ती कोही पनि मंगलबार पोखरा रंगशालमा देखिएनन् । अनन्त टिममा रहे पनि पूर्ण रुपमा फिट नभएकोले पुलिस विरुद्ध मैदान उत्रिएनन् । त्यसैले कमल श्रेष्ठले कप्तानी गरे ।

राष्ट्रिय टिमकै संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका अन्जन विष्टले चर्च ब्वाइज छाडेर संकटाबाट पोखरामा खेले । अन्जनले अब मोफसलमा हुने प्रतियोगिता संकटाबाटै खेल्ने छन् । राष्ट्रिय टिमकै मिडफिल्डर एरिक विष्ट भारतको आई लिग क्लब शिलोङ लाजोङमा अनुबन्ध भएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका सुभाष गुरुङले मछिन्द्र एफसीबाट आहारारा खेले । राष्ट्रिय टिमकै अर्का सदस्य आशिष चौधरी पनि चर्च ब्वाइज छाडेर मछिन्द्रबाट खेल्ने चर्चा भए पनि उनले कुनै क्लबबाट पोखरामा खेलेनन् । अर्का आशिष चापागाईंसँगै विवेक पौडेल र मौसम सुब्बाले पोखरामा थ्री स्टारबाट आहारारा खेले ।

यसबाहेक ए डिभिजन लिग च्याम्पियन बनाउन भूमिका खेलेका विदेशी खेलाडीहरु गोलकिपर प्रिस, डिफेण्डर फ्रांकलिन कुएटे टाला, जोसेफ ओसुबा बेम्वाह र रन्जित सिंह पान्द्रे पनि टिममा छैनन् ।

अधिकांश खेलाडीहरु अहिले टिममा नहुँदा ए डिभिजन लिग जित्ने टिममा पहिलो रोजाईंमा खेलेका अनन्त र कमल अनि दोस्रो रोजाइका गोलकिपर रेम्बोकुमार चौधरी, डिफेण्डर विक राई र मनिष जर्घा मगर, मिडफिल्डर प्रशान्त लक्षम गरी ६ खेलाडी मात्र आहारारा गोल्डकप खेल्ने टिमसँग पोखरामा छन् ।

पछिल्लो समय नियमित घरेलु लिग नहुने र खेलाडीहरु विदेशिने क्रम जारी रहँदा क्लबहरु उपलब्ध खेलाडी जम्मा पारेर पोखरामा आइपुगेका हुन् ।

यसपटक विदेशी खेलाडीले पनि आहारारा खेल्न पाएका छैनन् । जसले गर्दा पनि क्लबहरुलाई टिम सेट गर्न कठिन भएको छ । आहाराराको आयोजकले वर्क परमिट नभएका विदेशी खेलाडी खेलाउन नपाउने प्रावधान बनाउँदा विदेशी खेलाडीसहित पोखरा आइपुगे पनि मछिन्द्र र संकटाले विदेशी खेलाडी खेलाउन पाएनन् । त्यसको असर दुवै क्लब पहिलो चरणमै पराजित हुँदै घर फर्कन भए ।

विदेशी खेलाडी हुँदा खेल पनि रमाइलो र प्रतिस्पर्धात्मक हुने कमलले बताए । ‘विदेशी हुँदा खेल ‘टफ’ हुन्छ । विदेशी खेल्दा दर्शकलाई पनि रमाइलो हुन्छ ।’

यस पटक चर्च ब्वाइजका लागि आहारारामा सन्तोष महतले गोल पोष्ट सम्हालेका थिए । डिफेन्समा कमल र विकु राई थिए भने उनीहरुलाई सन्जित राई र गौरव श्रेष्ठले साथ दिएका थिए ।

मिडफिल्डमा प्रशान्त लक्षमलाई नेपाल सुपर लिगका राइजिङ प्लेअर रोहन कार्कीसहित नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गरेका सन्तोष खत्रीले साथ दिएका थिए ।

नयाँ फरवार्ड लाइनमा राजिव लोप्चन कृपाकान्त चौधरी र समिर तामाङ थिए । राजिवले काठमाडौं रेजर्स र कृपाले वीरगञ्ज युनाइटेडबाट नेपाल सुपर लिग खेलेका थिए । नेपाल

 

यू-१९ राष्ट्रिय टिमका समेत फरवार्ड रहेका समिरले भने असोजमा काठमाडौंमा भएको साफ यू-१९ च्याम्पियनसिप खेल्दै ३ गोल गरेका थिए । उनै समिरले निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई पुलिस विरुद्ध जित दिलाएका थिए ।

चर्च ब्वाइजका कप्तान कमल खेल जितेको भए पनि तालमेल मिलाउन कठिन भएको बताउँछन् । ‘जुनियर र सिनियर खेलाडीको मिश्रणले टिम फरक बनेको छ । त्यसैले पहिलो खेलमा तालमेल मिलाउन कठिन भयो ।’

पुलिस प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई हराएर क्वार्टरफाइनलमा आएको थियो भने चर्च ब्वाइज बाई पाएर सिधै । ‘पुलिसले एक खेल खेलिसकेको थियो । हामी थोरै समय ट्रेनिङ गरेकोले पनि सुरुमा गाह्रो भयो,’ कमलले भने, ‘युवा खेलाडीहरु भएकोले उनीहरुमा अनुभवको कमी थियो र त्यसले गर्दा स्कोरिङमा कठिन भयो ।’

पहिलो हाफमा खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चर्च ब्वाइजले सुरुदेखि नै पुलिसमाथि लगातार दबाब बनाएको थियो । ७२औं मिनेटमा यू-१९ राष्ट्रिय टिमका समिर तामाङले गोल गरेका थिए । ‘दोस्रो हाफमा हामिले रणनीति परिवर्तन गरेका थियौं, त्यसमा सफल पनि भयौं, समयमा स्कोर हुँदा जित निकाल्न सक्यौं ।’

आहारारा गोल्डकप चर्च ब्वाइज युनाइटेड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय