 
																			२० फागुन, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि सुरु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन दिने त्रिपिटक वाचन (पाठ) को उद्घाटन गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए ।
‘बुद्धको शिक्षा विश्वव्यापी बनाउन इन्टरनेशनल मेडिटेसन डे का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्ने पक्षमा छु’, उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए ।
उनले मेडिटेसनलाई गृहमन्त्रालयले सुरुवात गरिसकेको समेत बताए । उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताए ।
‘गृह मन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान सुरुवात नै गरिसकेका छौं, अब कारागारहरुमा पनि ध्यानविधि सुरुवात गराउने अभियानमा छौं’, उनले भने ।
बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैंलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ ।
‘बुद्धले आफ्नो बाटो आफैंले हिँड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’, उनले भने ।
तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्वपूर्ण योगदान गर्ने उनले बताए । गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताए ।
विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उनले बताए । त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए ।
त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमार तथा भारतका बौद्ध तीर्थस्थल बोधगया, सारनाथ, कुशीनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिति रहेको छ ।
अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको आयोजकले जनाएका छन् ।
गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाई बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।
त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4