+

स्ट्रेच मार्क हट्छ ?

२०८१ जेठ  २७ गते ११:२८ २०८१ जेठ २७ गते ११:२८
Shares
स्ट्रेच मार्क हट्छ ?

छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ ।

यस्तै किशोरीहरुमा शरीरको तीव्र वृद्धि विकास हुने भएकाले स्ट्रेच मार्क आउन सक्छ । यस्तै उमेरभन्दा बढी मोटाउँदा, मोटाइसकेपछि एक्कासि दुब्लाउँदा पनि यस्तो समस्या आउँछ । त्यस्तै पुरुषमा हेभी जिम गर्नाले पनि आउनसक्छ ।

कुनकुन ठाउँमा आउँछ ?

विशेषगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिन्छ । सरल भाषामा शरीरको जुनसुकै भागमा आवश्यकता भन्दा बढी मासु लागेको ठाउँमा मसल तन्किएर स्ट्रेच मार्क हुन्छ ।

के यो रोग हो ?

स्ट्रेच मार्क रोग होइन, यसले शरीरमा केही पनि हानि गर्दैन । यसले छालालाई बाहिरी रुपमा हेर्दा नराम्रो मात्र देखाउँछ । सुरुमा स्ट्रेच मार्कको रङ रातो हुन्छ । पछि बिस्तारै सेतो, खैरो हुँदै कालो हुने गर्छ ।

स्ट्रेच मार्क निको हुन्छ ?

स्टेच मार्क आइसकेपछि निको हुँदैन । साथै छाला एकचोटि तन्किसकेपछि फेरि पुरानै शैलीमा फर्काउन सकिंदैन ।

उपचार

खासगरी स्ट्रेच मार्कले कुनै किसिमको हानि गर्दैन । तर कहिलेकाहीं स्ट्रेच मार्क आएको ठाउँमा चिलाउने, पोल्ने हुनसक्छ । यसबेला छाला नरम बनाउने मलन र एन्टिइन्फामेन्टरी मलन लगाउने तथा खाने औषधिको प्रयोग गर्न सकिन्छ । नभए घाउ चिलाउर कन्याउँदा घाउ हुने, पाक्ने तथा अन्य छालासम्बन्धी समस्या हुनसक्छ ।

स्ट्रेच मार्कलाई लेजर ट्रिन्टमेन्टबाट पनि कम गर्न सकिन्छ । यो उपचार एक महिनाको अन्तरालमा ६ देखि आठ पटकसम्म गर्नुपर्ने हुन्छ । तर पूर्णरुपमा हटाउने उपचार छैन ।

कति खर्च लाग्छ ?

उपचार खर्च कति लाग्छ भन्ने कुरा शरीरमा स्ट्रेच मार्क कति छ भन्नेमा भर पर्छ ।

रोकथाम

शरीरमा सकेसम्म सुक्खा हुनबाट जोगाउन नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोइस्चराइजर, लोसन लगाउँदा छालाको तन्किने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुक्खा छालाभन्दा तैलीय छालामा तन्किने क्षमता बढी हुन्छ ।

गर्भावस्थामा स्ट्रेच मार्क आउने सम्भावना बढी हुन्छ । त्यसैले चिकित्सकले त्यसलाई कम गर्न गर्भवती भएको दोस्रो त्रैमासिकदेखि विशेष प्रकारको तेल र मोइस्चराइजिङ क्रिम लगाउन सल्लाह दिन्छन् । छालाको अवस्थाअनुसार दिनको दुई-चार पटक पेट, स्तन, तिघ्रा, पाखुरा, हिपमा मसाज गर्नुपर्छ । यसले धेरै हदसम्म कम गर्छ ।

छाला तथा सौन्दर्य रोग डा. उमा केयल स्ट्रेच मार्क स्वास्थ्य
डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय