८ असार, काठमाडौं । नेपाल आर्मीका नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल केडिसी रनको उपाधि जितेका छन् ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनको आयोजनामा शनिबार भएको २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलातर्फ पहिलो भएका हुन् ।
नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । पुरुषतर्फ आर्मीकै खेलाडीको वर्चस्व रह्यो । दोस्रो भएका आर्मीका करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्ड तथा तेस्रो भएका आर्मीकै सुशीलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्ड समयमा दौड पूरा गरे । सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो तथा आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।
यसैगरी महिलातर्फ विजेता पूर्णलक्ष्मीले निर्धारित दूरी १ घण्टा ४७ मिनेट समयमा पूरा गरिन् । आर्मीकै निर्मला केसी १ घण्टा ५० मिनेटमा दौड पूरा गरी दोस्रो तथा खोटाङकी प्रिया राई १ घण्टा ५१ मिनेट ०८ सेकेन्ड समयमा तेस्रो भए । नेपाल प्रहरीकी लाक्पा निमा शेर्पा चौथो तथा ओखल्ढुंगाकी छोकी शेर्पा पाँचौं बने ।
दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मत्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएको थियो

दुवै विधाका शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी समितिका सदस्य एवं आयोजक एड्भेन्चर रनिङ फेडेरेसन अध्यक्ष एकेन्द्र कुँवर, राखेपका सदस्य अञ्जन धमला, चन्द्रबदना राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य–सचिव घिसिङले गरेका थिए ।
सो अवसरमा सदस्य सचिव घिसिङले ट्रेल रेसका लागि नेपाल उत्तम गन्तब्य भएको बताउँदै विदेशी खेलाडीलाई आकर्षित गर्ने योजना बनाइ देशको अर्थतन्त्र बृद्धिमा टेवा पुर्याउनुका साथै पर्यटन प्रवद्र्धनमा महासंघले जोड दिनु पर्ने बताए ।
यस्तै फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले आफ्नो नेतृत्वमा कार्यसमिति आएपछि यो पहिलो प्रतियोगिता भएको र आगामी आर्थिक वर्षमा फेडेरेसनले क्यालेन्डर नै बनाएर विभिन्न गतिविधिहरु गर्ने जानकारी दिए । कुँवरले नेपालमा अहिले भइरहेका ट्रेल अल्ट्रा रेसहरुलाई व्यवस्थित गर्दै जाने र नेपाली खेलाडीहरुलाई विदेशमा हुने अन्तर्राष्ट्रिय रेसहरुमा सहभागि गराउने वातावरण बनाउने बताए ।
दौडमा नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, ४ राष्ट्रका ५ विदेशीलगायत गरी २६५ धावक/धाविकाको सहभागिता रहेको एड्भेन्चर रनिङ फेडेरेसनका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
 
                    










 २०८१ असार  ८ गते १६:५३
                        २०८१ असार  ८ गते १६:५३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4