मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाई नेपालमा फेरि सक्रिय देखिएको छ । सन् २०२२ को यही समयमा (मनसुन) नाइरोबी फ्लाई नेपालको विभिन्न ठाउँमा देखिएको थियो । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ ।
यस्तो समस्या १२ देखि ३६ घण्टामा देखिने गर्छ । सो रसायन आँखामा परे (मुख्यतया विषाक्त रसायन लागेको हातले आँखा चिलाउँदा) रातो हुने, चिलाउने, जलन हुने, सुन्निने हुने गर्छ । यस्तो अवस्थालाई ‘नाइरोबी आँखा’ भन्ने पनि गरिन्छ ।
नेपालमा गरेको एक अध्ययनले ‘नाइरोबी आँखा’ विशेषगरी मनसुन सिजनमा देखिने गरेको देखाएको छ । यस अध्यनबाट पनि नाइरोबी फ्लाई नेपालमा मनसुन सिजनमा देखिने वा सक्रिय हुने गरेको देखिन्छ । सन् २०२२ र हाल मनसुन सिजनमा नाइरोबी फ्लाई देखिएकोबाट पनि नाइरोबी फ्लाईको जोखिम नेपालमा मनसुन अवधिमा हुने देखिन्छ । भारत र तराईमा देखिंदै आइरहेको नाइरोबी फ्लाई हाल नेपालको पहाडी क्षेत्रतिर पनि देखिन थालेको छ ।
हुन त सन् २०२२ मा भुटान जस्तो हिमाली देशमा नाइरोबी फ्लाईका कारण ३०० जनाभन्दा बढी बिरामी देखिएको थियो भने जलवायु परिवर्तन यसको एक प्रमुख कारक मानिएको छ । सन् २०२२ को जुन-जुलाईमा भारतको सिक्किम र पश्चिम बंगाल, भुटानका केही ठाउँ र नेपालको बिर्तामोड र धरान क्षेत्रमा एकपछि अर्को गर्दै नाइरोबी फ्लाईको प्रभाव देखिएको थियो ।
सामान्यतया छालामा देखिने समस्या एकदेखि चार हप्तासम्ममा निको हुँदै जान्छ । तर ब्याक्टेरियाको संक्रमण देखिए चिकित्सकको परामर्शमा औषधि लिनु नपर्ने हुनसक्छ । रोगले जटिलताको स्वरुप लिएमा ज्वरो आउने, जोर्नी दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । तर समयमा उपचार गरे रोग निको हुने गर्छ ।
बच्न के नगर्ने, के गर्ने ?
– शरीरमा नाइरोबी फ्लाई बसेको रहेछ भने हातले नछुने, नथिच्ने वा नमिच्ने
– उज्यालोमा नाइरोबी फ्लाई आकर्षित हुने भएकोले बत्तीमुनि काम नगर्ने वा आराम नगर्ने
– राति झुलभित्र सुत्ने
– शरीरमा लामो बाहुला भएको लुगा लगाउने
– झ्यालढोकामा जाली राख्ने वा अनावश्यक खुल्ला नराख्ने
– यदि नाइरोबी फ्लाई शरीरको छाला वा लुगामा बसेको रहेछ भने बिस्तारै नछोइकन टक्टकाएर वा फुकेर खसाल्ने वा हातले नछोइकन कुनै चीज (जस्तै ब्रस, काठ वा अरु समान) को सहायताले झार्ने
– यदि हातले नाइरोबी फ्लाई छोएको अवस्थामा तुरुन्त साबुन पानीले हात धुने
पेडेरिन विषाक्त छालामा छेड्ने प्रक्रिया बिस्तारै हुने भएकाले छिटो साबुन पानीले हात धुँदा धेरै हदसम्म विषाक्त रसायन पखालिएर जाने र छालामा कम हानि पुग्छ ।
नेपालमा मनसुन सिजनमा देखिंदै आएका विभिन्न रोगमध्ये नाइरोबी फ्लाईले नयाँ स्वास्थ समस्याको रुपमा निरन्तरता पाउन लागेको त होइन भन्ने प्रश्न खडा भएको छ । हेर्दा सामान्य कीराको टोकाइ मात्र जस्तो देखिएपनि जनचेतनाको कमीले छाला, आँखा तथा शरीरमा विभिन्न अंगमा जटिलता देखिन सक्ने भएकाले मनसुन सिजनमा यो कीराको पहिचान गर्ने तरिका (फोटो मार्फत अझ बढी प्रभावकारी हुनसक्ने) तथा यसको टोकाइ र विषाक्त रसायनबाट बच्ने उपायको बारेमा पर्याप्त जानकारी दिन सके नाइरोबी फ्लाईको जोखिमबाट बच्न सकिने छ । किनभने आगामी वर्षहरुको मनसुन सिजनमा नाइरोबी फ्लाई फौजी कीराको प्रभाव जहाँ जुनसुकै ठाउँमा देखिन पनि सक्ने अवस्थालाई नकार्न सकिंदैन ।
 
                    










 २०८१ असार  ३१ गते १५:५८
                        २०८१ असार  ३१ गते १५:५८                     
                             
                     
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
                             
                             
                                         
                             
                             
                             
                             
                                        
प्रतिक्रिया 4