 
																			१९ भदौ, काठमाडौं । श्रम स्वीकृति लिन आएकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहाचलका एक कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी सुब्बा घलेलाई केहीअघि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, यूएईमा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला फेरि श्रम स्वीकृति लिन भन्दै १० माघ २०८० मा श्रम कार्यालय गएकी थिइन् । त्यसक्रममा कार्यालयका कर्मचारी सुब्बासँग उनको चिनजान भएको थियो ।
‘त्यतिबेला उनले तपाईं यहाँ आइराख्नु पर्दैन, म तपाईंको श्रम स्वीकृति ह्वाट्स एपमा पठाइदिउँला भनेकाले मैले नम्बर दिएको थिएँ’, पीडितले प्रहरीलाई दिएको जाहेरीमा भनिएको छ, ‘सोही दिन मलाई उनले हाई भनेर म्यासेज गरे, ९ फागुन २०८० सम्म पनि श्रम स्वीकृति नआएपछि मैले म्यासेज गरें । उनले मलाई फोन गरेर श्रम स्वीकृति आएको छ, भेटेर दिन्छु भनेका थिए ।’
त्यसक्रममा उनले ह्वाट्स एपको प्रोफाइलबाट आफ्नो फोटोको स्क्रिनसट पठाएर ‘तिमी मैले सोचेभन्दा राम्री छौं, तिमीसँग बसेर चिया खान मन छ’ भनेको उनले उल्लेख गरेकी छन् । त्यसक्रममा उनले १९ फागुनमा फोन गरेर कागज लिन जोरपाटीमा भेट्न बोलाएको पीडितले भनेकी छन् ।
‘त्यसबेला घुम्न जाउँ भनेर मलाई सुन्धारास्थित कालीगण्डकी होटलमा लगेर म तिमीलाई साह्रै मन पराउँछु, तिमी पनि अविवाहित रहेछौं, म पनि अविवाहित छु भन्दै अनेक प्रलोभन दिएर जबरजस्ती करणी गर्नुभयो’, जाहेरीमा भनिएको छ, ‘म तिमीसँग विवाह गर्ने कसम खान्छु भन्दै विभिन्न प्रलोभन देखाएर शारीरिक सम्पर्क राख्न दबाब दिनुभएको थियो, त्यसक्रममा मैले तिम्रो विरुद्ध प्रहरीमा उजुरी दिन्छु पनि भनेको थिएँ ।’
पछि आफूलाई जेल हाले पनि हाल भन्दै, ‘म तिमी नै भनेर जीवन काट्छु’ भनेर सुब्बाले भनेको उनले भनेकी छन् ।
‘उहाँले ६ महिनासम्म जुठो परेकाले विवाह गर्न नसक्ने र त्यसपछि गर्ने भनेका थिए’ उनले भनेकी छन्, ‘९ वैशाख २०८१ मा विदेश जान काठमाडौं आउँदा पनि जसरी पनि भेट्नुपर्छ भनेर बसपार्कको एउटा गेस्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको थियो ।’
अर्को दिन ८ बजे आफू विदेश गएको पीडितले उल्लेख गरेकी छन् ।
‘दुबई गएपछि कुराकानी गर्दा उनले म विवाहित हो, तिमीसँग विवाह गर्न सक्दिनँ भन्दै अश्लील शब्दले गालीगलौज गर्ने र ह्वाट्स एप आईडी पनि ब्लक गरेर मसँग सम्पर्कविहीन भए’, उनले भनेकी छन् ।
जाहेरी परेपछि प्रहरीले सुब्बालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । प्रहरीसँग दिएको बयानमा भने सुब्बाले आरोप इन्कार गरेका छन् । श्रम कागज ह्वाट्स एपमा पठाइदिएको भने स्वीकार गरेका छन् ।
‘त्यसपछि ह्वाट्स एपमा सम्पर्क हुने गरेकामा एक अर्कालाई मन पराउन थालेपछि भेटघाट र फोनमा कुराकानी हुने गरेको थियो’ सुब्बाले भनेका छन्, ‘विवाह गर्ने भनेर प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको होइन ।’
अनुसन्धानपछि प्रहरीले घलेलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न सिफारिस सहित राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । त्यसको आधारमा जिल्ला अदालत, काठमाडौंमा बुधबारबाट थुनछेक बहस सुरु भइरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4