 
																						२१ पुस, काठमाडौं । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ऋण ल्याउने विषयमा आफूले सहमति नदिएको बताएका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा अनुसन्धान गरेका प्रहरीसँग बयान दिने क्रममा रविले भनेका छन्, ‘मेरो कार्यकालमा मबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’
कम्पनीका कार्यकारी अध्यक्ष एवं लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईले आफ्नो जिम्मेवारी अन्तरगत लगानी ल्याउन के कसरी गरे त्यो आफूलाई व्यक्तिगत एवं संस्थागत रुपमा जानकारी समेत नभएको उनले दाबी गरेका छन् । उनले आफू लगानीकर्ता समेत नभएको र काम गर्न जाँदा ‘स्वेट शेयर’ लिएको जिकिर गर्दै भनेका छन्, ‘वित्तिय स्रोतको सम्पूर्ण विवरण लेखा परीक्षण प्रतिवेदनमा समेत उल्लेख छ, आधिकारिक उक्त विवरणभन्दा बाहिरको कुरा मेरो जानकारीमा छैन ।’
उनले स्वर्णलक्ष्मी सहकारीसँग जीबीको संलग्नता पछिल्लो समय मात्र जानकारी पाएको दाबी गर्दै उक्त रकम के प्रयोजनका लागि क–कसको संलग्नतामा भित्र्याइयो भन्ने जानकारी नभएको भनेका छन् । ‘गैरकानुनी ढंगले सहकारीबाट रकम कम्पनीमा ल्याउने सम्बद्ध व्यक्तिहरुले नै उक्त रकम फिर्ता गर्ने दायित्व हुन्छ, म सहकारीबाट रकम ल्याउने प्रक्रियामा सहभागी नभएको भनी संसदीय छानबिन समितिको प्रतिवदेनले पनि पुष्टि गरेको व्यक्ति भएको हुनाले यस विषयमा जनकार छैन’, उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्कको वित्तीय जिम्मेवारी सम्पूर्ण रुपमा कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको थियो । लगानी ल्याउने सम्पूर्ण प्रक्रियामा उनी सक्रिय र जिम्मेवार थिए ।’
उनले कुनै पनि कम्पनीको प्रबन्ध निर्देशकले दिनानुदिन बैंकको निक्षेप हेर्न सम्भव नहुने भन्दै भनेका छन्, ‘यस्तो कार्यका लागि लेखा शाखामा कर्मचारी नै तोकिएका हुन्छन्, लेखा शाखा पूर्ण रुपमा कार्यकारी अध्यक्षको नियन्त्रण र निर्देशनामा चल्थ्यो । उनी लगानीकर्ता भएकाले यो स्वभाविक पनि थियो ।’
उनले आफ्नो कार्यकालभर कुनै पनि सहकारी संस्थाको ऋण तिर्नु भनी सूचना प्राप्त नभएको भन्दै भनेका छन्, ‘मेरो कार्यकालमा मात्रै गितेन्द्रबाबु राईबाट लगभग २२ करोड ऋण आएको देखिन्छ, व्यक्तिगत रुपमा उनले ल्याएको उक्त ऋणको वित्तीय व्यवस्थापन लगानीकर्ताले गर्न पाउने नै भए र त्यस्तो व्यवस्थापनको जवाफदेहिता पनि उनै लगानीकर्ता गितेन्द्रबाबु राईकै हुन्छ ।’
उनले अगाडि भनेका छन्, ‘मेरो काम न्यूज रुम र कार्यक्रम उत्पादनमार्फत टेलिभिजनलाई उच्च गुणस्तरमा प्रशारणमा ल्याउने कुरामा सीमित थियो, व्यवहार चलाउन बैंकको खाता सञ्चालनमा मेुरो नाम पनि थियो तर, लेखा शाखा सम्पूर्ण रुपमा गितेन्द्रबाबु राईकै मातहतमा हुन्थ्यो, उनको इच्छा इशारा र निर्देशनविना कम्पनी चल्ने कुरा आउँदैन्थ्यो ।’
जब कम्पनीमा नगद प्रवाहको आवश्यकता हुन्थ्यो, त्यसबेला असुरक्षित कर्जाको नाममा उनले नै कम्पनीमा नगद प्रवाहको काम गर्ने गरेको उनले भनेका छन् । उनले आफू चेकको हस्ताक्षरकर्ता हुनुको अर्थ निश्चित समयमा काम सम्पन्न गर्न बाधा नपुगोस् भन्नका लागि मात्र भएको दाबी गरेका छन् ।
‘म उपत्यकाबाहिर गइरहनु पर्ने अवस्थामा समेत भुक्तानी नरोकियोस् भनेर खाली चेकमा हस्ताक्षर गर्ने अभ्यास थियो, कयौं पटक बीच बाटोमा र एयरपोर्टमा भेटिएर चेकहरु हस्ताक्षर भएको सम्झना छ’, उनले भनेका छन्, ‘उचित विश्वासका आधारमा यसरी खाली चेकहरु भुक्तानीका लागि जारी भएको हुनसक्छ, करिब २२ करोड लगानी गर्ने कार्यकारी अध्यक्षलाई विश्वास नगरी नयाँ कम्पनी चल्न सक्ने अवस्था पनि हुँदैन थियो । पैसा ल्याउनेलाई पैसा मिलाउने अधिकारबाट बञ्चित गर्ने हैसियतामा म थिइनँ ।’
 
                









 
                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4