चिसो मौसमले प्रत्यक्ष रूपमा महिनावारी पीडा बढाउँदैन। यसका लागि केही कारक जिम्मेवार छन्। ती कारकले महिनावारी चक्रको प्रणालीलाई केही हदसम्म प्रभावित पार्छ। जसले गर्दा महिनावारी हुँदा दुखाइ अत्याधिक बढाउन सक्छ ।
तर, दुखाइ हुँदैमा आत्तिहाल्न पर्दैन। जीवनशैलीमा ध्यान दिए दुखाइबाट राहत पाउन सकिन्छ।
कसरी बढ्छ जाडोमा महिनावारी पीडा ?
प्रतिरक्षा प्रणाली कमजोर हुनु
जाडो मौसममा हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। किनकी यो समयमा बाह्य भाइरस र किटाणु बढी सक्रिय हुन्छन्। यी तत्वको सम्पर्कमा आएमा शरीर विभिन्न संक्रमण, रुघा–खोकी र भाइरसको शिकार बन्न सक्छ। जसले प्रतिरक्षा प्रणाली कमजोर बन्न सक्छ।
यसको प्रत्यक्ष असर महिनावारी चक्रमा पनि पर्न सक्छ। जसले महिनावारी हुँदा शरीर गल्ने, जोर्नीहरु दुख्ने र कमजोर अनुभव हुने जस्ता समस्या बढ्न सक्छ।
रक्त सञ्चार कम हुनु
वास्तवमा, चिसो मौसमले रक्तनलीहरूलाई साँघुरो बनाउन सक्छ। यसरी रक्तनली साँघुरिदा शरीरमा दुखाइको अनुभव गराउने प्रोस्टाग्ल्यान्डिन हर्मोनको स्तर बढ्न सक्छ। जसले पेट दुखाउने, तल्लो कम्मर दुखाउने र मुड नै खराब पार्न सक्छ।
अर्को भनेको चिसोले शरीरमा तापक्रम कम भई रक्तनलीहरू साँघुरो हुँदा पाठेघरमा रक्तसञ्चारको प्रवाह राम्रोसँग हुन पाउँदैन। जसले पनि दुखाइलाई बढावा दिन्छ। रक्तस्राव पनि बढाउनसक्छ।
घाम कम लाग्नु
चिसो मौसममा कम घाम लाग्ने हुँदा भिटामिन डीको मात्रा शरीरमा कम हुन सक्छ। भिटामिन डीको कमीले शरीरमा क्याल्सियमको स्तर घटाउन सक्छ, जसले महिनावारीलाई झन् खराब बनाउँछ। सूर्यको प्रकाशको कम मात्रा हुँदा हाम्रो थाइरोइड ग्रन्थीलाई प्रभावित गर्नसक्छ।
महिनावारीको अवधि लामो हुनु
सन् २०११ मा भएको एक अध्ययनअनुसार गर्मी महिनामा महिनावारीको चक्र औसत रूपमा छोटो हुने गर्छ। यसको मुख्य कारण गर्मी महिनामा हर्मोनहरूको उच्च स्तर र डिम्ब उत्पादनको वृद्धि हुँदा महिनावारी चक्र छोटो हुनेगर्छ।
जाडो महिनामा भने यसको ठीक उल्टो हुन्छ। हर्मोन उत्पादन कम हुने भएकाले महिनावारीको अवधि लामो हुनसक्छ। यस्तोमा पहिलादेखि नै महिनावारी पीडा भइराख्ने महिलामा पीडा अवधि बढ्छ।
महिनावारी हुँदा सबै महिलाले पीडा भोग्छन् ?
महिनावारीमा सबैलाई पीडा हुँदैन। जो शारीरिक रुपमा कम सक्रिय छन्, जसको प्रतिरोधात्मक क्षमता कम छ, प्रशोधित खानेकुरा बढी खान्छन् र पीसिओएस र एन्ड्रोमेट्रिअाेसिस जस्ता पाठेघरको समस्या छ उनीहरुलाई जुनसुकै मौसममा महिनावारीमा पीडा हुनसक्छ।
त्यो पीडा माथि उल्लेखित कारणले जाडो मौसममा झन् बढाउन सक्छ।
महिनावारीका लक्षणहरूमा केही सहजता ल्याउनका लागि केही उपाय अपनाउन सकिन्छ।
-तातो सेकाइ वा मनतातो पानीले नुहाउने
-महिनावारीमा अत्याधिक पीडा भइरहेको छ भने दुखाइ बढेको भागमा हटवाटर ब्यागले सेक्न सकिन्छ।
-त्यस्तै, सकिन्छ भने एकपटक मनतातो पानीमा नुहाउँदा पनि रक्तसञ्चार सक्रिय भई शरीरको तापक्रम सन्तुलन हुन्छ। जसले गर्दा पीडा कम गरी राहत मिल्छ।
– जाडो महिनामा सक्रिय रहनु निकै चुनौतीपूर्ण हुन्छ तर दिनहुँ हल्का व्यायाम गर्नाले महिनावारी सहज हुनसक्छ।
–खुला वातावरणमा समय बिताउँदा पनि हर्मोनलाई सन्तुलनमा राख्छ।
–बढी नुन र प्रशोधित खानाले पनि महिनावारी पीडा बढाउने हुँदा यस्ता खानेकुरा कम गर्नु उपयुक्त हुन्छ।
–शरीरलाई उर्जावान बनाउन, तापक्रम सन्तुलन राख्न झोलिलो खानेकुरा र मनतातो पानी प्रशस्त खानु उपयुक्त हुन्छ।
–यो समयमा शरीरले थेग्न नसक्ने भारी काम गर्दा वा उचाल्दा पनि महिनावारी पीडा बढाउन सक्छ।
 
                    










 २०८१ माघ  २७ गते १७:५८
                        २०८१ माघ  २७ गते १७:५८                     
                             
                     
 
 
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                                         
                             
                                         
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4