३० माघ, पोखरा । आहारारा पोखरा गोल्डकप र नेपाल पुलिस क्लब पर्यावाची जस्तै बनेको छ । जब आहाराराको नाम आउँछ पुलिसको नाम पनि सँगै आइहाल्छ । किनभने आहारारा पोखरा गोल्डकपको सर्वाधिक सफल टिममा पर्छ पुलिस क्लब ।
मनाङ मर्स्याङ्दी क्लबसँगै सर्वाधिक ६ पटकको च्याम्पियन हो पुलिस टिम । साथै २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरू भएको प्रतियोगिताको प्रतियोगिता संस्करणको विजेता अनी लगातार तीन पटक आहरारा जितेर उपाधिमा ह्याट्रिक गर्ने पनि एक मात्र टोली पुलिस नै हो ।
कुनै बेला पुलिस नेपाली फुटबलमा बाघ जस्तै थियो । अहिले पुलिसको त्यो छवी विस्तारै हराउँदै गएको छ । तर पनि आहारारा पोखरा गोल्डकपसँग पुलिसको नाता निकै घनिष्ट र आत्मिय छ । पुलिसको लागि यो प्रतियोगिता निकै सफल पनि भएको छ । त्यही आहारारा पोखरा गोल्डकपमा पुलिस अर्को कोशेढुंगा नजिक छ ।
अहिले भइरहेको २४औं संस्करणमा बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच पहिलो सेमिफाइनल खेल हुँदैछ । यो संस्करणको लागि यो केवल एक सेमिफाइनल खेल मात्र हो र समग्रमा हेर्दा यसको छुट्टै विशेषता र अर्थ छ ।
आहारारामा यो २५०औं खेल हो । जुन आफैंमा ऐतिहासिक हो । यस्तै पुलिस क्लबको पनि आहरारामा यो ५०औं खेल हो । त्यस अर्थमा पुलिसले दुवै कोशेढुंगा एउटै खेलमार्फत पार गर्दैछ ।
हाल नेपाल पुलिस क्लबको व्यवस्थापक रहेका भोलानाथ सिलवालले यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु खुशीको क्षण हुने बताए । ‘आहारारा पोखरा गोल्डकप मोफसलकै ठुलो फुटबल इभेन्ट हो । आज २५०औं खेल हुँदैछ । नेपाल पुलिस र चर्च ब्वाइजबीच हुन लागेको यो ऐतिहसिक खेल हुनेछ । त्यसमा हाम्रो पुलिसको पनि ५०औ खेल रोमाञ्चक हुन्छ जस्तो लाग्छ ।’
पुलिसबाट लामो समय खेलेर विभिन्न उपलब्धि हासिल गरेका सिलवाल सुरूवातदेखि नै यस प्रतियोगितामा सहभागी थिए । तर सुरूमा भने उनी अर्कै क्लबबाट आएका थिए । ‘म सुरूको क्याराभान गोल्डकपदेखि नै सहभागि हुँदै आएको छु । पहिलो संस्करणमा म मोरङ (विराटनगर) टिमबाट खेल्न आएको थिएँ । तर खेल्न भने पाइनँ । वैक्लपिक खेलाडीको रुपमा थिएँ । पछि पुलिसबाट खेलेँ ।’ सिलवालले अनलाइनखबरसँग भने ।
पुलिस क्लबबाट खेलाडी हुँदै प्रशिक्षक व्यवस्थापक बनिसकेको सिलवालल पनि आहारारा र पुलिस क्लब पर्यावाची जस्तै भएको बताउँछन् । ‘हामी यो प्रतियोगितामा ५०औं खेल खेल्दा ६ पटक उपाधि जितेका छौं र ४ पटक रनर अप भएका छौं । हामीले २०६४ देखि ६६ सम्म जितेर ह्याट्रिक नै गरेका छौं । त्यही भएर यो प्रतियोगिताले पुलिस क्लबलाई पनि बिर्सन गाह्रो छ । पुलिस क्लबको लागि पनि यो प्रतियोगिता विशेष हुनेछ र बिर्सन गाह्रो छ’ सिलवालले भने ।
यसैगरी पुलिसले लगातार तीन उपाधि जित्दा टिममा रहेका चेतन घिमिरे हाल पुलिसका प्रशिषकको भूमिकामा छन् ।
पुलिस पोखरामा ५०औं खेल खेल्ने दोस्रो क्लब हुनेछ । यसअघि मनाङ मर्स्याङ्दी क्लबले यो उपलब्धी हासिल गरिसकेको छ । मनाङले सर्वाधिक ५२ खेल खेलिसकेको छ । यस पटक भने मनाङ सहभागि भएन । यसअघि २०६४ र ६५ सालमा पनि मनाङ सहभागी थिएन । मनाङ १६ वर्षपछि आहारारामा सहभागी नभएको हो ।

अहिलेसम्म २३ पटक (२४औं संस्करणसहित) सहभागि हुँदा ६ पटक उपाधि जितेको पुलिस यसअघि खेलेका ४९ खेल मध्ये ३३ खेल जितेको छ भने १६ खेलमा मात्र पराजित भएको छ ।
पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जित्न सफल भएको थियो भने ४ पटक फाइनलमा पराजित भएको थियो । यसैगरी ४ पटक सेमिफाइनलमा पराजित हुँदा ५ पटक क्वाटरफाइनलमा पराजित भएको छ । ३ पटक भने पुलिस पहिलो चरण अर्थात प्रि क्वाटरफाइनलमै पराजित भएको थियो ।
पुलिसले सुरूवाती २ संस्करण र त्यसपछिको संस्करणको २ गरी लगातार ८ खेलमा अपराजित थियो । तेस्रो संस्करणको फाइनलमा मनाङ मर्सयाङ्दीसँग पराजित भएपछि पुलिसको अपराजित यात्रा नवौं खेलमा पुगेर टुङ्गिएको थियो । त्यसपछि पुलिसले २०६४ देखि २०६६ सालसम्म लगातार तीन पटक उपाधि जित्दा लगतार ९ खेल जितेको थियो । २०६७ सालमा पनि आफ्नो पहिलो खेल जितेर लगातार १० खेल जितेको पुलिस त्यस संस्करणको सेमिफाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।
२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरू भएको यस प्रतियोगिताको पहिलो विजेता नै पुलिस थियो । क्याराभानपछि २०५९ सालमा आहा गोल्डकपको नामबाट भएको प्रतियोगिता उपाधि जितेको थियो ।
२०६०,२०६१ र २०६२ मा पनि फाइनलमा पुगेको पुलिस उपविजेता बनेको थियो । २०६३ मा भाग नलिएको पुलिसले २०६४ देखि २०६६ सम्म लगातार तीन पटक आहा गोल्डकपको उपाधि जितेर ह्याट्रिक गर्यो । पुलिसले पछिल्लो पटक २०७४ सालमा उपाधि जितेको थियो भने २०७६ सालमा फाइनलमा पराजित भएको थियो । यस्तै पुलिसले पछिल्लोपटक २०७७ सालमा सेमिफाइनल खेलेको थियो । पुलिसले चार वर्षपछि आहारारा पोखरा गोल्डकपमा सेमिफाइनल खेल्न लागेको हो ।
यस पटक पुलिसले चर्च ब्वाइजसँग सेमिफाइनल खेल्दा पछिल्लो दुई संस्करणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । यदि चर्च ब्वाइजलाई हराउन सके ऐतिहासिक खेल पुलिसका लागि अझ विशेष बन्नेछ ।
पुलिस र चर्च ब्वाइज आहरारामा भिड्न लागेको यो लगातार तेस्रोपटक हो । चर्च ब्वाइजले पोखरामा खेल्न थालेयता यी दुई टोली नियमित भेट भएका छन् । तर पुलिसले पोखरामा चर्च ब्वाइजलाई हराउन सकेको छेन । चर्च ब्वाइजले पुलिसलाई २२औं संस्करणको प्रि क्वाटरफाइनलमा २-१ र २३औं संस्करणमा क्वाटरफाइनलमा १-० ले हराएको थियो । पुलिससामु दुई हारको बदला लिने अवसर छ ।
भोला सिलवालले आहरारा पोखरा गोल्डकप आयोजक सहारा क्लबको युनिटी राम्रो रहेकोले यो प्रतियोगिता निरन्तर चलिरहेको बताए । साथै अझै लामो समयसम्म यो प्रतियोगिता होस् भन्ने शुभकामना पनि दिए ।
‘यो ५००, एक हजार हुँदै लामो समयसम्म चलिरहोस् । यहाँ क्लबको एकता राम्रो देखिन्छ । विक्रम थकाली दाई देखि जति पनि अध्यक्ष हुनभयो । सबैले एकजुट भएर लाग्नुभाछ । यो टुर्नामेन्ट कालान्तरसम्म अघि बढोस् पुलिस टिमबाट पनि शुभकामना दिन चाहन्छु’ सिलवालले भने ।
प्रतिक्रिया 4