 
																			११ फागुन, काठमाडौं । नेपाली सेनाले बदलिंदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्तिराष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सूक्ष्म रुपमा हेरिरहेको बताएको छ ।
विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भन्दै त्यसलाई सेनाले नियालिरहेको जंगीअड्डाले जनाएको छ ।
‘विभिन्न शक्तिराष्ट्रले लिएका नीति र क्षेत्रीय रुपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ’, सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले भने, ‘नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरुलाई कसरी सम्बोधन गर्ने भन्नमा चिन्तनमनन भइरहेकै अवस्था हो ।’
बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको उपरथी अधिकारीले प्रतिक्रिया दिएका छन् । गएको शुक्रबार सकिएको सेनाको पृतनापति सम्मेलनमा समेत यो विषयमा बहस भएको थियो । जंगीअड्डाका जनरलहरूले अहिले देशको मुख्य सुरक्षा चुनौती बदलिएको भूराजनीतिले पार्ने प्रभावलाई औंल्याएका थिए ।
आइतबार भएको पत्रकार सम्मेलनमा सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी गौरवकुमार केसीले सेनाको पृतनापति सम्मेलन अर्धवार्षिक रुपमा हुने नियमत अन्तरक्रियाको फोरम भएको बताउँदै भने, ‘त्यसमा देशभरिका युनिटहरूका गतिविधि र उनीहरुका क्षेत्राधिकारभित्र पर्ने ठाउँका सुरक्षा अवस्थाबारे छलफल हुनु स्वाभाविक हो ।’
सेनाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा भएका गतिविधिलाई छलफल गर्ने, बुझ्ने र रणनीति बनाउने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए ।
 
                









 
             
                             
                             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4