५ चैत, काठमाडौं । अनुभवी फुटबलर एडम मिट्टर सन्यास फिर्ता लिएर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने भएका छन् ।
एनएसएलको फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले मंगलबार विज्ञप्ती जारी गर्दै इंग्लिस फुटबल एडम मिट्टर फुटबलमा फर्किएको र एनएसएल खेल्न आउने जनाएको छ । अब एडमले एनएसएलको तेस्रो सिजन बुटवल लुम्बिनीबाट खेल्नेछन् ।
मिट्टर बलियो डिफेन्स र नेतृत्व क्षमताका कारण एसियाली फुटबलमा चर्चित खेलाडी भएको बुटवल लुम्बिनीले जनाएको छ । उनले आफ्नो अनुभव बुटवल लुम्बिनीलाई मजबुत बनाउन प्रयोग गर्ने क्लबले जनाएको छ ।
मिट्टरले २०२५ फेब्रुअरीमा फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर उनी केही समयपछि नै एनएसएल खेल्न आउन तयार भएका हुन् ।
‘मेले खेल्न छाडिसकेको थिएँ । तर बुटवल लुम्बिनी एफसीले अफर गर्दा मलाई खेलमा फर्कन प्रेरणा मिल्यो’ क्लबले जारी गरेको विज्ञप्तिमा मिट्टरले भनेका छन्, ‘क्लबको लक्ष्य, समथर्कहरुको मायाँ र नयाँ चुनौतीले मलाई उत्साह बनायो । म टिमलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु ।’
मिट्टरले इंग्ल्याण्ड, स्कटल्याण्ड, स्वीडेन, अष्ट्रेलिया, फिलिपिन्स, भारत, सिंगापुर, क्यानडा, इन्डोनेसिया, थाइल्याण्ड र वेल्समा क्लब फुटबल खेलेको अनुभव छ । त्यसैले उनको क्लब फुटबलको अनुभव टिमका लागि महत्वपूर्ण हुने र मिट्टरको आगमनले टिम बलियो हुने विश्वास राखेको छ ।
एडम बुटवल लुम्बिनीमा अनुबन्ध हुने पाँचौ विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकेल ओजिदीझा तमारा, इंग्लिस डिफेण्डर नाथन माभिला, स्कटिस मिडफिल्डर फ्रांक रोस र जापानका केन्टा हाराललाई अनुबन्ध गरिसकेको छ ।
बुटवल लुम्बिनीले यस पटक टिमको मार्की र प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम बनाएको छ । राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की नियुक्त गरेको बुटवल लुम्बिनीले भुटानी प्रशिक्षक पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यस्तै अघिल्लो सिजन मार्की र कप्तान रहेका मिडफिल्डर एरिक विष्टसहित डिफेण्डर सरोज तामाङ र फरवार्ड निराजन धामीलाई बुटवलले रिटेन गरेको थियो ।
प्रतिक्रिया 4