+
+
Shares

मनाङमा यार्सा टिप्न जाँदा बितेका आकाशको शव निकाल्न नसकेपछि उतै सत्गत

उद्धारमा गएको सुरक्षाकर्मीको टोली चामे फर्कियो

५ हजार मिटरभन्दा माथि भीरबाट खोंचमा खसेका आकाश तामाङको शव सुरक्षाकर्मी तथा हेलिकप्टरको सहायतामा समेत निकाल्ने अवस्था नभएपछि सोही ठाउँमा अन्तिम संस्कार गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १८:०१
५ हजार मिटरभन्दा माथि रहेकाे मनाङको उत्तरीभेग ताङ्चे खर्कको खोंचमा तामाङको शव खोज्न गएका सुरक्षाकर्मी र परिवारजन ।

२२ वैशाख, मनाङ । मनाङको उत्तरीभेग ताङ्चे खर्कमा यार्सागुम्बा संकलनकै क्रममा भीरबाट खसेर मृत्यु भएका आकाश तामाङको शव निकाल्ने अवस्था नभएपछि सोही ठाउँमा दाहसंस्कार गरिएको छ ।

५ हजार मिटरभन्दा माथि भीरबाट खोंचमा खसेका तामाङको शव सुरक्षाकर्मी तथा हेलिकप्टरको सहायतामा समेत निकाल्ने अवस्था नभएपछि सोही ठाउँमा अन्तिम संस्कार गरिएको हो ।

५ हजार मिटरभन्दा माथिको उचाइमा खोंचमा खसेको शव निकाल्ने अवस्था उद्धारमा गएको टोलीले पनि नदेखेको र हेलिकप्टर मगाएर पनि पुगेर शव ल्याउने अवस्था नभएपछि परिवार तथा आफन्तको जिम्मा लगाएर मुचुल्का गराई सुरक्षाकर्मीको टोली फर्किएको मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।

उद्धारमा तिनै तहका सुरक्षाकर्मी खटाइएको थियो । सुरक्षा टोली नै आइतबार दिउँसोदेखि सम्पर्कविहीन थियो । घटनास्थल उच्च हिमाली क्षेत्र र सञ्चारको माध्यमसमेत नभएकाले थप जानकारी हुन सकेको थिएन । शव निकालेर ल्याउने अवस्था नभएपछि परिवारको रोहबरमा त्यहीँ अन्तिम सत्गत गरेर सोमबार सुरक्षा टोली चामे आइपुगेको आचार्यले बताए ।

मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर २ ताङ्चेखर्क हुलाकी ओडारमाथि भीरमा यार्सागुम्बा टिप्न गएका अकाशको खसेर मृत्यु भएको हो । धादिङ गंगाजमुना गाउँपालिका वडानम्बर १ का आकाशसहित ७ जनाको समूह वैशाख १५ गते यार्सा गुम्बा टिप्न पुगेको थियो ।

समूहमा गएका आकाश भोलिपल्ट १६ वैशाखमै हराएका थिए । उनको समूहले खोजी गर्दा उनी भीरबाट खसेर मृत अवस्थामा भेटिएको भन्दै उनका भाइ रोहितले १९ गते मेता मनाङ प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि मेता प्रहरी चौकीबाट लिलाबहादुर थापाको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक ओमबहादुर थापाको कमाण्डमा उद्धार सामग्रीसहित १० जनाको टोली पठाइएको थियो ।

शव भीरको बीच भागमा रहेको हुँदा निकाल्न नसकिने देखेपछि नार्पाभूमि गाउँपालिका– २ ताङचे खर्कस्थित हुलाकी ओडारबाट उक्त टोली कार्यालयतर्फ फिर्ता भएको थियो ।

‘२० गते जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बसेर चामेबाट २१ जना मेताबाट ४ जनाको टोली खटाएका थियौं । तीमध्ये पनि ६ जना सुरक्षाकर्मी मात्र घटनास्थल पुग्न सफल भएछन् । शव कुरेर बसेका आफन्त र परिवारसहित त्यहाँ १३ जना पुगेछन्,’ सीडीओ आचार्यले भने, ‘५ हजार मिटरमाथि हुस्सु लागिरहने, हावा चल्ने, माथिबाट ढुंगा खसिरहने रहेछ । उनका भाइ र आफन्तले नै शव लान सकिँदैन यहीँ संस्कार गरौं भनेछन् ।’

उतै शव सत्गत गरेर सुरक्षाकर्मीको टोली फर्किएपछि सुरक्षा समितिको बैठक बसेर प्रतिवेदनसमेत बुझेर गृह मन्त्रालयमा पनि त्यहीअनुसार रिपोर्टिङ गरिएको आचार्यले बताए ।

मेता प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय मनाङ, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वाटर चामे मनाङ, नेपाली सेनाको नयाँ भैरवी दल गुल्म चामे मनाङबाट २१ जना सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन भएका थिए ।

दुर्घटना भएको ठाउँ आसपासमा केही वर्षदेखि आकाशकै टोलीले ठेक्का लिएर यार्सा संकलन गर्ने गरेको थियो ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?