२२ वैशाख, पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै इरानी टोलीले अग्रता लिएको थियो । तर पुलिसले प्रतिस्पर्धात्मक दोस्रो सेट टाज्ञब्रेकमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायो ।
त्यपछि इरानी टोली खेलमा फर्कियो र तेस्रो र चौथो सेट क्रमश: २५–१८, २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।
च्याम्पियन इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्यो भने उपविजेता पुलिसले २ लाख ४४ हजार ४४४ प्राप्त गर्यो ।
यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । आर्मीले एपीएफलाई २९–२७, २५–२१, २२–२५, २५–२३ ले हरायो । आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्यो ।
च्याम्पियन इरानी टोलीका आमिर हुसेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गरे । इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशी सहित ६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा ईरानी टिम, भारतीय टिम, तीन विभागीय टोली नेपाल पुलिस क्लब. त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ तथा गणडकी प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4