
१२ जेठ, काठमाडौं । एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणा र सचिवालयको निर्णय बमोजिम १५ जेठका लागि प्रदर्शन तयारी थालेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा देशभर मनाउने निर्णय गरेको थियो ।
सचिवालयबाट यस्तो निर्णय हुनुअघि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै गणतन्त्र दिवसका दिन तीन घण्टा काठमाडौंको सडक एमालेको कब्जामा हुनुपर्ने बताएका थिए । बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानीका सडक कब्जा गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।
‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीको निर्देशन थियो, ‘..म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला ।’
प्रधानमन्त्री ओलीको भाषणपछि बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवस उत्सवका रुपमा मनाउने निर्णय गर्यो ।
सचिवालय बैठकमा पनि ओलीले वडाध्यक्षहरूको कार्यक्रममै जस्तो भाषामा सम्बोधन गरेको एक पदाधिकारीले बताए । ‘गणतन्त्र दिवसको तयारीबारे तपाईँहरूले वडाध्यक्षहरूको कार्यक्रममा जे सुन्नुभयो, उस्तै भाषामा सचिवालय बैठकमा पनि बोल्नुभएको थियो’, ती पदाधिकारीले भने । प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षार्थ पार्टीले सम्पूर्ण शक्ति प्रयोग गर्नेगरी तयारी अगाडि बढाउन निर्देशन दिएका छन् ।
सचिवालय बैठकपछि ओलीले प्रेस चौतारी नेपालका पदाधिकारीहरूसँग छलफल गरेका थिए । सरकारी निवास बालुवाटारमा राति अबेरसम्म चौतारीका नेताहरूसँग संवाद गरे । छलफलको प्रयोजन १५ जेठको तयारीबारे प्रचार गर्नु नै थियो ।
‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकराणका पक्षमा हामी छौं र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्छ’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
सचिवालयको निर्णय र ओलीको निर्देशनपछि सोमबार बिहानै केन्द्रीय कार्यालय च्यासलमा जनसंगठनका अध्यक्षहरू, इन्चार्जहरू र उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेला भयो । महासचिव शंकर पोखरेलले नेतृत्व गरेको यो भेला १५ जेठको तयारीमै केन्द्रीत थियो ।
भेलाले राजधानी उपत्यकामा गणतन्त्र दिवसका दिन जनपरिचालनको तयारीबारे निर्णय गरेको छ । निर्णय अनुसार जनपरिचालनको तयारीमा लगभग सबैजसो पदाधिकारी परिचालित हुनेछन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई काठमाडौं जिल्लाबाट जनपरिचालनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । ललितपुरको संयोजन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, भक्तपुरको संयोजन उपाध्यक्ष गुरु बराल र उपत्यका बाहेकका बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूको संयोजन अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नेछन् ।
जनसंगठनहरूको संयोजन सचिव गोकर्ण विष्टले गर्नेछन् । सम्पर्क मञ्चहरूको पनि भूगोल अनुसार पार्टी पदाधिकारीहरूलाई संयोजनको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष रामबहादुर थापा बादललाई कोशी, उपाध्यक्ष युवराज ज्ञवालीलाई मधेश, उपमहासचिव प्रदीप ज्ञवालीलाई बागमती, सचिव पद्या अर्याललाई लुम्बिनी र गण्डकी र सचिव लेखराज भट्टलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । सचिव योगेश भट्टराईले उपत्यका विशेषको संयोजन गर्नेछन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रहेका उपमहासचिव विष्णु रिमालले स्वयंसेवक परिचालनको जिम्मेवारी पाएका छन् । अर्का सचिव छबिलाल विश्वकर्मालाई सबै विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । एमालेले सरकारमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बाहेक सबै पदाधिकारीले जनचालन संयोजनको जिम्मेवारी दिएको छ ।
पार्टीका सम्पूर्ण पदाधिकारी नै परिचालित गर्नुको अर्थ एमालेले १५ जेठलाई विशेष महत्व दिएको प्रष्ट हुन्छ । ‘सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गणतन्त्रको रक्षार्थ हामीले सडकबाट प्रतिबद्धता जनाउँदैछौं,’ एमाले प्रचार विभाग प्रमुख ज्ञवाली भन्छन्, ‘एमालेको तयारी र उत्सवलाई कसैका विरुद्ध भनेर बुझ्न हुन्न ।’
तर त्यही दिनबाट राजावादीहरूले पनि आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा राजावादीहरू एकताबद्ध देखिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट लगायत एकजुट भएर आन्दोलन सुरु गर्ने तयारीमा छन् ।
राजावादीहरू एकताबद्ध भएर आन्दोलन अगाडि बढाउने भएपछि त्यसको प्रतिवादमा एमाले उत्रने देखिएको छ । प्रधानमन्त्री ओलीले राजावादीविरुद्ध जनपरिचालन हुने तथ्य लुकाएका पनि छैनन् ।
‘यिनीहरू (राजावादीहरू) कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फूर्तिफार्ती देखाएका छन्’ वडाध्यक्षहरूकै कार्यक्रममा ओलीले भने, ‘त्यसकारण हामीले आफूलाई बुझ्नु पर्यो, आफूलाई त्यसअनुसार तयार राख्नुपर्यो ।’
प्रधानमन्त्री ओलीले गरेको यस्तो अपिलको चर्को आलोचना भइरहेको छ । सत्ता चलाइरहेका कार्यकारी प्रमुखले आफ्ना कार्यकर्तालाई फरक विचारविरुद्ध सडकमै उतार्न खोजेको भनी आलोचना भइरहेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले बक्तव्य जारी गरेरै ओलीको अभिव्यक्तिप्रति चिन्ता जनाएको छ । ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ’, आयोगले भनेको छ ।
आयोगलाई राजावादीहरूले यसअघि नै १५ जेठको जनप्रदर्शनलाई निष्पक्ष अनुगमनका निम्ति आग्रह गरिसकेका छन् । गणतन्त्रवादीहरूको अभिव्यक्तिप्रति शंका गर्दै उनीहरूले निष्पक्ष अनुगमनको माग राखेका थिए । राजावादीहरूले यस्तो आग्रह गरेको केही दिनभित्रै स्वयं प्रधानमन्त्री ओलीले सडक कब्जा गर्ने घोषणा गरेका छन् । जसप्रति एमालेभित्रै पनि असहमति देखिन्छ । ‘हामीले जस्तो तयारी गर्दैछौं, यस्तो त पञ्चेहरूले गर्थे । प्रतिवाद नारा जुलुस निकाल्थे’ एमालेका एक नेता भन्छन् ।
सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि ओलीको उत्तेजक अभिव्यक्तिप्रति असहमति जनाएका छ् । ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नु हुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो । त्यस्त कुराहरू बाहिर आइन्दा नदोहोरियोस्’, थापाले भनेका छन् ।
तर एमाले प्रचार प्रमुख गौतम भने प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि पार्टी अध्यक्ष भएर कार्यकर्ताहरूलाई उत्साहित बनाउन मात्र त्यस्तो अभिव्यक्ति दिइएको तर्क गर्छन् । ‘सम्माननीय प्रधानमन्त्री हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले अध्यक्षको हैसियतमा आफ्ना कार्यकर्ताहरूसँग बोलेको कुरालाई अन्यथा बुझिनु हुन्न’, गौतम भन्छन्, ‘हाम्रो जनप्रदर्शन शान्तिपूर्ण हुन्छ, कसैप्रति लक्षित हुँदैन ।’
प्रतिक्रिया 4