News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो क्वालिफायर जितेर आईपीएलको फाइनल प्रवेश गरेको छ।
- पञ्जाब किङ्सलाई ८ विकेटले पराजित गर्दै बेंगलुरु उपाधिको नजिक पुगेको हो।
- पञ्जाबको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा पूरा गर्यो ।
१४ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई ८ विकेटले हराउँदै बेंगलुरु उपाधिको एक कदम नजिक पुगेको हो ।
पञ्जाबले दिएको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । फिलिप साल्टले अविजित ५६ रन बनाए । मयंक अगरवालले १९ रन बनाउँदा कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे ।
पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब १४.१ ओभरमा १०१ रनमा अलआउट भएको थियो । मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । प्रभसिमरन सिंह र अजमतुल्लाह ओमरजाइले समान १८ रन बनाए ।
बेंगलुरुका लागि जोश हेजलवूड र सुयाश शर्माले ३-३ विकेट लिँदा यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेपहर्डले १-१ विकेट लिए ।
बेंगलुरु ९ वर्षपछि फाइनलमा पुगेको हो । पछिल्लोपटक सन् २०१६ को संस्करणमा फाइनलमा पराजित भएको थियो । त्यसयता ४ पटक प्लेअफमा पुगेपनि फाइनल भने पुग्न सकेको थिएन ।
यस हारका बाबजुद पञ्जाबका लागि अर्को एक मौका हुनेछ । पञ्जाबले अब एलिमिनेटरमा हुने गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
गुजरात र मुम्बईबीचको एलिमिनेटर खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया 4