
समयलाई बोक्ने काँधहरू
हामी समयलाई काँधमा हालेर हिँड्ने केही प्राणीहरू थियौं । मन अघाउन्जेल कविता लेख्थ्यौं, कवि गोष्ठी, कविता उत्सवहरूमा चासो लिन्थ्यौं । नाटकघर, चित्रकला प्रदर्शनीहरू साझा घर लाग्दथ्यो ।
हिउँदमा पाटन दरबार क्षेत्रतिर बदाम खाँदै घाम तापिबस्थ्यौं । कहिले ख्वपःतिर हराएर जुजुधौको स्वादमा रमाउँदै बस्थ्यौं । कहिले चियापसलहरूमा दोहोरो तेहेरो चिया खान्थ्यौं । कहिले एक अर्काको कार्यथलोमा पुगेर र निवासमा पुगेर पनि हामी गफिथ्यौं, चिया खान्थ्यौं ।
कुनै पनि सानो फुर्सदिलो समयलाई पनि हामी आफ्नो वशमा लिन्थ्यौं र रमाउँथ्यौं । कुनै खास उद्देश्य, प्रलोभन वा कुनै महत्वकांक्षाका लागि थिएन हाम्रो भेट, संवाद वा घुमघाम । हामी आफ्नो काममै थियौं र आ–आफ्नो कामबाटै समय बचत गर्दथ्यौं । फेरि बचत समयबाटै मिठो साझा समय बाँड्थ्यौं ।
कहिले कविता भन्दै, कहिले आ–आफ्नै रोजगारीको सम्बन्धमा, कहिले यसै गीत गाउँदै, कहिले एकीकृत साझा संकल्पका कुरामा, कहिले राष्ट्रिय राजनीति, सामाजिक उद्वेलन र आफ्नै उपस्थिति तथा योगदानहरूका विषयमा हामी रुझानका साथ गफिन्थ्यौं । एकले चाहेपछि अर्कोसँग फोन गर्नु, अर्कोले फोनबाटै ओके भन्नु, ओकेबाट ओके बनाएर ठ्याक्कै हिँडिदिनु कति सहजता थियो, कति सरलता थियो ।
कुनै प्रश्न वा शंका हुन्थेन, कुनै आशय वा आकांक्षा केन्द्रित थिएन हाम्रो नियमित हिँडाई, बोलाई र भेटाइमा । तर विचारमा गहिरोपना, खोजाइमा एकीकृत संकल्प र भेट्टाइमा क्षितिजको दूरी जस्तो बन्दै थियो समय ।
हो, जेसुम जन्मनको लागि यो गर्भाधानको समय रहेछ । प्लिन्थ लेबलको निर्माणको क्रम रहेछ । शान्त, सौहार्द, प्रेमिल र सांस्कृतिक स्वाद बन्दैथियो हामी जेसुम अनुयायीहरूको प्रारम्भिक समय !
म विशेष सम्झिन चाहन्छु भावनात्मक स्वाद हृदयभित्रबाटै दिइरहने र साथ पनि दिइरहने प्रिय सबै व्यक्तित्वहरू ।
अफिसको सोफामा अमलेटसँगै खाएका थियौं प्रस्तावनाको स्वाद
म नेपाल मेडिकल काउन्सिलको जागिरे । प्रशासन प्रमुख । त्यहीं मेरो अफिस कोठामा त्यस दिनको हाम्रो समय थियो । अफिसको काम सकेर सोफामा संवादमा थियौं । खाजाको रूपमा मगाएको ठूलो अमलेट थियो ।
त्यसलाई पिस पिसमा साझा गरेर चम्चाले काट्दै बाँड्दै गर्दा मेरो मनबाटै एउटा प्रस्तावना गयो- हामी एउटा साझा अभियान गरौं । सबैका लागि सृजनात्मक र सकरात्मक हुने कार्य गरौं । सबैले स्वीकार्न सक्ने मीठो अभियान आरम्भ गरौं ।
‘कस्तो अभियान नाना ?’ फूलले उत्सुकतापूर्वक प्रश्न राखिहाल्यो ।
‘जस्तो कि हामीले गरिरहेकै छौं, एक अर्काको भावना बुझ्दै मनलाई फुराइरहेका छौं, रमाइरहेका छौं, कामहरूबाट केही समय निकालेका छौं, त्यही समय सबैका लागि साझा बाँडौं ।’
यो समाजमा सबैको अस्तित्व छ, उसको स्वामित्वलाई स्वीकार गर्न नसक्दा नकरात्मक टिप्पणीहरू धेरै भइरहेछन् । समाज हुनका लागि मानिस मात्र होइन, मानिसको विचार, विवेक, हैसियत र उपस्थितिलाई सशक्त बनाउने मानिस वरपरकै वातावरण, प्रकृति, कला, संस्कृति, पेशा, धर्म, भाषा, परम्परागत चालचलन, रितिरिवाज, चाडपर्व, पहिरन, खानपान, बोली, व्यवहार, सिप, कौसल आदि सबै भौतिक तथा अभौतिक विषयहरू पर्दछन् । तिनीहरूसँगको संगत, रूचि, सम्बन्ध र बुझाइले यो पृथ्वीमा एउटा मानिसको उपस्थिति कस्तो छ भन्ने कुरामा निकै फरक पर्दछ । यिनै विषयहरूलाई बोकेर हामी हिँडौं र एउटा सृजनात्मक यात्रा थालौं ।
फूलले गहिरो भएर सुनिबस्यो र भन्यो ः क्या सुन्दर र निकै गहन कुरा नाना । हामी अरु साथीहरूसहित फेरि अर्को बसाईमा यही विषयको सम्बन्धमा मात्रै कुरा गरौं न त भन्यो ।
हामीले अमलेटको टुक्रा र कफिको चुस्की सकाइसकेका थियौं, अहिले सम्झँदा त्यो अफिस कोठाको त्यो खैरो सोफा अनि त्यो मिठो प्रस्ताव गर्दाको समय निकै दुर्लभ साँझहरूमध्येको लाग्छ मलाई ।
त्यो एकीकृत उत्साह !
अभियान आरम्भको प्रस्तावनापछि दोस्रो, तेस्रो, चौथो राउण्डसम्म बस्नका लागि विषय त्यही पुगिहाल्यो । पुनः कहिले मेरो अफिस कहिले कमलपोखरी, कहिले अनामनगर, कहिले बानेश्वर, कहिले कौशलटार, त कहिले नक्साल चक्कर लगाई–लगाई बस्दै थियौं ।
भावनात्मक रूपमा धेरै व्यक्तिहरूको संगत र अनुयायी बन्दाबन्दै मनमा उब्जिएको भावना मात्र थियो जेसुम । त्यसमा घरपरिवारभित्रकै वातावरण, विभिन्न साहित्यिक, सांस्कृतिक व्यक्तित्वहरूसँगको संगतको पक्षधरता पनि हुनसक्दछ । सामाजिक, राजनीतिक वातावरणबाट उत्पन्न विविध भावहरू पनि हुनसक्दछ ।
मनमा पाकिबसेको त्यही भावनापछि वैयक्तिक रूपमै खुल्ला ढंगले छलफल चलाउन थालेपछि अब अभियान आरम्भ गर्ने निधो भयो । अभियानमा लिएर जाने विचार, विचारले सम्प्रेषण गर्नुपर्ने सन्देश, सन्देशमा अडिनुपर्ने समूह, समूहमा पर्नुपर्ने व्यक्तिहरू क्लियर गर्न थाल्यौं ।
मलाई यतिबेला जेसुम प्रारम्भिक समयको अभियन्ता रमेशजीको बहुत याद आइरहेछ । त्यसपछिको बसाई पनि मेरै अफिस साँझ ५ः३० बजेदेखि छलफलमा बसेका थियौं ।
रमेश कँडेल ट्वीटर (अहिले एक्स भनिन्छ) मा अति सक्रिय । म कविता लेख्दछु र राजनीतिमा पनि संलग्न छु तथा मेडिकल काउन्सिलमा पनि छु भन्ने जानकारी पाएपछि खोज्दै आफै भेट्न आउनुभएको थियो ।
फूल, म र बालकृष्ण अति मिलेको देखेर भनिहाल्यो- तपाईंको ग्याङमा म पनि है अबदेखि । तपाईंहरूको सृजनात्मक ग्याङ सदस्य, के के गर्नुपर्छ म तयार छु । तपाईंहरूको संगत चाहन्छु ।
त्यसपछिको बसाईमा रमेशजीलाई पनि बोलाएँ । चौथो बसाईपछि अभियान धुलिखेलबाट आरम्भ गर्ने निधो भयो । अभियानको नाम के राख्ने भनेर थुप्रै शब्दहरूमा अल्झियौं तर अभियानको आरम्भ हुनेभयो भन्नेमा दङ्ग थियौं, उत्साह र उमङ्ग एकीकृत थियो ।
धुलिखेलमा जुरेको नाम : जेसुम
१६ भाद्र २०७५ मा शुभमुहूर्त बन्यो धुलिखेल बसपार्क । चित्रकार, कवि तथा साहित्यकार, रङ्गकर्मी तथा पत्रकारहरूको एउटा सनसनी उपस्थिति थियो ।
धुलिखेलको प्राकृतिक मनोरम मात्र होइन, दैनिक जीवनका कर्महरू, साँघुरा बाटोहरू, हजार सिँढी टेक्दै पुगेका बुद्ध पार्क र भ्यूटावरबाट देखिने महाभारत पर्वत श्रृङ्खला र हिमालका चित्ताकर्षक दृश्यहरू सबै हेर्दै, देख्दै पुगेका अभियन्ताहरू एक बिसौनीमा बिसाएपछि शुरु भयो अभियानको विषयमा संवाद ।
सकरात्मकताका लागि, एक अर्को विचमा सामूहिक सहकार्यको मनोविज्ञान विकास गर्नका लागि, स्थानीय संस्कृति, विविध जनजीवनहरूको अवलोकन तथा तिनको पहिचानका लागि कला, साहित्य र रङ्गमञ्चको माध्यमबाट हामी आफ्नो भावना संसारले सुन्ने, बुझ्ने गरि फैलाउन सक्छौं ।
यही अभियानको आरम्भ हो, यो अभियानमा जो जो जोडिनुभयो, वहाँहरू आफै अभियन्ता हुनुहुन्छ । मैले अभियानको विषयमा प्रष्ट्याएँ । अभियानको विषयमा थप प्रष्ट पार्दै अभियानको नाम के राखौं भनेर हामीले तयार गरेको धेरै शब्दहरू फूलले प्रस्ताव राख्यो ।
उपस्थित स्रष्टाहरूले आ आफ्नो राय राख्नुभयो । अन्त्यमा बालकृष्णले अभियानको सम्बन्धमा आफ्नो तर्क सहितको शब्द छनौट गरिदियो, उपस्थित सबै अभियन्ताहरूले तालीको गडगडाहट सहित पारित भयो ‘जेसुम’ हामीले धुलिखेल डाँडाबाट अभियानको ऊर्जासँगै यसरी संस्थागत गरेका थियौं जेसुम ।
जेसुम : ल्हानान् ज्याबा अर्थात् असाध्यै राम्रो अर्थात् सौन्दर्य
सुन्दरताको सीमा के हो ? के लाई औधी राम्रो भन्ने ? रूपवान मान्छे वा मनपरेको मान्छे, के एउटै हुनसक्छ ? बगिरहेको नदीको सौन्दर्य र जमिरहेको तालको सौन्दर्य उस्तै हुन्छ ? त्यही नदी जमिदिन सक्छ, त्यही ताल बगिदिन सक्छ । तिनको गतिशीलतासँग लाग्ने सौन्दर्य र तिनको स्थिरतासँग लाग्ने सौन्दर्यलाई किन प्रतिस्पर्धी बनाइरहने ? किन द्वन्द्वग्रस्त भइरहने ?
हामी बस् प्रत्येक वस्तु वा आभाषहरूको उपस्थितिलाई र तिनको गुन, बैगुनलाई सौन्दर्यताको दृष्टिबाट सम्झन सकौं, स्वीकार्न सकौं । सौन्दर्य चेतनालाई गुण, वैगुण तथा रूप, कुरूपसँग मात्र होइन, स्वरूपको पक्षधरता र सारको पक्षधरताबाट पनि विश्लेषित हुनुपर्दछ । जेसुम शब्दको ओजन यही हो ।
तामाङ भाषाबाट ज्याबा भनेको राम्रो, सुन्दर भनिएको हो । त्यही ज्याबा शब्दबाट जेबा हुँदै हामीले जेसुम शब्द ब्यूँतायौं । यो शब्द लेखेर प्रस्ताव गर्ने हाम्रो अभियन्ता समूहभित्रबाट पनि फूल अर्थात् फूलमान बल हो । पारित गर्न प्रस्ताव गर्ने बालकृष्ण बस्नेत हो ।
चन्द्रागिरीको उचाईमा र धनकुटाको दौडाईमा : जेसुम
४ भाद्र २०७८ को भिराडिल चन्द्रागिरी जेसुम उत्सव जेसुम अभियानको विशेष अङ्क बन्यो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँकी धर्मपत्नी राधिका शाक्यको गरिमामय उपस्थिति जेसुम अभियन्ताहरूको लागि उत्साह र प्रेरणादायक बन्यो ।
राधिका शाक्यको गरिमामय पूरा समयको उपस्थिति भक्तपुर जेसुममा हामीले पाइसकेका थियौं । आमाको अभिभावकत्व र मार्गनिर्देशले अभियन्ताहरू यसै पुलकित थिए ।
राजनीतिक उचाईका उतारचढावहरूका बीच जेसुम अभियन्ताहरूका माझ चन्द्रागिरीको उचाईमा राष्ट्रकै अभिभावकको उपस्थितिले कति फुरुङ्ग कति हामी त । वहाँले आफ्नो उपस्थितिमा जेसुमको नियम अनुसार स्थलगत रूपमै कविता रच्नुभयो र वाचन पनि गर्नुभयो ।
चन्द्रागिरीको उचाईमा यसरी चुलिएको जेसुमको उचाई शब्दले वर्णन गरेर पुग्दै पुग्दैन । हाम्रो अभियानप्रति अन्य समयमा पनि सोधखोज गर्नुहुँदै सँधै ऊर्जा, प्रेरणा र साथ दिइरहनुहुने प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यप्रति हामी हार्दिक धन्यवाद, आभार प्रकट गर्दछौं ।
०००
धनकुटाको कचिडे, प्रेरणादायी साहित्यकार झमक घिमिरेको थातथलो । ठूलो बस रिजर्भ गरेर ३ दिनको यात्रा तय गर्दै पुगेको थियो जेसुम अभियन्ताहरू । झमक घिमिरेको जन्मदिन असार २१ गते ।
जन्मदिनको छेको पारेर १९ असार २०७६ मा काठमाडौबाट हिँडेको टोलीले धनकुटाको प्राचीन आठपहरिया किराँत बस्ती तथा जनजीवनको अवलोकन, सांस्कृतिक संवादहरू गर्दै चुलीवनको भ्रमण समेत गरेपछि साहित्यकार झमक घिमिरेको उपस्थितिमा गरिएको रचना, सृजना वाचन कार्यमा पूरै धनकुटाको सौन्दर्यता उत्रिएको थियो ।
झमक घिमिरे साहित्यकला प्रतिष्ठानको सहकार्यमा धनकुटा, पाख्रिबास लगायत आसपासका स्थानीय स्रष्टाहरूको उपस्थितिले जेसुम अभियानको दौडान उपत्यकाबाहिर पहिलो बन्नपुग्यो धनकुटा जेसुम । यो अविष्मरणीय पललाई हामी सँधै आँखैमा कैद राख्न चाहन्छौं ।
७ वर्षे निरन्तर यात्रा मध्यपुर थिमि आइपुग्दा …
आज जेसुम ७ वर्षमा हिँड्दैछ । यसबीचमा उसले नगरकोट, बौद्धनाथ, अनन्तलिङ्गेश्वर, साँखु, तारकेश्वर, विष्णुद्वार–डाँडागाउँ, टोखा, धनकुटा (आठपहरिया वस्ती), खोकना, बालुवाटार (टुसालपार्क), चुनिखेल, बागद्वार हुँदै यतिखेर भर्खरै मध्यपुर थिमिसम्मको अभियान यात्रा तय गरिसकेको छ ।
धेरै चित्रकार, कलाकार, कवि, साहित्यकार, पत्रकारहरू यस अभियानमा जोडिसक्नुभएको छ । अभियान थाहा पाएर स्वतःस्फूर्त आउनुहुनेहरू पनि थपिँदै गएको छ । जेसुमको धारणा नै एक अर्कोसँग जोडिनु हो । जोडिएपछि एक अर्कोको भावनाबाट नछुट्टिनु पनि हो ।
भौतिक उपस्थितिभन्दा भावनाको बेजोडपन जेसुमले महत्व राख्दछ । यात्रा गर्दै भावना पोख्नु, विचार पोख्नु, सृजना पोख्नु जेसुमको कला हो । कलाभित्र सकरात्मकता, यथार्थता, स्थानीयता यसको प्राण हो । जेसुममा पुराना सृजना, रचना प्रस्तुत गर्न वर्जित छ ।
सृजना, रचनामा जहाँ उभिएको हो, त्यो ठाउँ भुल्न वर्जित छ । जहाँ पुगेको हो त्यो ठाउँ छाड्न वर्जित छ । देखिएकोलाई अन्देखा गर्न वर्जित छ र त सृजनामा स्थानीयता, यथार्थ र सत्यनिष्ठा आइदियोस् भनेर जेसुमले सकेसम्म सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्वका, प्राचीन तथा सामाजिक जनजीवन, सम्पदा, प्राकृतिक, कला, सभ्यताले भरिपूर्ण स्थान, सामाजिक विविधतायुक्त जनजीवनको स्थानहरू छनौट गर्ने गर्दछ ।
मध्यपुर थिमिको प्राचीन कला, संस्कृति, सम्पदा र जनजीवनले हामी जेसुम अभियन्तालाई भुतुक्कै प्रेम बसाएको छ र त रचनाहरू कति गर्विला आएका छन् । ती सबैको सङ्गालोको रूपमा एउटा जीवन्त अभिलेखन गर्ने हुटहुटी जागृत गराइदिनुभयो मध्यपुर थिमि जेसुमका व्यवस्थापक मदनसुन्दर श्रेष्ठज्यू र ज्ञानराम श्रेष्ठज्यूले । मध्यपुर थिमि जेसुमको यो विशेषाङ्क अब सबैको हातमा पुग्नेभो भन्ने कुरा सम्झेरै हामी दङ्गदास परिहाल्यौं ।
र धन्यवाद… ती दृश्य अदृश्य सबै व्यक्ति तथा भावावेगहरूलाई
काम नगरी बस्नै नसक्ने आदत । कामको अधिक बोझ, तर मनमा केही गर्न सकिएन भन्ने शंका पनि सँगसँगै । अफिसकै कार्यबोझ ठूलो अफिस बाहिर पनि काम बोक्ने आदत थियो । राजनीतिक, सामाजिक, परोपकारी काम पनि गरिरहेकै थियौं तर मनभित्र हुटहुटी भैरहेकै थियो । यो हुटहुटीपन आज जेसुम बनेको छ ।
जेसुमको आरम्भमा फूल, बालकृष्ण, म, रमेशजीको भौतिक उपस्थिति थियो होला तर यो अभियान बन्नमा धेरैको संगत्, धेरैको आदत, धेरैको अभिभावकत्व गुण हामीले लिएका छौं । यसमा विशेष गरी वरिष्ठ साहित्यकार स्नेह सायमी, बासुदेव अधिकारी, लक्ष्मी माली जस्ता विशिष्ट साहित्यिक व्यक्तित्वहरू हाम्रो साथमा हुनुहुन्छ र नियमित श्रृङ्खलामा सँधै जोडिरहनुभएकैछ ।
लालकाजी लामा, दिपेन्द्र बनेपाली, एन. बी. गुरुङहरू जस्ता चित्रकारितामा पोख्त व्यक्तित्वहरूसहितको समूह हामीसित हुनुहुन्छ । रोजिता बुद्धाचार्य, राजन खतिवडा, केदार श्रेष्ठ जस्ता रङ्गकर्मीहरूको समूह हामीसीत हुनुहुन्छ । चन्द्रागिरीका उत्तम राउतदेखि थिमिका मदनसुन्दर र ज्ञानरामसम्म, डाँडागाउँका दोर्जे तामाङदेखि चुनिखेलका टिकेशनारायणसम्म बौद्धनाथ स्तुपादेखि धनकुटाको चुलीबनसम्म जेसुम पुगिसकेको छ ।
यहाँसम्म ल्याइपुर्याउन दृश्य, अदृश्य सहयोग गर्नुभएका सबै स्रष्टा तथा अभियन्ताहरूलाई र हाम्रा भावना बन्न प्रेरित गरेका भावावेगहरूलाई हार्दिक धन्यवाद, आभार । यो अभियान तपाईहरू सबैको भयो ल । जय जेसुम !
–लेखक जेसुम अभियानका परिकल्पनाकार तथा संस्थापक हुन् ।
प्रतिक्रिया 4