+
+
Shares

नाम मिलेकै आधारमा चलाइयो डाँका मुद्दा

जाहेरी परेको थियो, विष्णुपुर गाउँपालिका- ३ का बिताई यादवका छोरा वर्ष २५ का रोशनकुमार यादवविरुद्ध । मुद्दा चलाइयो, जयनारायण यादवका ३२ वर्षीय छोरा रोशनकुमार यादवमाथि ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ जेठ २२ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको विष्णुपुर गाउँपालिका-३ का रोशनकुमार यादवलाई डाँका मुद्दामा फसाइएको आरोप छ।
  • उहाँले भने, ‘म कमाएर खाने मान्छे हुँ । अपराधिक घटनामा कहिल्यै संलग्न छैन।’
  • प्रहरीले नाम मिल्ने आधारमा निर्दोषलाई फसाएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

२२ जेठ, जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-३ कौवाहा टोलका ३२ वर्षीय रोशनकुमार यादव ४ महिनादेखि तनावमा छन् । परिवारका ६ जना सदस्यको जिम्मेवारी उनकै काँधमा छ ।

वृद्ध आमाबुबा, मानसिक रोगी भाइको नियमित औषधि उपचार र ५ वर्षीय छोराको पढाइ, यी सबै खर्च धान्न उनलाई हम्मेहम्मे परेको छ । घर धान्नै मुस्किल परेपछि रोशन चौथो पटक वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए ।

माघको अन्तिम सातातिर जब उनी पुलिस रिपोर्ट लिन जिल्ला प्रहरी कार्यालय पुगे, आफूमाथि दर्ता भएको डाँका मुद्दाको फाइल देखेर अत्तालिए । ‘फाइलमा मेरो नाम थियो । मैले केही गल्ती नै गरेको थिइनँ । तर मेरो नाममा डाँका मुद्दा रहेछ । म निकै डराएँ,’ रोशन त्यस दिनको घटना सम्झन्छन् ।

२० कात्तिक २०८१ मा सुनितादेवी कामतीको जाहेरीका आधारमा सरकारवादी रहेको डाँका मुद्दा अमरेशकुमार यादव र रोशनकुमार यादवविरुद्ध जिल्ला अदालत सिरहामा दर्ता छ । १० फागुन २०८१ मा अदालतमा हाजिर भएर उनी साधारण तारेखमा रिहा भए ।

फौजदारी मुद्दा भएकाले रोशनको विदेश जाने बाटो बन्द भयो । ४ महिनायता उनी अदालतमा तारेख धाइरहेका छन् । यही २६ जेठमा अदालतमा साक्षी बकपत्र छ । तर मुद्दा कहिले टुंगिने हो, थाहा छैन । रोशन ठूलो आर्थिक संकटका साथै मानसिक तनावको सामना गरिरहेका छन् ।

त्यसकारण रोशन ८ वर्ष निरन्तर विदेशमा खटे । ३ वर्ष कतार, ३ वर्ष साउदी र २ वर्ष मलेसिया । अहिले चौथो पटक विदेश जाने तयारीमा रहेका फौजदारी मुद्दा लागेपछि रोकिएका छन् ।

‘मेरो घरको आर्थिक अवस्था एकदमै कमजोर छ । म एक्लोले कमाएर घर चलाउनुपर्छ । भएको एक बिघा जग्गाको उब्जाउले खानसमेत पुग्दैन । प्रहरीले फसाएपछि विदेश जान पाइनँ,’ रोशनले पीडा सुनाए, ‘आमाबुवा वृद्ध हुनुहुन्छ । भाइ बिरामी छ ।’

मुद्दा कहिले टुंगिने थाहा छैन । चाँडै छिनोफानो नभए विदेश जान नपाएर भएको सम्पति पनि बेचिएर सडकमा आउने चिन्ताले उनलाई झन् पिरोल्छ । ‘पुलिस रिपोर्ट पाएको भए म २० दिनभित्रै विदेश उडेर आज काम गरिरहेको हुन्थें । यसैगरी ऋण लिएर परिवार चलाउने हो भने चाँडै हामी सडकमा आउँछौं,’ उनको चिन्ता छ ।

के हो घटना ?

सिरहाको सिरहा नगरपालिका- ११ भलुवाही बस्ने भोला कामतीका श्रीमती ४५ वर्षीया सुनितादेवी क्रामतीमाथि लुटपाट भएको थियो । २५ असोज २०८१ मा राति घर नजिकै भलुवाही चोकमा झिझिया हेरेर फर्किरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले कुटपिट गरी लुटपाट गरेको भन्दै सुनिताले कात्तिकमा सिरहा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीमा सिरहाको विष्णुपुर गाउँपालिका- ३ रजौखोर टोल बस्ने संगमलाल यादवको छोरा अमरेश यादव र स्थानीय बिताई यादवको छोरा वर्ष २५ का रोशनकुमार यादव घटनामा संलग्न रहेको उल्लेख छ ।

जाहेरीमा झिझिया हेरेर घर फर्किने क्रममा राति ११ बजे भलुवाही चोकभन्दा पूर्व नरहिया गाउँ जाने सडकमा स४प ६४१५ नम्बरको मोटरसाइकल चालक अमरेश यादव र सोही मोटरसाइकल पछाडि बसेका रोशनकुमार यादव समेतले मंगलसुत्र, तिलहरी, नाकको फुली, पाउजु समेत गरगहना खोस्न खोजेको उल्लेख छ ।

त्यस क्रममा प्रतिकार गर्दा उनीहरूले कुटपिट गरी घाइते बनाएर आफूले लगाएको ४ अनाको मंगलसुत्र, २ आनाको नाकको फुली र ६ तोलाको चाँदीको पाउजुसहितका गहना लुटेको सुनिता देवीको जाहेरीमा उल्लेख छ । दुवैजनालाई कानुनबमोजिम पक्राउ गरी कारबाही गरी गरगहना फिर्ता दिलाइदिन सुनिताले माग गरेकी छन् ।

कसरी फसाइयो निर्दोष रोशनलाई ?

सुनिताले दिएको जाहेरीमा स्पष्ट रूपमा विष्णुपुर गाउँपालिका- ३ का बिताई यादवको छोरा वर्ष २५ का रोशनकुमार यादव भन्ने उल्लेख छ । तर, अनुसन्धानमा संलग्न प्रहरीले जयनारायण यादवका ३२ वर्षीय रोशनकुमार यादवमाथि मुद्दा चलाइदियो । जबकि, बुबाको नाम र रोशनको उमेरसमेत मिल्दैन ।

त्यही टोलमा बिताई यादव र उनका २५ वर्षीय छोरा रोशन यादव पनि छन् । नाम मात्र मिलेको आधारमा निर्दोष रोशनलाई प्रहरीले घटनामा संलग्न प्रतिवादी बनाएको छ ।

प्रहरीका अनुसार डाँका मुद्दामा संलग्न दाबी गरिएको बिताई यादवका छोरा रोशन त्यसपछि पनि सिरहाबाट गाँजासहित पक्राउ परेका थिए । यता, निर्दोष रहेका रोशन त्यसको सजाय भोगिरहेका छन् ।

‘म कमाएर खाने मान्छे हुँ । अपराधिक घटनामा कहिल्यै संलग्न छैन,’ उनले भने, ‘न वादीले दिएको जाहेरीमा मेरो बुबाको नाम मिल्छ, न त मेरो उमेर । प्रहरीले कुनै चलखेल गरी दोषीलाई उम्काउन म निर्दोषलाई फसाएको जस्तो मलाई लाग्छ,’ रोशन गुनासो गर्छन् ।

रोशनका हजुरबुबा जगदीश यादव पनि नातिलाई फसाइएको दाबी गर्छन् । ‘अड्डाखाना कहिल्यै गएको छैन । पेटको समस्या भएर विदेशबाट आएर बसिरहेको मेरो नातिलाई फसाए । विदेश जान नपाएर समस्यामा परेको छ,’ उनले भने ।

यस घटनाको अनुसन्धान र मुद्दा अभियोजनमा जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसन्धान शाखा प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी निरीक्षक दिपक सिंह संलग्न छन् । उनैले रोशनमाथि मुद्दा चलाएका हुन् ।

आफूमाथि मुद्दा दर्ता भएको थाहा पाएपछि रोशनले केही स्थानीय व्यक्ति लिएर ४ दिनपछि नै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसबेला मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सिंहले गल्तीले निर्दोष रोशनमाथि मुद्दा दर्ता भएको स्वीकारेको रोशनको भनाइ छ ।

‘वडाध्यक्षसहित भरभलादमी लिएर पुगेपछि इन्स्पेक्टर दिपक सिंहले गल्तीले तपाईंको नाममा मुद्दा दर्ता भयो । तपाईं नडराउनूस्, केही हुँदैन, अदालतमा हाजिर भएर मात्र तारेखमा आउनुपर्छ । वकिल पनि मैले नै व्यवस्था गरिदिन्छु भन्नुभयो,’ प्रहरी निरीक्षक सिंहले आश्वासन दिएको कुरा रोशन सुनाउँछन् ।

घटनामा संलग्नको आरोपमा केही समयपछि पक्राउ परेका आमरेश र जाहेरीकर्ता सुनिताले समेत मुद्दा दर्ता रहेको रोशन निर्दोष रहेको प्रहरीमा बयान दिएका छन् । अहिले पनि प्रहरी निरीक्षक सिंह जिल्ला प्रहरी कार्यालय सिरहामै कार्यरत छन् ।

प्रहरी निरीक्षक सिंह भने यस घटनाबारे केही बोल्न मानेनन् । निर्दोश मान्छेमाथि कसरी डाँका मुद्दा चलाउनुभयो नि भन्ने अनलाइनखबरकर्मीको जिज्ञासामा प्रहरी निरीक्षक सिंहले भने, ‘यो अलि पुराने घटना हो । मिसिल नै हेर्नुपर्छ । यो अनुसन्धानको विषय हो । चलिरहेकै छ । यसमा त्यस्तो कुनै समस्या छैन । यो विषयमा मैले केही भन्न मिल्दैन । जिल्लाकै प्रवक्तासँग बुझ्नु होला ।’

यसबारे जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवान पनि प्रहरीसँग जोडिएको विषय भएकाले कार्यालय प्रमुखसँग बुझ्न आग्रह गर्दै केही बोल्न मानेनन् ।

यता, प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले पछि आएकाले यो घटनाबारे आफूलाई जानकारी नभएको बताए । ‘म पछि आएको हुँ । यो घटनाबारे बुझेर मात्र केही भन्छु,’ एसपी शर्माले भने ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?