+
+
Shares
सिनेमा :

आदित्य विक्रम सेनगुप्ता : पश्चिम बंगालका तार्कोवस्की !

प्रवीण पौडेल प्रवीण पौडेल
२०८२ जेठ २४ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आदित्य विक्रम सेनगुप्ताका सिनेमाहरूमा आत्मीयता र गहिरो चिन्तन देखिन्छ, जसले बंगाली सिनेमा र तार्कोवस्कीको प्रभाव झल्काउँछ।
  • उनले बनाएका ‘आशा जाओर माझे’ र ‘जोनाकी’ जस्ता फिल्महरूले प्रेम, स्मृति र जीवनको अन्तिम क्षणलाई बिम्बात्मक र कविता जस्ता दृश्यहरूमा प्रस्तुत गर्छन्।
  • यी फिल्महरूले भारतीय र बंगाली सिनेमा परम्परालाई नयाँ ढंगले प्रस्तुत गरी गहिरो मनोवैज्ञानिक र दार्शनिक विचारहरू व्यक्त गर्छन्।

‘सायद सिनेमा मान्छेको सबैभन्दा व्यक्तिगत र अति घनिष्ठ कला हो । सिनेमामा रचयिताको आत्मीय सत्य मात्र दर्शकलाई स्वीकार्न अनि विश्वास गर्न पर्याप्त हुन्छ ।’
(आन्द्रे तार्कोवस्की, जर्नल १९७०-१९८६)

जब मैले पहिलोचोटि आदित्य विक्रम सेनगुप्ताका सिनेमाहरू हेरेँ, तब मलाई आद्रे तार्कोवस्कीले आफ्नो डायरीमा लेखेका यी वाक्यहरूको सम्झना भयो । पश्चिम बंगालका सेनगुप्ता पनि यस्ता निर्देशक हुन्, जो अत्ति नै व्यक्तिगत अनि आत्मीय सिनेमा बनाउँछन् । बंगाली सिनेमा र संगीतको एउटा छुट्टै उचाइ छ । बंगालका सिनेम्याटिक आकाशमा सत्यजीत राय, मिर्नल सेन, ऋत्विक घातक, तपन सिन्हाजस्ता क्लासिक डाइरेक्टहरूले ‘रियलस्टिक सिनेमा’ या ‘आर्ट सिनेमा’मा गहिरो प्रभाव छोडेका छन् ।

रितुपोर्नो घोष, अर्पना सेन, कौशिक गांगुली, आदित्य विक्रम सेनगुप्ताजस्ता अहिलेका समाकालीन बंगाली डाइरेक्टरहरूले त्यसको बिँडो थाम्दै आएका छन्, जसमध्ये मलाई असाध्यै मन पर्ने डाइरेक्टर हुन्: आदित्य विक्रम सेनगुप्ता ।

तार्कोवस्कीजस्तै उनका सिनेमाहरूमा पनि आध्यात्मिक तथा मेटाफिजिकल विषयवस्तुहरूको गहिरो चिन्तन छ । त्यस्तै, ढिलो गतिमा खिचिएका लामा दृश्यहरू, सपनाजस्ता अनौठा अनि निरर्थक दृश्यहरू, र कथामा समय र स्मृतिसँग खेल्ने लगाबले मलाई सेनगुप्ताका सिनेमाहरू बंगाली रसमा मुछिएका तार्कोवस्कियन दुनियाँजस्ता लाग्छन् । उनका सिनेमामा मेटाफरको प्रयोग ईश्वरबल्लभका कविताहरूझैं बिम्बात्मक छन्– हरेकचोटि दोहोर्‍याएर ती सिनेमा हेर्दा मलाई एउटा छुट्टै कविता पढेजस्तो लाग्छ ।

आशा जाओर माझे (लेबर अफ लभ) : व्यवहारको तराजुमा भार मिलाइरहेका दुई प्रेमपिण्ड

पश्चिम बंगालमा आर्थिक मन्दी छाएको छ, जसकारण बेरोजगारी बढेको छ । उद्योगहरू बन्द भइरहेका छन्, कामदारहरूलाई कामबाट निष्कासित गरिएको छ । शहरका सडकमा मजदुरहरूको हकका निम्ति आन्दोलनको आवाज चर्कदो छ । यी सबै परिदृश्यहरूबीच एक विवाहित जोडी एक-अर्काको सामीप्य, प्रेमिल स्पर्श पाउन तिर्खाएका छन् ।

नोबेल पुरस्कार बिजेता इटालियन लेखक तथा पत्रकार इटालो क्याल्भिनोको एउटा कथा छ– ‘द एडभेन्चर अफ म्यारिड कपल’, जसबाट प्रेरित हुँदै एउटा फरक र निर्दोष भाषा बोकेर आदित्य विक्रम सेनगुप्ताको यो फिल्म बनेको छ ।

यो फिल्ममा दुईवटा आँखा छन्: पति र पत्नी । राज्यमा छाएको आर्थिक मन्दीका कारण उनीहरूलाई फरक-फरक समयमा काम गर्नुपर्ने बाध्यता छ । यो दिन र रातको कथा हो, यहाँ पत्नी दिनमा एउटा कम्पनीमा इन्भेन्टोरी अकाउन्टिङको काम गर्न जान्छे भने पति रातमा एउटा प्रिन्टिङ प्रेसमा काम गर्छ– यो सिनेमामा दिन(पत्नी) र रात(पति) अलग भएपनि कसरी उनीहरू एक-अर्काका पुरक हुन् भन्ने कुरालाई स-साना बिम्बात्मक र विस्तृत दृश्यहरूबाट देखाउन खोजिएको छ । दुवैको टिफिनमा रहेको एउटै खाजा, खुद्रा पैसालाई खुत्रुक्केमा हाल्ने दुईजनाकै बानी, ढोकामा ताल्चा लगाएर चाबी झ्याल छेउमा राखिदिनु, निद्राबाट एक-अर्कालाई उठाउन फोन गर्नुजस्ता दृश्यहरूले सिनेमामा उनीहरूको अन्तरसम्बन्ध मिहीन र एकरुप ढंगले प्रस्तुत भएको छ ।

दैनिक व्यवहारिकतामा थिचिँदै गइरहे पनि उनीहरूबीचको प्रेम र दायित्व भने ओझेल भएको छैन । घरको अघोषित श्रम विभाजनले एकअर्कालाई प्रशंसा र ढाडस दुवै दिइरहेको छ । ऊ रासन लिएर आउँछ, ऊ पकाउँछे । ऊ कपडा धुन्छे, ऊ सुकाउँछ । हरेक बिहान उनीहरूको भेट एकैछिनलाई हुन्छ, पति घर फर्किएको हुन्छ, पत्नी काममा निस्किन लागेकी हुन्छे । तर त्यो उनीहरूको भेट कुनै सपनाजस्तो छ– फिल्ममा डाइरेक्टरले पनि उनीहरूको उक्त मिलनको क्षणलाई स्वैरकाल्पनिक ढंगले मोनोक्रोम्याटिक दृश्यमा देखाएका छन् । त्यो छोटो भेट कुनै लामो अनि मिठो कविताजस्तै लाग्छ ।

एक दृश्य : आशा जाओर माझे(२०१४)

यो फिल्मले भारतमा सन् १९६०/७० ताकाको ‘न्यु इन्डियन सिनेमा’ वा ‘प्यारालल सिनेमा’ मुभमेन्टको सम्झना गराउँछ, जतिबेलाको वैकल्पिक भारतीय सिनेमामा ‘इटालियन नियोरियल्जम’को प्रभाव परिसकेको थियो र त्यतिबेला मणी कौल, स्याम बेनेगल, कुमार सहानीजस्ता निर्देशकहरूले सिनेमामा यर्थाथवादी कथा भनिरहेका थिए । सिनेमामा चिन्तन र चेतना वास्तविक ढंगले प्रस्तुत गरिन थालिएको थियो ।

यो फिल्म आफ्नो विषयवस्तुमा साँचो छ, यो जे भनिरहेको छ– त्यसमा निकै इमान्दार देखिन्छ, दुई पात्रहरूको बीचको चेतनाको अन्तरक्रिया, वस्तुहरूको बिम्बात्मक प्रयोग– एउटा दृश्यमा पतिले बजारबाट ल्याएको दाल, चामलजस्ता रासनलाई पत्नीले विभिन्न बट्टाहरूमा खनाइरहेकी छे– यसले उनीहरूले कसरी आफ्ना आधारभूत आवश्यकताहरू पूरा गरिरहेका छन् भन्ने कुरा दर्शाउँछ ।

एक दृश्य : आशा जाओर माझे(२०१४)

नेस्नल अवार्ड विजेता सेनगुप्ताको पहिलो फिल्म– ‘आशा जाओर माझे’ कुनै संवादबिना नै सकिएको छ, तर कहिलेकाहीँ शब्दहरूले पनि मौनताको भार थेग्न सक्दैनन्, क्रिया बोलीभन्दा धेरै चिच्याउँछ भनेझैं । ऋत्विक चक्रवर्ती र बसवदत्त चटर्जीको उत्कृष्ट अभिनय, कवितात्मक दृश्य र नेपथ्यमा बजिरहेको मधुर संगीतले फिल्मबारे धेरै कुरा बोलेको छ । यो पुँजीवादी मञ्चमा वाचन भइरहेको प्रेम कविता हो, यो आउनु र जानुबीचमा अड्किएको तिर्खा र पर्खाइको कथा हो । जस्तो पति हरेक बिहान चिया पिउँदै झ्यालबाट गल्लीमा आफ्नी पत्नी काम गर्न गइरहेको हेरिरहन्छ ।

जोनाकी : सुन्तला छोडाइरहेका जर्जर यादहरू

तपाईं बुढो हुनुभएको छ । यतिखेर तपाईं हस्पिटलको एउटा बिस्तारामा बिरामी भएर पल्टिनु भएको छ । सायद मृत्यु पनि तपाईं नजिक आइपुग्न लागेको छ । अब तपाईं सम्झन थाल्नुहुन्छ, आफ्नो बाल्यकाल । आफ्नो जवानी । अतीतका ती दिनहरू । तपाईंको खिइँदै गरेको मस्तिष्कले कुन-कुन यादहरू सम्झिन सक्छन् ? कस्ता देखिन्छन् त्यो बिमार बुढो मस्तिष्कले सम्झिएका यादहरू ? र त्यो यादभित्र तपाईं आफूचाहिँ कस्तो देखिनु हुन्छ ?

आन्द्रे तार्कोवस्कीको ‘द मिरर’, सर्गे पराजानोभको ‘द कलर अफ प्रोमोगेनेट’, डेबिड लिन्चको ‘इरेजरहेड’ र रोय एन्डरसनको ‘एबाउट इन्डलेस’लाई एउटै रिलमा घोलेर त्यसमा बंगाली श्रृंगार थपिदिने हो भने त्यसले आदित्य विक्रम सेनगुप्ताको ‘जोनाकी’लाई जन्म दिन्छ ।

‘जोनाकी’ निर्देशक सेनगुप्ताको निकै व्यक्तिगत सिनेमा हो– यो फिल्म उनले आफ्नी हजुरआमाको जीवनबाट प्रेरित भएर बनाएका हुन् । ‘यो फिल्मको आत्मा नै मेरी हजुरआमाको जीवनमा आधारित छ । यसमा प्रयोग भएका अधिकांश कुराहरू मैले उनले सुनाएका कथाबाट सापटी लिएको हुँ’—उनले एउटा अन्तर्वातामा भनेका छन् र यस कुरामा शायदै उनले सम्झौता गरेका छन् । यस फिल्मको अनौठो कथावाचन र बिम्बात्मक दृश्यहरूको प्रयोगले यो कसैले देखिरहेको सपना हो जस्तो लाग्छ, जस्तो कतिपय दृश्यहरू निर्देशकको त्रासदी भरिएका सपनाहरू– जुन उनले आफ्नी हजुरआमाको मृत्युपछि देखेका थिए– बाट लिइएका छन् ।

जोनाकी (लोलिता चटर्जी), एक ८०-वर्षीया वृद्धा अस्पतालको बिस्तारामा आफ्नो जीवनको अन्तिम घडीमा छिन्, उनका यादहरू खोतलिन्छन्– सम्झनामा उनी १९ वर्षकी छिन् तर फिल्ममा १९-वर्षीया उनको शरीरलाई ८० वर्षको बुढो देखाइएको छ, जसले बुढेसकालमा मृत्युशय्याबाट सम्झिएका यादहरू कस्ता हुन्छन् भन्ने कुरालाई प्रतिबिम्बित गरेको छ– जसरी फिल्ममा देखाइएका मक्किएका भुईँहरू, काई लागेको वातावरण र भत्किँदै गरेका भर्याङहरूले उनको विस्मृत हुँदै गइरहेका यादहरू र उनको उदासिनता भरिएको बुढेसकाललाई दर्शाउँछ ।

फिल्मका हरेक फ्रेमहरू पेटिङजस्ता देखिन्छन् । यसमा प्रयोग भएका कसैका सपनाजस्ता स्वैरकाल्पनिक बिम्बले, यो सिनेमा लेखक तथा निर्देशक सेनगुप्ताले इमान्दारीपूर्वक लेखिएका वित्तचित्रमय कविताझैं लाग्छन् ।

जसरी फ्रान्सिस फोर्ड कोपलाको ‘द गडफादर’मा सुन्तलाको बिम्बलाई कसैको हुन लागेको मृत्युसँग जोडिएको छ, त्यसरी नै यो फिल्मका धेरैजसो दृश्यहरूमा सुन्तलालाई बिम्बको रुपमा प्रयोग गरिएको छ । तर यहाँ सुन्तला मृत्युको बिम्ब नभइ, प्रेमका चरण र स्तिथिहरूको प्रतीकको रुपमा उभिएको छ– कोरिडरमा सुन्तालाहरू गुडिरहेको दृश्यले जोनाकीको किशोरावस्था र उनमा हुर्किरहेको प्रेमलाई दर्शाउँछ भने उनको प्रेमी(जिम सर्भा)ले उनलाई सुन्ताला छोडाएर खुवाइरहेको दृश्य: उनीहरूबीच ओतप्रोत भएको प्रेम र रोमान्सको चित्रण हो ।

त्यसैगरी, उनको प्रेमी छरपष्ट सुन्तलाका बोक्रामा सुतेर सुन्तलाकै बोक्रा खेलाइरहेको एउटा दृश्यले उनीहरूको सम्बन्ध बिस्तारै छुटिँदैछ भन्ने कुरालाई जनाउँछ । जोनाकीको प्रेमीले उनलाई अस्पतालमा भेट्न आउँदा उसले ल्याएको एक झोला सुन्तला भुईंमा खस्नु र त्यसलाई फेरि समेटेर झोलामै राखेको दृश्यले– उसले आफ्नो प्रेमलाई अझै सम्हालिरहेको छ भन्ने कुराको चित्रण गर्छ ।

एक दृश्य : जोनाकी(२०१८)

सुन्तला मात्र होइन, फिल्ममा सिपाहीको आकृति भएको खेलौना, जसले जोनाकीको प्रेमी सैनिकको रुपमा दोस्रो विश्वयुद्धमा सामेल हुन जाँदैछ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ– जसरी एउटा सुन्दर दृश्यमा उनको हातले पोखरीभित्रबाट सिपाहीको सानो मूर्तिलाई बाहिर निकाल्छ, मानौं उनी आफ्नो सडिरहेको स्मृतिबाट आफ्नो प्रेमीको सम्झना बाहिर निकाल्दै छिन् । यसबाहेक फिल्ममा आगो, भत्किएका भित्ताजस्ता बिम्बले कष्ट र गुमाउनुको पीडालाई प्रतिबिम्बित गरेका छन् ।

यो फिल्मको सुन्दर पक्ष भनेकै यसको सिनेम्याटोग्राफी र पटकथा हो । यादहरूको भिजुअल स्टोरीटेलिङ ज्यादै अराजक, अव्यवस्थित र स्वैरकाल्पनिक छ । यसमा प्रयोगमा गरिएका एब्सर्ड दृश्यहरूले लुई बुनोलका सिनेमाहरूको पनि सम्झना गराउँछ र दर्शकको मनमा छुट्टै उत्सुक्ता बढाउँछ । हुनत, यो सिनेमाको कथा निकै सरल छ, यसमा प्रयोग भएका बिम्ब, एकोहोरा र लामा दृश्य अनि बगिरहेको कथामा समयको खिचातानीले यसलाई गह्रौं बनाउनुका साथै दर्शकको धैर्यलाई पनि चुनौती दिन्छ ।

एक दृश्य: जोनाकी(२०१८)

सेनगुप्ताले आफ्नो पहिलो फिल्म ‘लेबर अफ लभ’मा शाररिक निकटताको बाबजुद कसरी एकअर्काको कोसिसले पति-पत्नीको प्रेमलाई जोगाइरहेको छ भन्ने कुरा देखाएका छन् भने ‘जोनाकी’मा उनले प्रेमको अभावमा जिन्दगी कति कष्टकर र जर्जर हुन्छ भन्ने कुरालाई दर्शाएका छन् । ‘जोनाकी’ हेरिसकेपछि यसले हरेकको मनमा एउटा गहिरो प्रभाव छोड्छ। यो फिल्मले भारतीय सिनेमाको एकनासे संरचनालाई भत्काउँदै आफैलाई एउटा नयाँ पहिचानका साथ छुट्टै खडा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?