+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
५९ बलमा १७ रन आवश्यक
विराटनगर किंग्स 2025
131/2 (10.1)
Shares
खेती–किसान :

काँक्राको बीउले फेरियो सल्यानवासीको जीवन

सन्तोष गौतम सन्तोष गौतम
२०८२ जेठ २४ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानका कृषकहरूले काँक्रो खेतीबाट आर्थिक प्रगति गरेका छन् र बीउ उत्पादनमा संलग्न छन्।
  • कृषकहरूले खेती, सिंचाइ र बजार सुविधाको विकासले गाउँमै रोजगारी र जीवनस्तर सुधार गरेका छन्।
  • गाउँमा कृषि उद्यमशीलता र चक्रीय खेती प्रणालीले माटोको उर्वराशक्ति संरक्षण गर्न सुझाव दिइएको छ।

– पर्वतको जलजला गाउँपालिका–७ सल्यानकी ४० वर्षीया तुलसी परियारलाई पछिल्लो १० वर्षयता घर–व्यवहार चलाउन र छोराछोरी पढाउने खर्च जुटाउन अर्काको घरमा ज्याला–मजदुरी गर्नुपरेको छैन ।

काँक्रो खेती गर्न थालेपछि तुलसीको दैनिकी र आर्थिक अवस्था फेरिएको छ । ‘१० वर्षअघिसम्म परम्परागत धान, मकै, कोदो खेती गर्दा घरखर्च चलाउने पैसा जुटाउन अरूको काम गर्नुपर्ने बाध्यता थियो’ उनले भनिन्, ‘काँक्रोको बीउ उत्पादन गर्न थालेपछि दुई जना छोराछोरीलाई बेनी, पोखरा राखेर उच्च शिक्षा पढाउन तथा घर–व्यवहार चलाउन गाह्रो परेको छैन ।

गत वर्ष प्रतिकिलो १० हजार रुपैयाँका दरले २३ किलोग्राम काँक्राको बीउ बेचेकी तुलसीले यसपालि करीब १२ रोपनीमा काँक्रो खेती गरेकी छिन् । वार्षिक २० हजार रुपैयाँ तिरेर भाडामा लिएको जग्गामा काँक्रो लगाउनुअघि हिउँदमा बीउका लागि आलु खेती गरेकी थिइन् ।

– २० रोपनी बढी जग्गामा काँक्रो खेती गरेका सल्यानका शिला र अर्जुन पौडेल दम्पतीले गत वर्ष ५० किलो काँक्राको बीउ बिक्री गरे । १० वर्षदेखि काँक्रो खेती गरेर बीउ उत्पादन गर्दै आएका उनीहरूले हालै ४० लाख रुपैयाँ खर्चेर सल्यानमा पक्की घर बनाएका छन् ।

किसान बिलम शर्मा।

‘काँक्रो खेती गरेपछि घर–व्यवहार चलाउने पैसाका लागि श्रीमान् विदेश जानु परेको छैन’ शिलाले भनिन्, ‘राम्रो फल्दा १०० किलोसम्म बीउ बेचेका छौं ।’ काँक्रोसँगै आलु, मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका पौडेल दम्पती कृषि उद्यमबाट सन्तुष्ट छन् ।

– गत वर्ष ४७ किलो काँक्राको बीउ बेचेका सल्यानका हरिप्रसाद आचार्यले यसपालि क्षेत्रफल बढाएर काँक्रो लगाएका छन् । ‘बजारको समस्या नभएको र हातहातै पैसा आउने काँक्रो खेती गर्न सजिलो पनि छ’ आचार्यले भने, ‘परार सालसम्म प्रतिकिलो ६ हजार ५०० मूल्य रहेको काँक्राको बीउको मूल्य गत साल प्रतिकिलो १० हजार रुपैयाँ भएको थियो ।’

मूल्य बढ्न थालेपछि ताजा तरकारीको विकल्पमा बीउका लागि काँक्रो खेतीको क्षेत्रफल बढाएको आचार्यले बताए ।

करिब ८५ जना कृषक व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादनमा संलग्न छन् । गण्डकी प्रदेशको बीउ–बिजन गुणस्तर केन्द्रको निगरानीमा बीउ उत्पादन र गुणस्तर परीक्षण गरी बजारमा पठाउने गरिन्छ ।

– गाउँमै आम्दानी भइरहेकाले विदेशिने सोच नपलाएको बताउँछन् सल्यानका ३३ वर्षीय तिलक रिजाल । ‘खाडी मुलुक र भारतको तुलनामा यहीं खेती गरेर मनग्य कमाउन सकिन्छ’ उनले भने, ‘सडक, सिंचाइ र बजारको सुविधा छ । गाउँका अरू युवाहरू पनि विदेश नगई खेतीमा लाग्नुभएको छ । विदेशमा दुःख पाएर फर्किएकाहरू तरकारी खेतीबाट सफल भएका छन् ।’

तुलसी, शिला, अर्जुन, हरिप्रसाद, तिलक जस्तै सल्यान गाउँका सबैले बीउ उत्पादनका लागि पछिल्लो दुई दशकयता ‘भक्तपुर लोकल’ जातको काँक्रो खेती गर्दै आएका छन् । ३० वर्षअघि कृषि अनुसन्धान केन्द्र लुम्लेले सल्यान फाँटमा रहेको भीमलाल शर्माको खेतमा बीउका लागि काँक्राको परीक्षण खेती गरेको थियो ।

यहाँको काँक्राको बीउ गुणस्तरीय र स्वस्थ हुने परीक्षणबाट पुष्टि भएपछि अहिले सल्यानको फाँटैभरि काँक्रोखेती गरिएको छ । काँक्रोबाट गाउँको आर्थिक प्रगति भएको छ । करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको सल्यानको फाँटमा अहिले सबैले काँक्रो खेती गरेका छन् ।

वार्षिक ३ करोडको काँक्राको बीउ बिक्री

अगुवा कृषक एकनारायण पौडेलले गत वर्ष सल्यानबाट ३ करोड मूल्य बराबरको तीन मेट्रिक टन काँक्राको बीउ बिक्री भएको जानकारी दिए । ‘गत वर्ष मूल्य बढेकाले यसपालि कृषकले बीउ उत्पादनका लागि काँक्रो खेतीको क्षेत्रफल बढाएका छन्’ उनले भने, ‘मौसमले साथ दियो भने आठ क्विन्टल बीउ उत्पादन हुने अनुमान छ ।’
करिब ८५ जना कृषक व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादनमा संलग्न छन् ।

सल्यानमा करिब १५० घरपरिवारको बसोबास छ । गण्डकी प्रदेशको बीउ बिजन गुणस्तर केन्द्रको निगरानीमा बीउ उत्पादन र गुणस्तर परीक्षण गरेर बजारमा पठाउने गरिएको अगुवा कृषक पौडेलले बताए ।

जेठमा हुने आकाशे वर्षा काँक्राको बीउका लागि प्रतिकूल मानिन्छ । चर्को घामको तापले काँक्रो पाक्न र बीउ निकाल्न सजिलो हुन्छ । जेठ महिनाको सुरुवातसँगै दैनिकजसो भएको वर्षाले यसपालि काँक्राको बीउ उत्पादन प्रभावित बनाउने कृषकहरूको चिन्ता छ ।

काँक्राको बीउ सुकाउँदै किसान ।

फागुनमा काँक्रोको बिरुवा रोपेका कृषकहरू हिजोआज बीउ निकाल्न व्यस्त छन् । खेतका गह्रा पाकेर पहेंलै भएका काँक्राले भरिएका छन् । जेठको दोस्रो हप्तादेखि अन्तिमसम्म काँक्राको बीउ निकाल्ने गरिन्छ ।

पाकेका काँक्रालाई दुई चिरा पारेर हातको औँलाले अमिलो रस सहितको बियालाई भाँडामा खसालिन्छ । टिपेको एक दिनपछि निकालेको बियालाई २४ घन्टासम्म बोरामा बन्द गरेर राखिन्छ । त्यसपछि सफा पानीले धोएर चर्को घाममा सुकाएपछि बीउ तयार हुन्छ । बीउको गुणस्तर कायम राख्न सुरक्षित रूपमा भण्डारण गरेर राख्नुपर्छ ।

काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठाउँका एग्रोभेट पसल तथा कम्पनीहरूले सल्यानको काँक्राको बीउ खरिद गरेर देशभरका कृषकहरूलाई बिक्री गर्छन् । बीउ उत्पादनका लागि मूल बीउ खेती गरिन्छ ।

एकनारायण पौडेल, कृष्ण पौडेल (इन्द्र), टुङ्गनाथ शर्मा, रेशमलाल शर्माले काँक्राका बीउको बजारीकरण गर्छन् । सल्यानमा उत्पादन भएको बीउ एग्रोभेटहरूले खेती गर्नका लागि कृषकहरूलाई बिक्री गर्छन् ।

जीवनस्तर परिवर्तन

सल्यानका बासिन्दा र बीउ उत्पादन कृषक समेत रहेका जलजला गाउँपालिका–७ का वडाअध्यक्ष टुङ्गनाथ आचार्य खरिदार, सुब्बा सरहका कर्मचारीको तुलनामा सल्यानका बीउ उत्पादक कृषकको जीवनस्तर राम्रो रहेको बताउँछन् ।

‘काँक्रो, आलु र अन्य तरकारी खेतीले सल्यानका बासिन्दालाई घरखर्च चलाउनकै लागि मासिक ३०÷४० हजार कमाउन साउदी–कतार जान परेको छैन’ उनले भने, ‘खरिदार, सुब्बा तहको सरकारी जागिरे भन्दा यहाँका कृषकको जीवन सहज छ ।’

गाउँघरमा पाइने स्थानीय र भक्तपुरे लोकल जातको काँक्रोको स्वादमा त्यति धेरै भिन्नता हुँदैन । रसिलो, स्थानीय जातको जस्तै स्वाद र चाम्रोपना भक्तपुरे काँक्रोको विशेषता भएको आचार्यले बताए ।

बाँदरको गोठालो बस्दै ।

काँक्रो, आलुको बीउ र तरकारीबाट सल्यानमा वार्षिक पाँच करोड बढीको कारोबार हुने वडाअध्यक्ष आचार्य बताउँछन् । काँक्रो बाहेक सल्यानका कृषकले आलुको बीउ पनि उत्पादन गर्छन् । यस वर्ष यहाँबाट ८४३ बोरा आलुको बीउ उत्पादन भएको छ ।

व्यावसायिक खेती मार्फत गाउँमै रोजगारी सिर्जना भएको छ । आफ्नो जग्गा हुनेले आफ्नै र नहुनेले विदेश, काठमाडौं, पोखरामा बस्नेहरूको जग्गा भाडामा लिएर व्यावसायिक खेती गरेका छन् ।

दलित समुदायका सात जनाले जग्गा किनेरै काँक्रो खेती गरेका छन् । सल्यान फाँटमा पहिला दलित समुदायका तीन परिवारको जग्गा भएकोमा हालै ३ परिवारले किनेका वडाध्यक्ष शर्माले बताए । व्यावसायिक कृषि उद्यमबाट भएको आम्दानीबाट सल्यानवासीले सन्तानलाई राम्रो कलेजमा पढाएका छन् ।

पछिल्लो १०-१२ वर्षको अवधिमा सल्यान सहित जलजला गाउँपालिका–७ बाट सरकारी सेवामा १२ जना अधिकृत भएका छन् । निजामती सेवाको खरिदार, सुब्बा र सामुदायिक विद्यालयको शिक्षक, सेना, प्रहरीमा प्रतिस्पर्धा गरेर जागिर खानेहरूको संख्या पनि बढेको छ ।

आफ्नो जग्गा–जमिन नहुने सल्यानका दलितहरू रोजगारीको खोजीमा बेनी, मिलनचोक र पोखरामा बसाइँसराइ गरेका थिए । गाउँमा भएकाहरू आफैं कृषि उद्यममा जोडिएका छन् । आफंैले उद्यम नगर्नेहरूले कृषि फार्ममा रोजगारी पाएका छन् । गाउँमै आयआर्जनको अवसर सिर्जना भएपछि सल्यानबाट पछिल्लो समय बसाइँसराइ रोकिएको वडाध्यक्ष आचार्यले बताए । कुनै बेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन ।

सिँचाइ सुविधासँगै व्यावसायिक खेतीको सुरुवात

सल्यान गाउँमा कृषि उद्यमशीलताको विकास २०५३ सालमा निर्माण भएको सल्यान सिंचाइ आयोजनाले गरेको हो । सिंचाइ सुविधा हुनुअघि सल्यानका बासिन्दा खेतबारीमा परम्परागत धान, मकै, गहुँ र कोदो खेती गर्थे । खेतीका लागि आकाशे वर्षामा निर्भर थिए । बाह्र्रै महिना सिंचाइ सुविधा भएपछि सल्यानका कृषकहरूले करिब १५ वर्ष तरकारी खेती गरे ।

म्याग्दीको सदरमुकाम बेनी बजार र बाग्लुङमा बन्दा, काउली, गोलभेंडा, आलु, खुर्सानी, साग, मुला, गाँजर, सिमी, भान्टा लगायत मौसमी तथा बेमौसमी तरकारी सल्यानका कृषकले पुर्‍याउँथे । २०६५ सालमा कच्ची सडक पुग्नुअघि सल्यानका कृषक एकाबिहानै डोकामा तरकारी बोकेर बेनी र बाग्लुङ पुग्थे ।

बीउ निकाल्नका लागि काँक्रो टिप्दै ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम मार्फत गत वर्ष मिलनचोकदेखि सल्यान जोड्ने सडक कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको कृषक हरिकृष्ण आचार्यले बताए ।

‘व्यापारीले फोनबाटै तरकारी मगाउँछन्, हामीले गाडीमा पठाउँछौं, खातामा पैसा आउँछ’ उनले भने, ‘पहिले झैं दुःख र झन्झट छैन, तरकारी फलाउन सके बजारको पनि समस्या छैन ।’

भारत र नेपालका अन्य ठाउँबाट आयात हुने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि सल्यानका कृषकहरूले बीउ उत्पादनलाई रोजेका हुन् । सल्यानको साथै जलजला गाउँपालिका–४ खोलाखेतमा पनि काँक्रोको बीउ उत्पादन हुन्छ ।

यहाँको काँक्राको बीउ गुणस्तरीय र स्वस्थ हुने परीक्षणबाट पुष्टि भएपछि अहिले सल्यानको फाँटैभरि काँक्रो खेतीले भरिएको छ । करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको सल्यानको फाँटमा सबैले काँक्रो खेती गरेका छन् ।

जलजला गाउँपालिका र कृषि ज्ञान केन्द्रले धाइरिङका कृषकलाई प्राविधिक सहयोग गर्दै आएका छन् । जलजला गाउँपालिका–७ मा पर्ने सल्यानको साथै अन्य बस्तीहरूमा सिंचाइ सुविधा विस्तार गरिएको छ ।

बाँसबोटमा पुर्जाखोला, भेडाबारी र बुढीकुलो सिंचाइ आयोजना निर्माण सकिएको छ । गुन्टेखेत सिंचाइ योजना निर्माणको अन्तिम चरणमा छ । साविक धाइरिङका सबै क्षेत्रमा सिंचाइ सुविधा पुगेको वडाध्यक्ष आचार्यले बताए ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको बीउ वितरण, कृषकहरूले उत्पादन गरेको आलुको चिस्यान गृहमा भण्डारण र ढुवानीमा ५० प्रतिशत दिने गरिएको बताए । जलजला गाउँपालिकाले सञ्चालन गरेको बीउ आलु प्रवद्र्धन कार्यक्रम मार्फत उत्पादन भएको ५ हजार बोरा बीउ आलु भण्डारणका लागि पोखराको चिस्यानगृहमा लगिएको छ।

गाउँपालिका मार्फत जलजला–८ डमुवाखोलामा १ करोड २७ लाखको लागतमा ४७ मेट्रिक टन क्षमताको चिस्यानगृह निर्माणाधीन छ । पालिकामै चिस्यानगृह बनेपछि गुणस्तरीय बीउ आलु भण्डारण गर्न सहज हुने अध्यक्ष आचार्यले बताए ।

सल्यानको जमिनमा वर्षमा तीन बाली खेती हुन्छ । बर्खामा लगाएको धान भित्र्याउने वित्तिकै आलु लगाउने गर्छन् । आलु खनेपछि लगाएको काँक्राको बीउ निकालेपछि धान खेती हुन्छ । जमिन खाली नहुने र धेरै वर्षसम्म एउटै बाली लगाउँदा माटोको उर्वराशक्तिमा असर परेको छ ।

रासायनिक मल र विषादीको प्रयोगका विषयमा कृषकहरूलाई प्राविधिक ज्ञान र सचेतीकरण गर्नुपर्ने देखिन्छ । जमिनमा उर्वराशक्तिमा ह्रास आउन नदिन चक्रीय खेती प्रणाली अपनाउन कृषि प्राविधिकहरूले सुझाव दिएका छन् ।

कृषकहरू संगठित नहुँदा उत्पादित कृषि उपज व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने समस्या चुनौतीको रूपमा देखिएको छ । काँक्रोबाट बिया निकाल्ने, प्रशोधन र भण्डारण गर्ने औजार, उपकरणको व्यवस्था भएमा थप सहज हुने कृषकहरूको अपेक्षा छ । बाँदरको समस्या पनि अर्को चुनौती रहेको छ । सल्यान फाँटको डिलमुनि रहेको भीरबाट आउने बाँदरबाट बाली जोगाउन सल्यानका कृषक हेरालु बस्ने गरेका छन् ।

लेखक
सन्तोष गौतम

सन्तोष गौतम म्याग्दीमा क्रियाशील पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?