
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारागाउँ कल्चरल सेन्टरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक कला प्रदर्शनी सुरु भयो।
- प्रदर्शनीले प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरी जलवायु परिवर्तन र पर्यावरणीय संकटमाथि ध्यान केन्द्रित गरेको छ।
- १२ जना अन्तर्राष्ट्रिय र नेपाली कलाकारहरूले समकालीन कलाको माध्यमबाट पृथ्वीप्रति सम्बन्ध पुनः परिभाषित गरेका छन्।
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी सुरु गरिएको छ । तारागाउँ कल्चरल सेन्टरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको हो ।
सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् ।
विश्वव्यापी पारिस्थितिको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको लोखान्डवालाले जानकारी दिइन् । उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ ।
प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएका थिए । शरिरमा रातो माटो पोतेर भूमिसँग साक्षतकार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गरेको थियो । प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित रहेको थियो ।
प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराएको छ । प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गरेका छन् ।
स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ ।
उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेको छ ।
उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिने प्रयास गर्नेछ ।
मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गरेको छ ।
त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गरेको छ ।
अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरेका छन् ।
मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ ।
जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसंख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाइएको छ ।
समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्रलाई क्रिस जोर्डनले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् ।
सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरिएको छ ।
साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् ।
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ। तीन महिनासम्म चल्ने प्रदर्शनी अवलोकन गर्न विद्यार्थीका लागि २०० र अन्यका लागि ३०० तोकिएको छ ।
प्रतिक्रिया 4