+

यी ६ व्यवहार देखाउने साथी हुनसक्छन् हानिकारक, कसरी बच्ने ?

२०८२ जेठ  २६ गते १३:०३ २०८२ जेठ २६ गते १३:०३
Shares
यी ६ व्यवहार देखाउने साथी हुनसक्छन् हानिकारक, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हानिकारक साथीको संकेतहरूमा गोप्य कुरा फैलाउने, अत्याधिक रिसाउने र आफूलाई केन्द्रित गर्ने व्यवहार समावेश छन्।
  • सम्बन्ध हानिकारक भएमा, स्पष्ट सीमाहरू तय गर्न, समय निकाल्न र आवश्यक परे मित्रता समाप्त गर्नुपर्छ ।

साथीहरूले जीवनलाई थप अर्थपूर्ण बनाउन मद्दत गर्छन् । उनीहरूले सामाजिक र भावनात्मक समर्थन प्रदान गर्छन्, एक्लोपनको भावनालाई कम गर्छन् र जीवनप्रति उत्साह जगाउने काम गर्छन्।

सामाजिक सम्बन्धहरू कायम राख्नाले आयु लम्ब्याउन र मानसिक तथा शारीरिक स्वास्थ्य समस्याहरू, जस्तै डिप्रेसन र उच्च रक्तचापको जोखिम कम गर्न सक्छ । तर, केही साथीहरू यति सकारात्मक नहुन सक्छन् । केही साथी हानिकारक पनि हुन सक्छन् ।

हानिकारक साथीहरू विभिन्न रूपमा देखा पर्छन्, तर तिनले सामान्यतया मानसिक रूपमा तनाव दिन्छन् र माथि चढ्न प्रोत्साहन गर्नुको साटो तल झार्न तिर लाग्छन् । यस्तोमा हानिकारक साथी कसरी चिन्ने भनेर दुविधा हुन सक्छ ।

हानिकारक साथीले के गर्छन् ?

राम्रो साथीले कहिँलेकाँही नराम्रो दिनमा रुखो जवाफ दिने वा टाढा हुन सक्छन्, तर उनीहरूले अवस्था सामान्य भएपछि माफी पनि माग्छन् ।हानिकारक साथीले भने सधैं एउटै किसिमको व्यवहार देखाउँछन् । आफ्नो गल्तीमा पनि उनीहरूले खासै पश्चाताप देखाउँदैनन् वा साथीलाई नराम्रो लागेको थाहा हुँदा पनि माफी माग्ने वा आफूलाई परिवर्तन गर्ने खुबी राख्दैनन् ।

१.खसालेर बोल्छन्

साथीहरूले एक-अर्कासँग हल्का ठट्टा गर्छन्, कहिँलेकाँही जिस्किँदै होच्याउने पनि गर्छन् । थोरै रमाइलो हाँसीमजाकले मित्रता विषाक्त छ भन्ने अर्थ राख्दैन । तर, जब साथीले नियमित रूपमा अपमान गर्छ र दु:खी बनाउँछ भने त्यो मित्रता हानिकारक हुन सक्छ । चाहे सूक्ष्म अपमानजनक रणनीति प्रयोग गरोस् वा स्पष्ट गाली गरोस्, त्यो मित्रता सम्भवतः स्वस्थ छैन भनेर बुझ्नुपर्छ ।

२.गोप्य कुरा फैलाउँछन्

आफ्नो साथीलाई गोप्यरूपमा केही कुरा भन्नुभयो र उसले त्यो गोप्य कुरा अरुलाई सुनाउँछ र धेरैलाई त्यो कुरा थाहा हुन्छ भने त्यो असल साथी नहुन सक्छ ।
हानिकारक साथीले गोप्य कुराहरू फैलाउन रमाइलो मान्छन् । व्यक्तिगत जानकारी गोप्य राख्न अनुरोध गर्दा पनि उनीहरूले बारम्बार विश्वास तोड्ने गर्छन् र साथीको भावनालाई खासै वास्ता गर्दैनन् ।

३.कपटपूर्ण माफी माग्छन्

जब उनीहरूको व्यवहारमा आपत्ति जनाइन्छ, उनीहरू साथीको पीडालाई बेवास्ता गर्छन् वा हल्का रुपमा माफ गरिदेउ भन्छन् । साथीको दृष्टिकोणलाई विचार गर्न समय लिनुको सट्टा, उनीहरू ‘मलाई माफ गर, तिमीलाई त्यस्तो लाग्यो’ भन्छन् वा माफीपछि रक्षात्मक ‘तर’ थप्छन् । उदाहरणका लागि जस्तो ‘मलाई माफ गर, तिम्रा भावनामा चोट पुर्‍याएँ, तर यो त केवल ठट्टा मात्र थियो ।’

४.नर्भस बनाउँछन्

साथीको अप्रत्याशित प्रतिक्रियाले असहजता र हानि पुर्‍याउन सक्छ । साना कुरामा अत्याधिक रिसाउने र तुरुन्त सामान्य व्यवहार गर्ने व्यक्तिसँग विश्वास र सुरक्षित सम्बन्ध बनाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा सावधानीपूर्वक अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

हानिकारक साथी साना कुराहरूमा, जस्तै उनीहरूको कुरा राम्रोसँग नसुन्नु वा उनीहरूले भनेका समान ल्याउन बिर्सनु जस्ता कुरामा अत्याधिक रिसाउँछन् र चिच्याउँछन् । त्यसपछि, अर्को मिनेटमा केही भएको छैन जस्तो व्यवहार गर्छन् ।

५.अस्थिर बनाउँछन्

नजिकको साथीसँग समय बिताउँदा सामान्यतया राम्रो महसुस हुनुपर्छ । तर कुनै विशेष साथीसँग समय बिताउँदा भने असहज वा दु:खी बनाउँछ । किन यस्तो भएको हो भन्ने राम्रो व्याख्या नहुन सक्छ । तर जब उनीहरूबाट टाढा भइन्छ त्यो समयमा निराशा भन्दा राहत महसुस हुन्छ, र त्यस्ता साथीसँग समय बिताउन उत्सुक भइँदैन । यदि यो अस्थिर भावना महसुस हुन्छ भने मित्रतामा अन्य संकेतहरू जाँच्न विचार गर्नुपर्छ ।

हानिकारक साथीले आफ्ना अन्य साथीहरूभन्दा तपाईं कमजोर भएको कुरा औंल्याउँछन् । जस्तो तिम्रो आर्थिक अवस्था राम्रो छैन, तिम्रो लुगा लगाउने तरिका राम्रो छैन भन्न सक्छन् ।

मानिसहरूका आफ्नै अद्वितीय विशेषताहरू र भिन्नताहरू हुन्छन् र राम्रो मित्रले यो कुरा बुझ्छ । उनीहरूले एउटा साथीलाई अर्कोसँग तुलना गर्दैनन् ।

६.सधैं आफूलाई केन्द्रमा राख्छन्

कुनै साथी अवस्था राम्रो हुँदा वा उनीहरूलाई केही चाहिएका बेला मात्र आउँछन् । समस्यामा हुँदा तिनीहरूलाई सम्पर्क गर्न सकिँदैन । त्यस्ता साथीले आफ्ना हालका समस्याबारे निरन्तर सुनाइरहने सक्छन् । जब उनीहरूले आफ्नो मनका कुरा व्यक्त गरिसक्छन्, तब औपचारिक रूपमा ‘तिमी कस्तो छौ’ सम्म भन्छन्, तर तुरुन्तै कुराकानीलाई आफूतिर फर्काउँछन् ।

सकारात्मक साथीले भने साथीको चिन्ताहरूका लागि सहानुभूति पनि प्रदान गर्छन्, चाहे परिस्थिति राम्रो होस् वा नराम्रो । यस्ता साथीले जस्तो छ त्यस्तै स्वीकार गर्छन् र परिवर्तनका लागि मार्गदर्शन माग्दा समर्थन गर्छन्, साथै सल्लाह माग्न नसकेसम्म पर्खन्छन् ।

हानिकारक साथीले कसरी प्रभाव पार्छन् ?

हानिकारक साथीले हरेक कुरामा उल्लेखनीय प्रभाव पार्न सक्छन् । तर यो सकारात्मक हुँदैन । भावनाहरूलाई वास्ता नगर्ने व्यक्तिहरूसँग समय बिताउँदा अन्ततः भावनात्मक र शारीरिक स्वास्थ्यलाई प्रभावित गर्न सक्छ ।

१. एक्लो र अलग्गिएको महसुस हुन्छ

साथीहरूसँग समय बिताउँदा सम्बन्धको भावना बढ्नुपर्छ । तर, हानिकारक साथीले बेवास्ता गरेको महसुस गराउन सक्छन् । यदि सामूहिक योजनाहरूबाट छुटाइन्छ, सन्देशहरूको जवाफ आउँदैन र मित्रता एकपक्षीय लाग्छ भने, यो सम्बन्ध साँचो मित्रताजस्तो नहुन सक्छ । आफ्नो समय र ऊर्जा त्यस्ता व्यक्तिहरूसँग बाँड्नु उपयुक्त हुन्छ जसले साथीको मूल्य र उपस्थितिको कदर गर्छन् ।

२.तनाव बढ्छ

बलियो मित्रताको एक प्रमुख लाभ तनाव कम हुनु हो । साथीहरूलाई भेट्दा सधैं सतप्रतिशत राम्रो नहुन सक्छ, तर सामान्यतया केही सुधार देख्न सकिन्छ । हानिकारक साथीले तनाव कम गर्न मद्दत गर्नुको सट्टा तनाव थप्न सक्छन् । उनीहरूको साथमा नहुँदा पनि उनीहरूसँगका नकारात्मक अन्तरक्रियाहरूबारे धेरै सोच्न सकिन्छ । जसले तनावग्रस्त, चिडचिडा र पूर्णरूपमा नराम्रो महसुस गराउन सक्छ ।

३.समर्थन प्राप्त भएको महसुस हुँदैन

असल साथीले आवश्यक पर्दा समर्थन प्रदान गर्छन् । मित्रतामा सामान्यतया सहानुभूतिपूर्वक सुन्ने र पीडा वा कठिनाइका लागि मान्यता प्रदान गर्ने कुरा समावेश हुन्छ ।
हानिकारक मित्रतामा कहिल्यै त्यो समर्थन वा करुणा प्राप्त भएको महसुस हुँदैन । साथीका समस्याहरूलाई उनीहरूले बेवास्ता गर्छन् वा मद्दतका अनुरोधहरूको जवाफ नै दिँदैनन् ।

४.आत्मविश्वास र आत्मसम्मानमा चोट पुग्छ

जब कसैले निरन्तर तल झार्छ र नराम्रो व्यवहार गर्छ, यो व्यवहार विस्तारै स्वीकार गर्न थालिन्छ र राम्रोको अपेक्षा गर्न छोडिन्छ । जब त्यस्ता साथीका अपमानजनक कुराहरूलाई विश्वास गर्न थालिन्छ र आफ्ना बल र क्षमताहरूमा शंका गर्न थालिन्छ आत्मसम्मान कम हुन सक्छ ।

५.उनीहरूको व्यवहारका लागि आफैँलाई दोष दिइन्छ

खराब साथीको संगत गर्दा आत्म–शंका उत्पन्न हुन्छ । साथी आफूसँग रिसायो भने मेरै कारणले ऊ रिसाएको होला भनेर आफूलाई गलत ठान्न थालिन्छ । साथीको समर्थन नपाएकोमा आफूलाई दोष दिएर उसलाई भने तुरुन्तै सहयोग गरिन्छ ।

६.असन्तुलित महसुस हुने

विषाक्त व्यवहार गर्ने व्यक्तिहरूले प्रायः आफ्नो कुरामा शंका उत्पन्न गराउन सक्छन् । सही कुरा गर्न नसकेको अनुभव गराउन सक्छन् । एकैछिनमा खुसी हुने, एकै छिनमा रिसाउने जस्ता असंगत व्यवहारले अन्योलता र असन्तुलन सिर्जना गर्छन् ।

यी व्यवहारले आत्मविश्वास घटाउने र जीवनका अन्य क्षेत्रमा चिन्ता वा दु:खी भावना फैलाउने गर्छन् । जसले गर्दा यस्ता साथीसँगको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने अनिश्चितता हुन सक्छ, जसले सधैं सतर्क रहन बाध्य बनाउँछ ।

७.अन्य सम्बन्धहरू प्रभावित हुन्छन्

एउटा हानिकारक मित्रताले बिस्तारै तर स्थिर रूपमा अन्य नजिकका सम्बन्धहरूलाई विषाक्त बनाउन सक्छ । जब आफैँमाथि शंका गर्न थालिन्छ, आफूलाई खराब मित्रको रूपमा देख्न सकिन्छ । यदि आफैंमाथि शंका नगरे पनि, अरूमाथि भरोसा गर्न गाह्रो हुन सक्छ । मलाई सबैले कमजोर, नीरस वा असमर्थनकारी देख्छन् भन्ने लाग्न सक्छ र फलस्वरूप मानिसहरूलाई बेवास्ता गर्न थालिन्छ ।

यसले साँच्चै वास्ता गर्ने व्यक्तिहरूबाट समर्थन खोज्नबाट रोक्छ, जसले थप अलग र एक्लो बनाउँछ ।

के गर्ने ?

आफ्नो मित्रता हानिकारक छ भन्ने कुरा थाहा पाएपछि के गर्ने ? यसका दुई मुख्य विकल्पहरू छन् । पहिले आफ्नो साथीसँग कुरा गर्ने । सम्भव भएसम्म उसलाई उसको व्यवहार कति अप्रिय छ भन्ने थाहा दिनुपर्छ । यदि मित्रतालाई बचाउन चाहनुहुन्छ भने, पहिलो विकल्प छनोट गर्नु राम्रो हुन्छ ।

अर्को विकल्प भनेको मित्रता समाप्त गर्नु हो ।

१.दोस्रो मौका दिन सकिन्छ

सायद उनीहरू सधैं विषाक्त थिएनन् वा उनीहरूको व्यवहारले कसरी प्रभाव पार्छ भन्ने बुझ्दैनन् । त्यस्ता साथीलाई दोस्रो मौका दिन सकिन्छ । यदि व्यक्तिको व्यवहार विषाक्त नभई बुझाइको कमीले भएको हो भने त्यस्ता साथीलाई आफ्नो भावना व्यक्त गर्नुपर्छ र स्पष्ट सीमाहरू तय गर्नुपर्छ । जस्तो ‘तिम्रो टिप्पणीले मलाई दु:खी बनाउँछ, कृपया भविष्यमा यस्तो नगर्नू भन्नुपर्छ ।’

२.तर सधैँ मौका दिनु गलत

यदि मित्रताले कुनै सकारात्मक लाभ दिँदैन र उनीहरूसँगको कुराकानीले कुनै मद्दत गरेको छैन भने, यो समाप्त गर्ने समय हुन सक्छ ।उनीहरूको कार्यले कसरी प्रभाव पार्छ भनेर बताउन सकिन्छ तर उनीहरूलाई परिवर्तन गर्न बाध्य गर्न सकिँदैन । त्यसैले त्यस्तो मित्रतालाई अघि नबढाउनु नै राम्रो हुन्छ ।

यस्ता साथीले अस्थायी रूपमा परिवर्तन गर्ने र राम्रो व्यवहार गर्ने वाचा गर्न सक्छन् । तर फेरि पनि उनीहरूले आफ्नो व्यवहार परिवर्तन गरेनन् भने त्यस्तो मित्रतालाई अघि नबढाउनु नै लाभदायक हुन्छ ।

३.आफ्ना लागि समय निकाल्ने

मित्रताबाट केही समय टाढा रहनुले आफ्ना भावनाहरू र सम्बन्धको महत्व बुझ्न मद्दत गर्छ । यदि टाढा रहँदा राम्रो महसुस हुन्छ भने, यो मित्रता पुनर्विचार गर्ने संकेत हुन सक्छ । उनीहरूलाई भेट्ने चिन्ता नहुँदा राम्रो महसुस हुन्छ भने, यो मित्रता समाप्त गर्ने बलियो कारण हो । स्पष्टता र आत्म–विश्लेषणका लागि यो प्रभावकारी उपाय हो ।

४.सीमाहरू तय गर्ने

यदि मित्रता कायम राख्न चाहने हो भने, सीमाहरू महत्त्वपूर्ण छन् । साना कुरामा चिच्याउने, झुट बोल्ने, गफ फैलाउँने वा बिना स्पष्टीकरण योजनाहरू रद्द गर्ने जस्ता व्यवहारहरू स्वीकार नगर्ने कुरा उनीहरूलाई स्पष्ट रुपमा भन्नुपर्छ । साथीको यी व्यवहारहरूले आफूलाई कसरी प्रभाव पार्छ भनेर भन्नुपर्छ । यस्ता व्यवहार परिवर्तन नभए सम्बन्ध समाप्त गर्नु नै राम्रो हुन्छ ।

५.अगाडि बढ्ने अभ्यास गर्ने

मित्रता समाप्त गर्नुपर्ने थाहा भएपछि, उनीहरूलाई जानकारी दिने । किन सम्बन्ध अगाडि बढाउन नचाहेको भन्ने कुरा कारणसहित उसलाई भेटेर भन्नु उपयुक्त हुन्छ ।
उनीहरूलाई यो कुरा बताएर आफ्ना विचारहरूलाई व्यवस्थित गरी अगाडि बढ्ने अभ्यास गर्नुपर्छ । यसले आत्मविश्वास बढाउन र निर्णयमा अडिग रहन मद्दत गर्छ ।

६.प्रष्ट हुने

साथीसँग सम्बन्ध किन अघि बढाउन नचाहेको भन्ने कुरा स्पष्ट रुपमा राख्ने । मित्रताको स्थितिबारे कुनै अस्पष्टता नराख्ने । यदि उनीहरूले मित्रता समाप्त गर्न नचाहे र सम्पर्क तोड्ने वा दोष दिने प्रयास गरे भने, शान्त तर दृढ भएर आफ्नो निर्णय दोहोर्‍याउनुपर्छ । उसको रिस वा आक्रामक प्रतिक्रियालाई बेवास्ता गर्नुपर्छ ।

७.पुनः सम्पर्क गर्नुअघि सावधानीपूर्वक सोच्ने

यदि हानिकारक साथीसँग सम्पर्क तोड्ने निर्णय लिने हो भने आफ्नो निर्णयमा विस्वास गर्ने र सम्पर्क प्रयासहरूको जवाफ दिनबाट जोगिनुपर्छ । समय बित्दै जाँदा सँगै बिताएका राम्रा पलहरूबारे सोच्न सकिन्छ र उनीहरू परिवर्तन भए कि भनेर सोच्न सकिन्छ । तर, मित्रता किन समाप्त भयो भन्ने सम्झनुपर्छ । यसलाई पुनः सुरु गर्नाले फेरि दु:खी बनाउन सक्छ, त्यसैले पुनः विचार गर्नुअघि केही समय बित्न दिनुपर्छ ।

मानिसहरू परिवर्तन हुन सक्छन् र यदि साथीले साँचो माफीसहित सम्पर्क गर्छ भने, मित्रता पुनः सुरु गर्ने विचार गर्न सकिन्छ ।

८.अरूसँग खुल्ला रहने

विषाक्त मित्रतामा फस्नाले आफूलाई लज्जित, अन्योल वा अरूमाथि अविश्वास महसुस गराउन सक्छ । यदि अन्य साथीहरूबाट आफूलाई टाढा राखिएको छ भने, फेरि जोडिन गाह्रो हुन सक्छ ।

यस्तो अवस्थामा केही राम्रा साथी छन् भने उनीहरूलाई सम्पर्क गर्नुपर्छ र अवस्थाको व्याख्या गर्नुपर्छ । यसले सकारात्मक मित्रताहरूलाई पुनः प्राप्त गर्न मद्दत गर्छ ।

बानी साथी हानिकारक
पदमराज जोशी
लेखक
पदमराज जोशी
मनोविद्

जोशी द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष हुन् । उनले मानसिक स्वास्थ्य तथा मनोविज्ञानमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय