News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो राष्ट्रिय ब्रेन ट्युमर तथ्यांक सार्वजनिक भएको छ, जसले रोगको अवस्था र प्रभाव देखाएको छ।
- राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जनचेतना, उपचार र अनुसन्धानमा काम गरिरहेको छ।
- वीर अस्पताल नेपालको राष्ट्रिय रेफरल केन्द्र हो, जसले विश्वस्तरीय उपचार र प्रविधि प्रयोग गरी ब्रेन ट्युमरको उपचार गरिरहेको छ।
वीरमा अस्पतालमा ब्रेन ट्युमर केन्द्र स्थापना हुँदै गर्दा नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक छिटोभन्दा छिटो सार्वजनिक गर्ने घोषणा गरिएको थियो । दुई वर्ष नबित्दै सो घोषणा लागू भएको छ ।
नेपालमा ब्रेन ट्युमर सम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक हालै सार्वजनिक भएको छ, जसले यो रोगको गम्भीरता र बढ्दो प्रभावलाई उजागर गरेको छ ।
स्वास्थ्य मन्त्रालयको मातहतमा वीर अस्पतालमा दुई वर्षअघि स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभरको न्युरो सेन्टरसँग सहकार्य गरी तथ्यांक संकलन र विश्लेषण गरेको हो ।
यसै सन्दर्भमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष तथा वीर अस्पतालको न्युरो सर्जरी विभागीय प्रमुख प्रा.डा. राजीव झासँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले हालै नेपालको पहिलो ब्रेन ट्युमर तथ्यांक सार्वजनिक गरेको छ, यो उपलब्धि नेपालका लागि कस्तो महत्व राख्छ ?
नेपालको पहिलो ब्रेन ट्युमर तथ्यांक सार्वजनिक गर्नु हाम्रा लागि ऐतिहासिक उपलब्धि हो । दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको मातहतमा वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गर्दा हामीले तीन मुख्य उद्देश्य राखेका थियौं । यसबारे जनचेतना फैलाउने, बिरामीलाई विश्वस्तरीय उपचार प्रदान गर्ने र नेपालमा ब्रेन ट्युमरको अवस्था बुझ्न अनुसन्धान गर्ने ।
हामीसँग ब्रेन ट्युमरको राष्ट्रिय तथ्यांक थिएन । हामी अन्तर्राष्ट्रिय तथ्यांकमा निर्भर थियौं, जुन हाम्रो सन्दर्भमा पूर्ण थिएन । त्यसैले, केन्द्रले अध्ययन हुनुपर्छ भनेर लक्ष्य राख्यो।
हाम्रो केन्द्रले नेपालभरको न्यूरो केस आउने अस्पतालबाट प्राप्त संकलन र विश्लेषणको आधारमा सार्वजनिक भएको नयाँ तथ्यांकले नेपालमा ब्रेन ट्युमरको वास्तविक अवस्था देखाएको छ ।
यसले वार्षिक २४०० देखि २६०० नयाँ बिरामी थपिने र प्रत्येक एक लाख जनसंख्यामा १२ जनालाई यो रोग लाग्ने देखाएको छ । यो हाम्रो पहिलेको अनुमानको तुलनामा झन्डै दोब्बर हो ।
ब्रेन ट्युमर बिरामीको संख्या अपेक्षाभन्दा धेरै हुनुको कारण के पाउनु भयो ?
यो नतिजाले न्युरो टोली नै चकित थियौं । सुरुमा हामीलाई नेपालमा ब्रेन ट्युमरका बिरामी कमै होलान् जस्तो लागेको थियो ।
यो उच्च संख्याको पछाडि धेरै कारण छन्। पहिलो, नेपालमा न्युरोलोजिस्ट र न्युरोसर्जनको संख्या बढेको छ, र उनीहरू दुर्गम क्षेत्रमा पनि पुगेका छन् ।
दोस्रो, सिटी स्क्यान र एमआरआई जस्ता प्रविधिहरू धेरै अस्पतालमा उपलब्ध छन् । तेस्रो, जनचेतनाको वृद्धिले मानिसहरू लक्षण देखिनासाथ अस्पताल पुग्न थालेका छन् ।
विश्वव्यापी रूपमा पनि ब्रेन ट्युमरका केसहरू बढिरहेका छन् । अमेरिका, युरोप र अन्य एसियाली देशहरूमा यस्तै देखिन्छ ।
पहिला यो रोग वृद्धमा देखिन्थ्यो । अन्तर्रराष्ट्रिय क्षेत्रमा पनि वृद्धमा बढी ब्रेन ट्युमर पाइन्छ । तर, नेपालमा भएको अध्ययनले यहाँ युवामा बढी देखियो । विशेष गरी ४० देखि ५० वर्ष उमेर समूहमा बढी देखिएको छ, जुन विश्वव्यापी प्रवृत्ति (वृद्ध उमेरमा बढी) भन्दा फरक छ । हाम्रोमा वृद्धमा नदेखिनुको कारण सायद गरिबी,
जनचेतनाको कमी र ग्रामीण क्षेत्रका वृद्धहरू अस्पताल नपुग्दा यस्तो नतिजा देखिएको हो कि, भन्न सकिन्छ ।
ब्रेन ट्युमर कस्तो खालको समस्या ? यो किन यति गम्भीर छ ?
ब्रेन ट्युमर भनेको मस्तिष्कमा कोषिकाहरूको असामान्य र अनियन्त्रित वृद्धि हो । मस्तिष्कको तौल पुरुषमा करिब १५00 र महिलामा १३00 हुन्छ, तर यसको काममा कुनै फरक हुँदैन ।
यो मस्तिष्कले घेरिएको हुन्छ, जसले यसलाई संरक्षण गर्छ, तर ठाउँ सीमित हुन्छ । जब ट्युमर बढ्छ, यसले स्वस्थ मस्तिष्कको भागलाई दबाउँछ, जसले टाउको दुख्ने (विशेष गरी बिहान), बेहोस हुने, आँखा वा कानको समस्या, प्यारालाइसिस वा हर्मोनल असन्तुलन जस्तै- महिलामा महिनावारी अनियमित हुने, बच्चा नहुने, जस्ता लक्षणहरू निम्त्याउछ ।
रोगको गम्भीरता ट्युमरको स्थान, आकार र प्रकारमा निर्भर हुन्छ । १ सेन्टिमिटरको ट्युमरले कम लक्षण देखाउँछ, तर ४ सेन्टिमिटरको ट्युमरले गम्भीर समस्या ल्याउँछ । धेरै बिरामी ढिलो आउँछन्, जब रोग जटिल भइसकेको हुन्छ ।
जनचेतनाको कमी, आर्थिक अभाव र स्वास्थ्य सेवामा पहुँच नहुनु यसका कारण हुन् । अझै पनि ग्रामीण भेगमा छारे रोग लाग्यो भने धामी झाक्रीलाई देखाउने गरिन्छ । जबकि, यो ट्युमर हुनसक्ने मुख्य लक्षणमा पर्छ । गरिबीले गर्दा समस्या भइहाले पनि अस्पतालसम्म नपुग्ने देखिन्छ ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सन् २०२३ मा स्थापना भएको थियो । यसका उद्देश्य र उपलब्धिहरू के–के हुन् ?
मस्तिष्कबारे जनचेतना फैलाउने, लक्षणहरू चाँडो पहिचान गरेर अस्पताल पुग्न प्रोत्साहन गर्ने, उपचार सर्वसुलभ बनाउने, विश्वस्तरीय उपचार प्रदान गर्ने, सबैको पहुँचमा उपचार पुर्याउने र समस्या न्युनिकरण गर्ने उद्देश्य हो ।
हामी हरेक वर्ष अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसमा प्रभातफेरी, सेमिनार र अन्य कार्यक्रमहरू आयोजना गर्छौं ।
वीर अस्पतालमा नेभिगेसन सिस्टम, इन्ट्रा–अपरेटिभ सीटी, एमआरआई र ट्युमर रिमुभल मेसिन जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउँछ ।
अनुसन्धान र राष्ट्रिय तथ्यांक संकलन गर्ने पनि उद्देश्यमै पर्छ । जुन हालैको तथ्यांक हाम्रो अनुसन्धानको परिणाम हो ।
हामीले वेबसाइटमार्फत जानकारी उपलब्ध गराउँछौं, जहाँ बिरामीले परामर्श लिन सक्छन् । देशभरका न्यूरोसर्जरी केन्द्रहरूसँग समन्वय गरेर बिरामीको रेकर्ड राख्छौं, जसले उपचारको गुणस्तर सुधार र नीति निर्माणमा सहयोग गर्छ ।
यसरी बिरामीको तथ्यांकको लेखाजोखा राख्दा उपचारमा कत्तिको सहज हुँदो रहेछ ?
यी काम सबैले गर्छन् । तर, यो कामको रेकर्ड राखिएन भने कामको औचित्य रहँदैन । यसको उपचार पहिला पनि नभएको होइन, भइरहेको थियो ।
रेकर्ड हुन थालेदेखि कुन उमेरको बिरामीमा कस्तो समस्या छ, उपचार कसरी गर्दा ठिक हुन्छ, उपचार पछिको नतिजा के छ, कुन चाहिँ उपचारमा के पुगेको छैन ? यसले उपचारमा सहज बनाएको छ । यो क्रममा अपुग भएको कुरा, कमी कमजोरी देखाएर सुधार्ने बाटो दिएको छ ।
वीरमा शल्यक्रियाका लागि महिनौं कुर्नुपरेको पनि देखियो । यस्तोमा अहिले यो महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क त्यसमा पनि ४८ घण्टाभित्र गर्ने सक्ने घोषणा गर्नुभएको छ । यो कसरी सम्भव छ ?
यो हाम्रो जनचेतना अभियान र सुलभ उपचारको प्रतिवद्धताको हिस्सा हो । पहिले शल्यक्रियाका लागि एक वर्षसम्म पर्खनुपर्थ्यो । तर हामीले यो अवधि एक हप्तामा झारेका छौं।
यो महिना हामीले सेवा दोब्बर बनाएर साताको ५ दिन १० वटा टेबलबाट शल्यक्रिया गर्नेछौं । अहिले यो सेवा थपिएको छ । यसअघि ४ दिन मात्र ५ वटा टेबलबाट शल्यक्रिया सेवा दिइँदै आएका थियौं । यो महिना हामी ४८ घण्टाभित्र शल्यक्रिया गर्ने लक्ष्यमा छौं ।
यो सजिलो छैन । तर, हाम्रो टोली समर्पित छ । हामीले सबै स्वास्थ्यकर्मी, चिकित्सकहरूलाई अतिरिक्त समय दिन अनुरोध गरेका छौं । यो महिना शल्यक्रिया, बेड चार्ज र खानपान निःशुल्क छ । यो पहलले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई राहत दिन्छ र बेलैमा उपचार खोज्न प्रोत्साहन गर्छ ।
गतवर्ष वीर अस्पतालमा सञ्चालनमा आएको नेशनल ब्रेन ट्युमर सेन्टरले ब्रेन ट्युमरका बिरामीका लागि एकीकृत, छिटो र अत्याधुनिक प्रविधियुक्त उपचार प्रदान गरिरहेको छ ।
यो उपचार गर्दा अन्य समस्याका बिरामीलाई पनि उत्तिकै हामीले समय दिइरहका हुन्छौं ।
वीर अस्पताल नेपालको राष्ट्रिय रेफरल सेन्टर हो । ब्रेन ट्युमर उपचारमा यसको भूमिका कसरी विकसित भएको छ ?
वीर अस्पताल १९६० को दशकदेखि न्यूरोसर्जरीमा अग्रणी छ, जुन डा. गोङ्गोल र डा. उपेन्द्र देवकोटाले सुरु गर्नुभयो । त्यो बेला सेवा सीमित थिए । त्यतिबेला हप्तामा ३–४ शल्यक्रिया हुन्थे । अहिले हामी दैनिक ७–८ शल्यक्रिया गर्छौं ।
यो वृद्धि हाम्रो क्षमता—अधिक अपरेटिंग रुम, उन्नत प्रविधि, र दक्ष टोलीको परिणाम हो ।
देशभरबाट जटिल र ठूला ट्युमरका बिरामीहरू यहाँ रेफर हुन्छन् । स्वास्थ्य बीमाले शल्यक्रियालाई सुलभ बनाएको छ । र, यो महिनाको निःशुल्क सेवा पनि दिएका छौँ ।
विश्वस्तरीय मापदण्डमा हामी पछाडि छैनौं । यदि अन्तर्राष्ट्रिय सफलता दर ९५ प्रतिशत छ भने, हामी ९२–९३ प्रतिशतमा छौं, जुन सरकारी अस्पतालका लागि उल्लेखनीय छ।
यी प्रगतिहरू हुँदाहुँदै पनि सरकारी अस्पताल भनेर त्यति विश्वास गरिदैँन, यसको कारण के हुनसक्छ ?
निजी र सरकारीमा काम गर्ने उस्तै चिकित्सक हुन । काम गर्ने तरिका त्यही हो । सरकारीमा सीमितता छ । यहाँ बिरामीको संख्या थेग्न नसक्ने हुन्छ । जनशक्ति कम छ । वीर अस्पतालमा हरेक बिरामीलाई आवश्यक पर्ने जति आईसीयू बेड छैन । चाहिने जति नर्स दिन सकिएको छैन ।
एमआरआईका लागि ३–४ हप्ता पर्खनुपर्छ, जसले बिरामीलाई निजी अस्पतालतिर धकेल्छ । कतिपय उपचारबाट वञ्चित हुन्छन् । व्यवस्थापनका समस्याहरू-जस्तै तालिका र स्रोत व्यवस्थापन पनि सुधार गर्नुपर्छ । तर, हामी समाधानमा काम गरिरहेका छौं, जस्तै थप अपरेटिङ रुम र टेलिमेडिसिनहरू सुधार गर्ने प्रयास भइरहेका छन् ।
यसमा चुनौतीहरू आउँछन् । तर, धेरै छन्, विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा । धेरै बिरामी गरिबी, शिक्षाको कमी र यातायात अभावले अस्पताल पुग्न सक्दैनन् ।
उनीहरू लक्षणलाई सामान्य ठान्छन्, जसले निदानमा ढिलाइ हुन्छ ।
केन्द्रले आफ्नो पहुँच र प्रभाव कसरी विस्तार गर्ने योजना बनाएको छ ?
हामी नेपालको सबै न्यूरोसर्जरी केन्द्रमात्र नभएर युके, अष्ट्रेलिया, युरोप, र भारत सँग अनुसन्धान र प्रविधि आदानप्रदानका लागि सहकार्य गर्दैछौं । हाम्रो वेबसाइटमार्फत बिरामीले हामीसँग सिधै सम्पर्क गर्न सक्छन्। हामी सबै अस्पताललाई ब्रेन ट्युमरका केसहरू दर्ता गर्न प्रोत्साहन गर्छौं ।
जनचेतना अभियानलाई स्कूल, कलेज र समुदायमा विस्तार गर्ने योजना छ । टेलिमेडिसिन र मोबाइल हेल्थ क्याम्पमार्फत दुर्गम क्षेत्रमा सेवा पुर्याउँछौं । यदि अस्पताल प्रशासनले दुईवटा थप अपरेटिङ रुम दियो भने अबको केही वर्षमा बिरामीले कुनुपर्ने बाध्यता हामीले पूर्णरूपमा हटाउन सकिन्छ ।
प्रतिक्रिया 4