News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिकाको पर्याप्त निद्रा उनीहरूको स्वास्थ्य र उचाइ वृद्धिमा मद्दत गर्दछ, तर एक दिनको निद्राले मात्र प्रभाव पार्दैन।
- निद्राको कमीले हर्मोनल उतारचढाव, रचनात्मकता, एकाग्रता र मुड स्विङमा नकारात्मक प्रभाव पार्छ।
- बालबालिकाको उचाइ १८ वर्षसम्म बढ्छ र यसमा स्वास्थ्य, आहार र व्यायामले पनि भूमिका खेल्छ।
बालबालिकाका लागि पर्याप्त निद्रा अत्यन्तै जरुरी हुन्छ । यसले उनीहरूको रोग प्रतिरोधी क्षमता बढाउँछ र उनीहरूको मानसिक तथा शारीरिक वृद्धिमा पनि सकारात्मक प्रभाव पार्छ । पछिल्लो समयमा धेरै बालबालिकाहरू राति अबेरसम्म मोबाइलमा समय बिताउँछन् ।
यस्तोमा उनीहरू ढिलो सुत्छन्, जसले गर्दा उनीहरूले पर्याप्त निद्रा लिन पाउँदैनन् । यसले गर्दा बालबालिकाहरू कमजोर हुन्छन् र सजिलै बिरामी पर्न सक्छन् । यदि बालबालिकाले पर्याप्त निद्रा लिएनन् भने, यसले उनीहरूको उचाइमा प्रभाव पार्न सक्छ पनि भन्ने गरिन्छ । के साँच्चै यस्तो हुन्छ ? अर्थात्, के निद्राले बालबालिकाको उचाइलाई प्रभावित गर्छ ?
निद्राले उचाइमा प्रभाव पार्छ ?
बालबालिकाको उचाइ पूर्णरूपमा निद्रामा निर्भर हुन्छ, भन्नु गलत हो । यद्यपि, यो कुरामा केही सत्यता छ । जब बालबालिकाले पर्याप्त निद्रा लिन्छन्, तब उनीहरूको स्वास्थ्यमा सुधार हुन्छ र उचाइको वृद्धिमा पनि सहयोग पुग्छ । तर, एक दिनको निद्राले मात्र बालबालिकाको उचाइमा प्रभाव पार्न सक्दैन ।
सामान्य रूपमा निद्राको समयमा वृद्धि हर्मोन ‘ग्रोथ हर्मोन’ निस्कन्छ । यस्तोमा यदि कुनै बालबालिकाले लामो समयसम्म पर्याप्त निद्रा लिएन भने, यसले उनीहरूको उचाइमा प्रभाव पार्न सक्छ ।
बालबालिकामा निद्राको कमी हुँदा हर्मोनल उतारचढाव हुन्छ । किड्स हेल्थमा प्रकाशित एक लेख अनुसार, अध्ययनहरूले यो कुरा स्पष्ट गर्छ, निद्राको कमीले तौल बढ्ने र मधुमेहको जोखिम पनि रहन्छ ।
समग्रमा, जब बालबालिकाले राम्रो निद्रा लिन्छन् र शारीरिक रूपमा सक्रिय रहन्छन्, तब उनीहरूले ऊर्जावान महसुस गर्छन् । उनीहरूको उचाइ वृद्धिमा पनि सकारात्मक प्रभाव पर्छ । निद्राले बालबालिकाको उचाइमा कति प्रभाव पार्छ, यसको कुनै वैज्ञानिक प्रमाण हालसम्म उपलब्ध छैन । त्यसैले, बालबालिकाको उचाइका लागि निद्रालाई मात्र जिम्मेवार ठान्नु भने ठिक होइन ।
निद्राको कमीले बालबालिकाको स्वास्थ्यमा प्रभाव
जब बालबालिकाले पर्याप्त निद्रा लिँदैनन्, तब उनीहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ । विशेष गरी, उनीहरूको निद्रामा नकारात्मक प्रभाव पर्दा उनीहरूलाई कुरा बुझ्न समय लाग्छ र अन्य बालबालिकासँग समन्वय गर्न पनि समस्या हुन्छ ।
रचनात्मकतामा प्रभाव
निद्रा पूरा नहुँदा वा निद्राको कमी हुँदा बालबालिकाले सजिलै कुराहरूसँग जोडिन सक्दैनन् । यसले उनीहरूको रचनात्मकतामा पनि असर गर्छ ।
एकाग्रतामा कमी
निद्राको कमीले एकाग्रतामा पनि नकारात्मक प्रभाव पर्छ । उनीहरू कुनै पनि काममा ध्यान केन्द्रित गर्न सक्दैनन् । यस्तोमा नयाँ कुरा सिक्नु उनीहरूका लागि चुनौतीपूर्ण हुन्छ।
चिडचिडाहटपन र मुड स्विङ
राम्रो निद्रा नलिने बालबालिकाहरू अन्यको तुलनामा बढी चिढचिढा हुन्छन् र उनीहरूलाई बारम्बार मुड स्विङको सामना गर्नुपर्छ । यस्ता बालबालिकामा ऊर्जाको कमी पनि देखिन्छ ।
उचाइ बढाउन कति घण्टा निद्रा आवश्यक छ ?
बालबालिकाको उचाइ कति बढ्छ, यो कुरा वंशाणुगत कारकहरूमा निर्भर गर्छ । तर, निद्राले केही हदसम्म बालबालिकाको उचाइ वृद्धिलाई प्रभावित गर्न सक्छ । त्यसैले एक देखि ३ महिनासम्मका बालबालिकाले दैनिक १४ देखि १८ घण्टा, ३ महिनादेखि ११ महिनाकाले १२ देखि १६ घण्टा सुत्नु आवश्यक छ ।
१ वर्ष देखि २ वर्ष सम्मका ११ देखि १४ घण्टा, ३ देखि ५ वर्षका १० देखि १३ घण्टा, ६ देखि १३ वर्षकाहरुले ९ देखि ११ घण्टा र १४ देखि १७ वर्षकाहरुले ८ देखि १० घण्टा सुत्नुपर्छ ।
बालबालिकाको उचाइ किन रोकिन्छ ?
सामान्यतया बालबालिकाको उचाइ १८ वर्षसम्म बढ्छ । त्यसपछि यो आफैँ रोकिन्छ । यद्यपि, यदि बालबालिकालाई कुनै रोग छ, जस्तै मिर्गौला, मुटु, क्षयरोग, रक्त अल्पता आदि स्वास्थ्य समस्याले विकास प्रक्रियामा अवरोध पुर्याउन सक्छ । साथै हर्मोनल असन्तुलन, कुपोषण र पर्याप्त निद्राको अभावको कारण पनि बच्चाको उचाइ कम हुन सक्छ।
उचाइ वृद्धिका लागि अन्य उपायहरू
सन्तुलित आहारले उचाइ वृद्धिमा सहयोग गर्छ । त्यसैले प्रोटिनयुक्त खाना पनिर, दूध, दही, फलफूल, सागसब्जी तथा भिटामिन ए, बी , सी , डी , ई युक्त खाना खानुपर्छ ।
कुद्ने, तन्कने किसिमको व्यायाम र खेलकुदले हड्डीहरू बढाउन र बलियो बनाउन सक्छ । साथै समयमै सुत्ने र उठ्ने बानीले स्वस्थ जीवनशैलीमा मद्दत पुर्याउँछ र उचाइमा सकारात्मक प्रभाव पार्छ ।
प्रतिक्रिया 4