+
+
Shares

कैलालीमा ग्याङ वार : जेल भित्रैबाट नन्दु सरकार र जयन्द्र समूहबीच भिडन्त

कारागारभित्रै रहँदा पनि नन्दु सरकार समूहबाट कैलालीमा उच्च सुरक्षा थ्रेट जारी रह्यो । कैलाली कारागार भित्रैबाट निर्देशन दिँदै आपराधिक गतिविधि निरन्तर सञ्चालन गरेको भेटियो । फलस्वरूप विष्ट र शाहीमाथि खुकुरी प्रहारसम्म भयो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असार ४ गते २२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेलबाटै नन्दु सरकार समूह र जयन्द्र समूहबीच झडपको शृङ्खला चलिरहेको छ।
  • नन्दु सरकार समूहका दुई जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
  • कैलालीमा गुण्डागर्दीका चार समूह सक्रिय छन्, जसमा नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ छन्।

४ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्‍यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ज्यान मार्ने उद्योगको आरोपमा फरार रहेका उनीहरूलाई पक्राउ गरेर कार्यालय ल्याइँदै थियो । भजनी गाउँपालिका-७ मा आएपछि पिसाब फेर्ने निहुँ बनाएर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको सिंहको दाबी छ ।

प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योगको घटनामा अनुसन्धान गरिरहेको छ । यो घटनामा संलग्न भनिएका तीनजना अझै फरार छन् ।

गत १५ जेठमा उनीहरूले टीकापुर नगरपालिका-१ का मानस भनिने ३१ वर्षीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी र चक्कु प्रहार गरेका थिए । त्यो घटनामा विष्ट बल्लबल्ल बाँचेका थिए ।

क्याफेमा कफी पिइरहेको अवस्थामा विष्टमाथि आक्रमण भयो । आक्रमणबाट गम्भीर घाइते उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको थियो । उनी अहिले डिस्चार्ज भइसकेका छन् ।

त्यो घटनापछि फरार रहँदै आएका उनीहरू करिब १५ दिनपछि पक्राउ परे । हेर्दा एक व्यक्तिले अर्को व्यक्तिमाथि खुकुरी प्रहार गरेको देखिए पनि यो घटना यतिमा मात्रै सीमित छैन ।

अनुसन्धान अधिकृतहरूका अनुसार यसको साइनो जेलसम्म जोडिएको छ । अनि व्यक्ति मात्रै नभई दुई समूहको दुश्मनी, बदला, रवाफ र अस्तित्वसम्म यो घटनामा प्रकट भएको छ ।

प्रहरीका अनुसार खुकुरी खाने व्यक्ति विष्ट जयन्द्र शाह समूहमा निकट छन् । तर तर विष्टको परिवारले भने यो कुरा अस्वीकार गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनको परिवारले कुनै पनि समूहमा रहेर गतिविधिमा संलग्न नरहेको जनाए ।

नन्दु सरकार सरकारले जेलबाटै आतंक मच्चाउँदै घटना घटाएको प्रहरीले बताएको छ ।

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका नन्दु सरकारका दुई सदस्य (रिदम र मिलन)

पछिल्लो समय कैलालीमा जयन्द्र शाह र नन्दु सरकार (नन्दु स्वाइड) समूह बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । ठेक्कापट्टा र चन्दा असुलीबाट उदाएको यो समूह पहिले एउटै थियो । पछि फाटो आएपछि दुई समूहमा विभक्त भएको थियो । त्यसपछि सुरु हुन थालेको दुश्मनी अहिलेसम्म पनि निरन्तर रहेको एक प्रहरी अधिकारी बताउँछन् । त्यसैको पछिल्लो घटना विष्टमाथि खुकुरी प्रहार हो ।

नन्दु सरकार समूहका नाइके नवीन रावल, अशोक रावललगायत कर्तव्य ज्यानको कसुरमा अहिले पुर्पक्षका लागि कारागारमा छन् । कारगारबाटै उनीहरूले अहिले पनि नन्दु सरकार समूह चलाएको एक प्रहरी अधिकृत बताउँछन् ।

कैलालीको गुण्डागर्दीबारे राम्रो जानकारी भएका एक अधिकृतले भने, ‘नन्दु सरकारका नाइके कारागारमै भए पनि यो समूहको दबदबा अहिले पनि कैलालीमा व्याप्त छ । उनीहरूकै निर्देशनमा यो समूहका अरु व्यक्तिले असुलीदेखि आक्रमणसम्म गर्दै आएका छन् ।’

विष्टमाथि खुकुरी प्रहार हुनुभन्दा पहिले यही वैशाखमा नन्दु सरकारकै समूहले जयन्द्र शाह समूहका विशाल आचार्यमाथि पनि आक्रमण गरेको थियो । नन्दु सरकार समूहका सनवीर शाही, विशाल शाहीसहितका व्यक्तिले आक्रमण गरेका थिए ।

यो समूहका अधिकांशजसो जेल गए पनि कैलालीमा नन्दु सरकार समूहको आक्रमण भने नरोकिएको यो घटनाले प्रष्ट पारेको छ ।

यता, जयन्द्र समूहका एक व्यक्ति कपिल श्रेष्ठ पनि अहिले कैलाली कारागारमा छन् भने बाँकी व्यक्ति कारबाही बाहिरै छन् । यति हुँदाहुँदै पनि अहिले कैलालीमा जयन्द्र समूह भने नन्दु सरकारबाट रक्षात्मक देखिएको छ । जयन्द्र समूहकै कारण आफूहरू जेलसम्म पुग्नु परेको भन्दै नन्दु सरकारले निरन्तर जेलभित्रैबाट निर्देशन दिँदै आक्रमण गर्दै आएको प्रहरीको दाबी छ ।

जेलभित्रैबाट ‘ग्याङ वार’ चलाएपछि नन्दु सरकारको सरुवा

नन्दु सरकारका १९ जना कारागार चलान हुँदा पनि बाहिर गुण्डागर्दी र ‘ग्याङ वार’ चल्न रोकिएन । जयन्द्र शाह समूहका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा नन्दु सरकारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जसमा नन्दु सरकारका नाइके नवीन रावल, अशोक रावलसहित १९ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीहरू कैलाली कारागारमै थिए ।

तर, कारागारभित्रै रहँदा पनि यो समूहबाट कैलालीमा उच्च सुरक्षा थ्रेट भने जारी रह्यो । त्यसैको पछिल्लो नतिजा विष्ट र शाहीमाथि खुकुरी प्रहारसम्म भयो । कैलाली कारागार भित्रैबाट निर्देशन दिँदै आपराधिक गतिविधि निरन्तर सञ्चालन गरेको भेटियो ।

कैलालीका व्यापारी, व्यवसायीसँग असुलीदेखि समूहबीच ग्याङ वार नरोकिएपछि नन्दु सरकारका सदस्यहरूको अहिले कारागार सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागले हिजो मंगलबार निर्णय गर्दै पत्र पठाएपछि मंगलबार नै यो समूहका सदस्यलाई विभिन्न तीन कारागारमा सरुवा गरिएको कैलाली कारागारका कारागार प्रशासक वसन्त खत्रीले बताए ।

‘हिजो विभागले निर्णय गर्दै पत्र आएपछि हिजैबाट उहाँहरूको कारागार सरुवा गरिएको हो,’ खत्रीले अनलाइनखबरसँग भने । कैलालीबाट कारागार कार्यालय तुलसीपुर दाङ पठाइएकाहरूमा नन्दु सरकारका महेश रावल, रोशन शाही, रोहित आले, अशोक रावल छन् ।

कैलालीमा अहिले विशेषगरी गुण्डागर्दीका ४ समूह सक्रिय छन् । नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ सक्रिय रहेको प्रहरीले बताएको छ ।

कैलालीबाट बर्दिया कारागार सरुवा हुनेहरूमा सन्तोष भनिने सविनजंग शाही, प्रवीण रिमाल, सोहन शाह, विकास शेरचन, धिरज भनिने दीपेन्द्र शाही छन् ।

दैलेख कारागार सरुवा हुनेमा नवीन रावल, अनुज भनिने चिरञ्जीवीजंग शाही, हिमाल शाही र हेमन्तबहादुर शाही छन् । उनीहरू सबै जना नन्दु सरकार समूहका सदस्य हुन् । सबै जना भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

बडुवाल हत्या प्रकरणमा कारागार चलान भएका नन्दु सरकारकै दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लोकजंग शाही, निशान्त मल्ल, विकास खड्का, विज्ञान शाही, लोकेन्द्र कुँवर भने कैलाली कारागारमै छन् ।

यो समूहका नरेश विष्ट, पारस रिमाल, निलेश साउद, कुवेर खड्का अनुज कुँवर, सूर्य स्वाँर, विवेशजंग शाही, सनिर शाही, अमित रावल, विकास रावल, उमेश शाही, अमितजंग शाही, राजेश शाही, उपेन्द्र विक, निखिल विक, अनुप शाही, राजेन्द्र ओझासहित अहिले कारागार बाहिरै छन् । उनीहरूमार्फत नै नन्दु सरकारले कैलालीमा गुण्डागर्दी गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । यही समूहका रिदम र मिलन भने विष्ट आक्रमण घटनामा पक्राउ परेर अहिले हिरासतमा छन् ।

यता, जयन्द्र शाहले भने आफू अहिले यस्तो कुनै गतिविधिमा नरहेको अनलाइनखबरसँग दाबी गरे । उनले भने, ‘म ठेक्काको काम गरेर बसिरहेको छु । यस्ता कुनै कार्यमा संलग्न छैन,’ उनले भने ।

पहिला एउटै ग्याङका सदस्य, अहिले काटाकाट

अशोक रावल राष्ट्रिय अनुसन्धान विभागबाट राजीनामा दिएर समूह बनाउँदै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हुने ठेक्कापट्टा ढुंगा, गिटी बालुवा उत्खनन्‌मा कमिसन लिने गर्थे । समूह बनाएर उनले व्यवसायीलाई धम्क्याउने, ठेकेदारबाट कमिसन लिन थालेका थिए ।

अर्कोतर्फ, अहिले कट्टर दुश्मनको र”पमा रहेका जयन्द्र शाह र नवीन रावल विगतमा एउटै समूहमा थिए ।

एउटै समूहमा रही टीकापुर, लम्किचुहा नगरपालिका र जानकी गाउँपालिकाको वडा एरियामा हुने ठेक्कापट्टा, ढुंगा, गिटी, बालुवा उत्खनन्‌मा कमिसन लिने गर्थे । सोही क्रममा २०७५ सालतिर नवीन रावल र जयन्द्र शाहबीचमा कमिसनको विषयलाई लिएर विवाद भयो । विवादले उग्र रूप लिएपछि उनीहरू ग्रुप विभाजनमा लागे ।

कैलालीमा ग्याङ वार चलाउँदै आएका जयन्द्र शाह (जयन्द्र समूह) बायाँ र नविन रावल (नन्दु सरकार) दायाँ।

त्यसयता जयन्द्र र नवीन रावलको समूह पानी बाराबरको अवस्थामा छ । एकले अर्को समूहमाथि निरन्तर आक्रमण गर्दै आएको छ । जयन्द्र शाहसँग विवाद भएपछि नवीन रावल अशोक रावलको समूहमा लागे । उनीहरूले टीकापुर, लम्किचुहा नगरपालिका र जानकी गाउँपालिका हुने ठेक्काबाट कमिसन लिन थाले ।

आफ्नो समूहका लडाकु नवीन रावल छुट्टिएर गएपछि जयन्द्र शाहको समूह कमजोर भयो । उनीहरूले दुईले आ-आफ्नो बर्चश्व कायम राख्नका लागि एकले अर्को समूहका व्यक्ति फेला पारेमा कुटपिट गर्न थाले । धम्की दिन थाले ।

नवीन र अशोक मिलेर नयाँ समूह खडा गरेपछि त्यसको नाम नन्दु सरकार (नन्दु स्वाइड) राखी समूह चलाउन थाले । मोटरसाइकलमा समेत नन्दु सरकार स्टिकर टाँस्न थाले । समूहका सदस्यको फेसबुक पेजमा समेत नन्दु स्क्वाइड लेख्ने, ट्याटु हान्ने काम भएको बडुवाल घटना हुँदा कैलाली प्रहरी प्रमुख रहेका एसपी (हाल काठमाडौंका एसएसपी) विश्व अधिकारी बताउँछन् ।

दुई समूहको विवादले उग्र रूप लिएपछि भुपेन्द्र बडुवालको हत्यासम्म भएको थियो । २३ कात्तिक २०७८ मा नवीन रावलको नन्दु सरकार समूहले जयन्द्र शाह समूहमा आबद्ध कपिल श्रेष्ठलाई आक्रमणको तयारी गरेको थियो ।

नन्दु सरकारको समूहबाट मारिएका जयन्द्र समूहका भुपेन्द्र बडुवाल ।

टीकापुर घुम्न गएको बेला आफूलाई नन्दु सरकारले मार्ने योजना बनाएको सुइँको पाएपछि श्रेष्ठले घटनाबारे भुपेन्द्र बडुवाललाई फोनमार्फत जानकारी गराएका थिए । त्यसपछि बडुवाल कपिललाई टीकापुर लैजान भनी आएका थिए ।

सोही बेला नन्दु सरकारको समूहले बडुवाललाई लखेट्दै टीकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिक कौशीदेवी विष्टको आँगनमा फेला पारी खुकुरी र खुँडा प्रहार गरी हत्या गरेको थियो । सोही प्रकरणमा नन्दु सरकारका १९ जना अहिले कारागारमै छन् ।

बडुवालको हत्याको कारण भने १८ भदौ २०७८ मा काठमाडौंको कालिमाटीमा भएको खुकुरी प्रहारको घटनासँग जोडिएको थियो । कालिमाटी तरकारी बजार पछाडिको क्लब गल्लीमा जयन्द्र शाहको समूहले नन्दु सरकार समूहका हिमाल भनिने हेमराज शाहीलाई आक्रमण गरेको थियो ।

त्यसैको बदला कपिलमार्फत लिने योजना बनाएका बेला कपिललाई लिन पुगेपछि बडुवालको हत्या भएको थियो । अहिले पनि कैलालीमा यी दुई समूहबीच एक आपसमा ग्याङ वार हुँदै आएको छ ।

कोब्रा सरकार र इगल समूह पनि देखिए

अहिले गुण्डागर्दीको हिसाबले कैलाली सुरक्षा थ्रेटमा रहेको जानकारहरू बताउँछन् । कैलालीमा अहिले विशेषगरी गुण्डागर्दीका चार समूह सक्रिय छन् । नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ सक्रिय रहेको प्रहरीले बताएको छ ।

कोब्रा समुहका संस्थापक मिथुन भनिने दिपेन्द्र भण्डारी र सन्नी भनिने भीमबहादुर नेपाली हुन् । उनीहरूले टोल छिमेकमा झै-झगडा गरी प्रभुत्व जमाउने दौडमा २०७७ सालदेखि कैलालीको धनगढी क्षेत्रमा सक्रिय हुँदै आएको प्रहरीले बताएको छ ।

भीमबहादुर कारागार गएपछि नन्दु सरकारसँग नजिक भएको र त्यसपछि उनैले कोब्रा सरकार विस्तार गरेको बताइन्छ ।

अधिकांश घटनाहरूमा सामाजिक स्तरमा मेलमिलाप भई जाहेरी नदिने प्रवृत्ति र अभद्र व्यवहारमा थुनिनाले उनीहरू निरुत्साहित हुनुको सट्टा अरु युवाहरूलाई समेत आफ्नो समूहमा समावेश कोब्रा सरकार समूह बनाई गुण्डागर्दीमा संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

कोब्रा समूहले २८ कात्तिक २०७८ मा धनगढी उपमहानरपालिका-५ बस्ने अखिल शाहलाई अपहरण गरेको थियो । अपरहण गरी घाँटीमा खुकुरी राख्दै कपाल समेत काटेर मुखमा पिसाब फेरेको थियो ।

अहिले पनि कोब्रा सरकार र नन्दु सरकारबीच एकता रहेको बताइन्छ । केही अपराध गरेमा धनगढीमा कोब्रा सरकारले नन्दु सरकारलाई लुकाउने, सहयोग गर्ने र टीकापुरतिर भने नन्दु सरकारले कोब्रो सरकारलाई सहयोग गर्दै आएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

त्यसपछि २२ फागुन २०८१ मा कोब्रा समूहका सन्नी, मुस्कान सिंह, विराज नेपाली लगायतको समूहले नेपाल विद्युत प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गरेको थियो । यो घटनामा नन्दु सरकारले समेत कोब्रा सरकारलाई सहयोग गरेको खुलेको थियो । त्यसका लागि नन्दु सरकारका विज्ञान सिंहले सहयोगी भूमिका खेलेको एक अधिकृत बताउँछन् ।

अहिले पनि कोब्रा सरकार र नन्दु सरकारबीच एकता रहेको बताइन्छ । केही अपराध गरेमा धनगढीमा कोब्रा सरकारले नन्दु सरकारलाई लुकाउने, सहयोग गर्ने र टीकापुरतिर भने नन्दु सरकारले कोब्रो सरकारलाई सहयोग गर्दै आएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

अहिले कोब्रा समूहका मिथुन भनिने दिपेन्द्र भण्डारी, मुस्कान सिंह र विराज नेपाली कारागारमा छन् । सन्नी भनिने भीमबहादुर नेपाली, बबिन सिंह, गोपाल भट्ट, अनुप सिंह, किरन महरा, गोविन्द भण्डारी, ललित शाही, सन्तोष भट्टलगायतले कोब्रा समूह चलाइरहेका छन् ।

यो बाहेक अहिले सानो स्वरूपमा कैलालीमा इगल समूहको ग्याङ पनि देखा पर्न थालेको प्रहरीले बताएको छ । यसको प्रभाव ठूलो नरहे पनि सानो आकारमा इगल समूह देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । अहिले नै यो समूहलाई नियन्त्रणमा नलिइएको अवस्थामा भोलिका दिनमा नन्दु र जयन्द्र शाहकै आकार लिनसक्ने एक अधिकारी बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?