+
+
Shares

एमआरपी नराख्ने एयरपोर्ट टी कफीसहित ३ उद्योगलाई साढे ७ लाख जरिबाना

ती ३ कम्पनीले आफ्ना उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १९:४१

१७ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार ३ उद्योग तथा फर्मलाई ७ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार ८ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।

अनुगमन क्रममा ललितपुर महानगरपालिकामा रहेको मनमय इन्टरप्राइजेजलाई २ लाख ८० हजार, काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इजी ट्रेडलाई २ लाख ६० हजार र एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरीलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

ती ३ कम्पनीले आफ्ना उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागको भनाइ छ ।

यस्तै विभागले विमानस्थलकै सोल्टी होटल लिमिटेड र ओरिएन्टल होटल लिमिटेड, सान इन्टरप्राइजेज सर्भिसेस प्रालि र साई किरण इन्टरप्राइजेजलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?